काठमाडौँ । उडान भर्ने क्रममा विमान धावनमार्गभन्दा बाहिर चिप्लिएर घाँसे मैदानमा पुगेको मालिन्दो एयरको विमानलाई मैदानबाहिर तानिएको छ ।
नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ उपकरण तथा क्रेन प्रयोग गरेर विमानलाई तानिएको हो । विमान धावनमार्ग सकिएपछि १३० फिट दक्षिण पुगेको थियो ।
त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार विमानलाई तानेर रनवेसम्म पुर्याइएको छ ।
विमानलाई पार्किङस्थलसम्म पुर्याएर उडान सुचारु गरिएको छ ।
विमानस्थल सुचारु भएपछि अन्तर्राष्ट्रिय उडानमा हिजो डाइभर्ट गरिएर नयाँ दिल्ली र कोलकाता पुर्याएका विमानहरुलाई पहिलो प्राथमिकता दिइने प्रवक्ता ठाकुरले बताए ।
बिहिबार राती करिब १० देखि त्रिभुवन विमानस्थलको उडान प्रभावित बनेको थियो । हिजै फ्लाइ दुबई, चाइना साउर्दन एयरलाइन्स, एयर एरेबिया, मलेसियन एयरलाइनस लगायतका विमानहरुलाई कोलकाता र दिल्ली डाइभर्ट गरिएको थियो ।
विभिन्न गन्त्वयमा जान लागेका यात्रुहरु विमानस्थलमा अलपत्र परेका थिए । आन्तरिक उडान भने बिहान देखि नै सुचारु रहेको छ ।