News Portal

  • नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिलाको प्रवेश

    सेनानी सुलोचना पौडेल छनोट

    ७८३ पटक

    काठमाडौँ । नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिलाको प्रवेश भएको छ ।  सेनानी सुलोचना पौडेल शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा सञ्चालन हुने २५औँ शृङ्खलाको एक वर्ष अवधिको उक्त कोर्षका लागि छनोट भएकी हुन् ।

    नेपाली सेनामा महिला चार हजार ६२ रहेकामा महिला सैनिक अधिकृतको संख्या ३७१ रहेको सहायकरथी एवं प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए ।

    सहायक सेनानीमा विसं २०६१ सालमा भर्ना भई हाल कल्याणकारी निर्देशनालयमा कार्यरत सेनानी सुलोचनाले सेनाको उक्त प्रतिष्ठित कोर्ष गर्न पाउने पहिलो महिला भइ सैनिकको क्षेत्रमा नौलो इतिहास रचिने भएको छ ।

    पच्चिसौँ कमाण्ड एण्ड स्टाफ कोर्षका लागि यस वर्ष सात महिलासहित ३०० सैनिक अधिकृतले प्रतिस्पर्धा गरेकामा ४९ जना छनोट भएका थिए ।  दश वर्ष सैनिक सेवा पूरा गरी ३६ वर्ष उमेर ननाघेका सैनिक अधिकृतले उक्त कोर्षका लागि तीन पटक प्रतिस्पर्धा गर्न पाउने प्रावधान छ ।

    त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्रतर्फ स्नातकोत्तर तहको पाठ्यक्रम समावेश रहेको उक्त कोर्ष सैनिक संगठनमा माथिल्लो तहमा पदोन्नति हुन अनिवार्य मानिन्छ । सहसेनानी र सेनानीले उक्त कोर्षका लागि प्रतिस्पर्धा गर्न पाउने सैनिक ऐनमा व्यवस्था छ ।

    एउटै कोर्षमा सुलोचना र परिचित दम्पती 

    सुलोचनालाई उक्त कोर्ष आफ्ना पति सेनानी परिचित देउजासँगै एकैसाथ सहभागी हुने अवसरसमेत जुटेको छ ।  परिचित नेपाली सेनाको ४५औँ समूहमा तथा सुलोचना ४६औँ समूहमा भर्ना भएका अधिकृत हुन ।

    हामी दुवैले निकै मेहनत गरेर परीक्षा दिएकाले सफल भएका हौँ, निकै खुशी लागेको छ, यो कोर्षका लागि निकै ठूलो प्रतिस्पर्धा हुन्छ, यस पटकदेखि महिलाका लागि पनि ढोका खुल्ला भएको छ, सेनानी सुलोचनाले भनिन् ।

    पछिल्लो समय शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज विश्वका शक्तिशाली मुलुकका सेनाका लागि उच्च शिक्षा हासिल गर्ने आकर्षणको केन्द्र बन्न पुगेको छ ।

    उक्त कलेजमा सञ्चालित २५औँ शृङ्खलाको कमाण्ड एण्ड स्टाफ कोर्षमा बंगलादेश, चीन, भारत, लेवनान, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, बेलायत र अमेरिकासहित नौ मुलुकका १० विदेशी सैनिकको सहभागिता रहेको मुख्य शिक्षक महासेनानी गणेशकुमार श्रेष्ठले जानकारी दिए ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक–एकजनासहित उक्त कोर्षमा ६२ प्रशिक्षार्थीको सहभागिता छ । सेनानी सुलोचना एक्ली महिला प्रशिक्षार्थी हुन ।

    कलेजमा नेपालसहित १० देशका सेना 

    सन् १९९२ मा स्थापना भएको उक्त कलेजबाट हालसम्म ६३ विदेशीसहित ९२२ जनाले उक्त अध्ययन पूरा गरिसकेको महासेनानी श्रेष्ठले जानकारी दिए ।

    अमेरिकी, चिनियाँ र भारतीय सैनिक एकैस्थानमा एउटै कोर्षमा रहने आर्मी कमाण्ड एण्ड स्टाफ कलेज आफैँमा एउटा अनुपमस्थल हो । यस कार्यले विश्वमै बेग्लै पहिचान स्थापित गर्न कलेज सफल भएको छ ।

    आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा सन् २०११ देखि विदेशी सैनिकलाई तालीम खुला गरिएकामा पछिल्लो समय उक्त कलेज विदेशी सैनिकको पहिलो रोजाइमा परेको छ ।

    सैनिक रणनीतिका अतिरिक्त नेतृत्व विकास, सैनिक कूटनीति, विपद् व्यवस्थापन, शान्तिसेना परिचालन र मानवाधिकारको पालनाजस्ता विषयमा अनुभवी र विज्ञबाट व्यावहारिक र सैद्धान्तिक शिक्षण एवं तालीम प्रदान गर्दै आएको उक्त कलेजका कमाण्डेन्ट उपरथी प्रह्लाद थापाले जानकारी दिए ।

    शिवपुरी वन्यजन्तु निकुञ्जभित्र रहेको उक्त कलेजले प्रशिक्षार्थीलाई अनुसन्धानका लागि निकै प्रेरित गर्दै आएको छ । उक्त कोर्ष शुभारम्भ गर्दै बलाध्यक्षरथी हेमन्तराज कुँवरले विश्वव्यापी सुरक्षा अवस्था, सुरक्षा चुनौती, नेतृत्व विकास र अनुसन्धानका विषयमा ज्ञान बढाउन कमाण्ड एण्ड स्टाफ कोर्ष निकै फलदायी हुने विश्वास व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    प्रहरी परिसर भक्तपुरकी इन्स्पेक्टर खनाल डिएसपीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)का लागि बढुवा सिफारिस भएका...

    भक्तपुर बहुमुखी क्याम्पसको प्रमुखमा लुइँटेल

    सह प्राध्यापक कविता लुइँटेल भक्तपुर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त भएकी छन् । उनी गणित...

    भैंसीकै महत्वहिन चर्चा, कृषिप्रतिकाे घाेर अपमान

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सधैँ पूर्वाग्रही आँखाले हेरिरहनेप्रति त केही भन्नु छैन । उनले भारत...

    सूर्यविनायकमा पत्रकार बल्ल सम्मानित, सांसद र एआईजी लगायत १४ जनालाई पनि सम्मान

    पत्रकार मोहन बल्ल सम्मानित भएका छन् । आफ्नै वडाले उनलाई सम्मान गरेको छ । सूर्यविनायक...

    प्रधानमन्त्रीको भारत भ्रमण : के के भए सहमति र सम्झौता

    prachanda modi

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज...