आफ्नै साथीको हत्या गरि फरार रहेको आरोपमा सिन्धुपाल्चोक प्रहरीले सात जना मानिसहरूलाई पक्राउ गरेको छ । पर्साको पोखरीया-८ घर भै सिन्धुपाल्चोकमा ज्यालामजदूरी गर्दै आएका ३७ वर्षका राजकुमार मुखियाको हत्यामा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पर्सा बिरगंजका प्रेम यादव, भोला माझी साह,राजेश मेस्तर,राजन साह,असोक साह, बहुअरी गाउँपालिकाका विनोद पासवान र रुपन्देही तिलोत्तमाका सन्तोष थापामगर रहेका सिन्धुपाल्चोकका प्रहरी प्रमुख रहेका एसपी प्रज्वल महर्जनले भक्तपुर पोस्टलाई बताए ।
मुख्य अभियुक्त प्रेम यादव लाई पर्सा प्रहरीको सहयोगमा बिरगंज बाट पक्राउ गरि ल्याइएको तथा अन्यलाई मेलम्ची -१३ फटकशिलामा लुकेर बसेको अवस्थामा इप्रका मेलम्चीका इन्स्पेक्टर फल बहादुर तामाङको टोलीले फेला पारी पक्राउ गरिएको एसपी महर्जनको भनाइ छ ।
पक्राउ परेकाहरु उपर संगै काम गर्ने साथी ३७ वर्षका मुखियालाइ रक्सी सेवनपछी कुटपिट गरि ज्यान लिएको अभियोग लागेको छ । उनीहरुले गत पुस ७ मा कुटपिट गर्दा मुखियाको ज्यान गएको थियो ।
प्रहरीले अभियुक्तहरु उपर सिन्धुपाल्चोक जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य अघि बढाएको बताएको छ ।