लामो समयदेखि रिक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी योगेश भट्टराईले पाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो भट्टराईलाई नियुक्त गरेका हुन् । भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ ग्रहण समेत गरेका छन् ।
गत फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा परि तत्कालिन मन्त्री रवीन्द्र अधिकारीको ज्यान गएपछि उक्त पद खाली रहेको थियो । बेलाबखत योगेशलाई उक्त मन्त्रालय दिने हल्ला चलेपनि प्रधानमन्त्री ओली आफैंले राखेका थिए ।
विगतमा काठमाडौबाट निर्वाचनमा भाग लिए पनि पराजित बन्दै आएपछि भट्टराई यसपटक गृह जिल्ला ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए । उनकै गृह जिल्ला ताप्लेजुङ पुगेर उनका समकालीन साथी रवीन्द्रले ज्यान गुमाएपछि रिक्त हुन पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको पद योगेशले पाएका छन् ।
रवीन्द्रका बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी पनि अव योगेशकै काँधमा आएको छ । सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका युवा नेता योगेशको मन्त्रालय यात्रासंगै उनीमाथि अवसर र चुनौती दुवै थपिएको छ ।