News Portal

  • द्वन्द्वका क्रममा मारिएकामध्ये पाँच हजारको मात्रै जिम्मा म लिन्छु: प्रचण्ड

    भक्तपुरपोष्ट संवाददाता१ माघ
    ९६० पटक
    १ माघ

    सत्ताधारी नेकपाका एकजना अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले विगतमा उनको नेतृत्वमा माओवादीले गरेको सशस्त्र द्वन्द्वताका मारिएकामध्ये पाँच हजारको मात्र जिम्मा आफूले लिने बताएका छन्। बाँकी १२ हजारको जिम्मा तत्कालीन राजा र राज्यपक्षले लिनुपर्ने उनले बताए।

    साथै उनले साढे चार वर्षअघि कैलालीमा भएको टिकापुर हत्याकाण्डमा दोषी ठहर रेशम चौधरीलाई छुटाइने घोषणा गरेका छन्।

    ‘अन्याय भयो
    काठमाण्डूको टुँडिखेल बुधवार थारु समुदायको माघी महोत्सवलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले द्वन्द्वकालमा भएका घटनाको सोलोडोलो जिम्मा आफ्नो काँधमा हालिदिने प्रवृत्तितर्फ सङ्केत गर्दै त्यो गलत भएको बताए।दश वर्ष चलेको द्वन्द्वका बेला मारिएका १७ हजार मानिसबारे उनको जिम्मेवारीबारे वक्ताले प्रश्न उठाएपछि प्रचण्डले जवाफमा त्यसो भनेका थिए।

    प्रचण्डको भनाइ थियो: “मैले १७ हजार मानिस मारेर आएको भन्ने तथ्याङ्क भनिन्छ। यो सत्य होइन। सत्य के हो भने हिजोको राज्यले १२ हजार मारेको हो। तर पाँच हजारको जिम्मा मलाई दिनुहुन्छ भने म जिम्मा लिन्छु। राज्यले मारेका पनि मेरै टाउकोमा हालियो भने यो न्याय हुँदैन।” द्वन्द्वको राम्रा र नराम्रा कामको जिम्मा लिन तयार भए पनि नगरेको कामको जिम्मा नलिने उनले बताएका छन्।

    उक्त महोत्सवलाई सम्बोधन गर्दै उनले झन्डै साढे चार वर्षअघि पश्चिम नेपालको कैलालीमा भएको टीकापुर हत्याकाण्डमा जिल्ला अदालतबाट दोषी ठहर गरिएका रेशम चौधरीलाई छुटाइने बचन दिएका छन्।

    आफूले चौधरीलाई प्रधानमन्त्रीकै हैसियतमा भारतमा भेटेको र पछि पनि डिल्लीबजार जेलमा भेट्न गएको प्रसङ्ग पनि उठाए।

    ‘रेशम चौधरीलाई पनि छुटाइन्छ’
    टीकापुरमा नौ जनाको हत्या भएको घटनामा सांसद चुनिएका रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो।

    “पहिलोपटक प्रधानमन्त्रीका हैसियतले आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा रेशम चौधरीलाई भारतको राजधानी दिल्लीमा भेटेर तपाईँको कुरा के के हो राख्नुहोस् भन्ने व्यक्ति मै हुँ। सभामुख र सरकारलाई अनि पार्टीलाई भनेर कम्तीमा पनि रेशमलाई शपथ ग्रहण गराउनुपर्छ र उसलाई माननीयको दर्जा दिनुपर्छ भनेर निर्णय गराउन मुख्य भूमिका खेल्ने मानिस मै हुँ भन्ने कुरा पनि तपाईँहरू नबिर्सिनुहोला,” उनले भने।

    “केही साथीहरू छुटेका छन्। रेशमलगायतका साथीहरू छुट्न बाँकी छ। केही समयभित्र छुटाइन्छ। यसको परिणाम निस्कन्छ हेर्नुहोला।”

    थरूहटको आन्दोलन चर्किँदा विक्रम सम्बत् २०७२ सालको भदौ महिनामा भएको विरोधप्रदर्शन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिदिएको थियो।

    सो घटनामा एक बालकको पनि ज्यान गएको थियो। घटनापछि फरार रहेका रेशम चौधरी विसं २०७४ मंसिरमा भएको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार भएर कैलालीबाट सांसद निर्वाचित भएका थिए।

    कारागारबाटै गएर उनले एक वर्षअघि सांसद पदको शपथग्रहण पनि गरेका थिए। चौधरीलाई शपथ गराउन र माननीयको दर्जा दिलाउन पनि आफ्नो भूमिका रहेको दाबी प्रचण्डले उक्त सम्बोधनका क्रममा गरे।

    हाल चौधरी निलम्बित सांसदको हैसियतमा कारागारमै छन्। उनको रिहाइका लागि लगातार राष्ट्रिय जनता पार्टीले माग गर्दै आएको छ।

    विविसी नेपालीबाट

    प्रतिकृया दिनुहोस्

    स्पा सेन्टरका संचालक पौडेल पक्राउ

    रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका...

    भक्तपुर नगरपालिकाले सम्पूर्ण लागत आफै व्यहोर्ने गरी बनाउँदैछ थन्थु दरवार

    पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाड्डको नेत्रित्वामा आएको एक टोलीले भक्तपुर नगरपालिकाको पुरानो नगरपालिका भवन रहेको...

    भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प

    भक्तपुरमै केन्द्रबिन्दु गरी भूकम्प गएको छ । भक्तपुरको पलाँसे आसपास केन्द्रबिन्दु भएर मंगलवार राति करिब...

    गीत संगीतले संदेश दिन सक्नुपर्छ : सुनिल प्रजापति

    sunil prajapati bhaktapur

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गीत संगीतले समाजलाई संदेश दिन सक्नुपर्ने प्रष्ट पारेका छन् ।...

    अन्नको सम्मान गर्ने पर्व ‘सकिमना पुन्ही’ सम्पन्न

    sakimana punhi

    अन्नको सम्मान गर्ने पर्वको रुपमा सकिमना पुन्ही सम्पन्न भएको छ । विशेषगरी नेवा समुदायले मनाउने...