चितवनको देवघाटमा अन्त्येष्टिका लागि लगिएको जुम्ल्याहा एक शिशु चल्मलाएपछि अस्पताल पुर्याइएको छ । मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई पनि निकालेर परीक्षणका लागि भरतपुर अस्पताल पुर्याइएको छ ।
प्रहरीका अनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले विहीवार चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । दुई शिशुमध्ये एकको मृत्यु भएको र अर्को एक जीवित रहेको अवस्थामा अस्पतालले घर पठाएको भएपनि घर पुगेपछि शुक्रवार अर्को शिशु पनि मृत्यु भयो भनी अन्त्येष्टिका लागि देवघाट लगिएको थियो ।
घटना संकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान थालेको र परिवारका तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताइएको छ । प्रहरीले घटनाको बिस्तृत विवरण सार्वजनिक गरेको छैन ।
जन्मिएका दुईमध्ये ठूलो १ किलो २ सय ग्रामको शिशुको निधन भएको र ८ सय ग्रामको शिशु जीवित रहेको अस्वथामा डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गर्भ रहेको ७ महीनाको समयमा जुम्ल्याहा शिशुको जन्म भएको थियो ।