News Portal

  • चीनमा देखिएको भाइरसदेखि ‘नेपाल समेत चनाखो हुन जरुरी’

    भक्तपुरपोष्ट संवाददाता३ माघ २०७६
    १०१३ पटक
    ३ माघ २०७६

    पहिलो पटक देखिएको एक प्रकारको भाइरसका कारण चीनको वुहान शहरमा दोस्रो व्यक्तिको मृत्यु भएपछि नेपालमा पनि त्यसबारे चिन्ता व्यक्त गर्न थालिएको छ। वुहानबाटै फर्किएका एक नेपाली विद्यार्थीलाई भर्ना गरी पाँच दिनदेखि चिकित्सकहरूको निगरानीमा राखिएको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले  बताए।

    “ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएका उनलाई ज्यानुअरी १३ देखि भर्ना गरिएको हो,” पुनले थपे। पछिल्लो समय नेपाल आउने चिनियाँ पर्यटक र चीन जाने नेपालीको सङ्ख्या बढिरहेको पृष्ठभूमिमा बेलैमा सजग हुन आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ।

    चन्द्रमान पात्रो अनुसारको नयाँ वर्ष मनाउनका लागि आउँदा हप्ताहरूमा चीन र अरू एशियाली मुलुकमा लाखौँ मानिसको चहलपहल हुने भएकोले यो भाइरस फैलिन सक्ने डर छ। वुहानको भ्रमण गरी स्वदेश फर्किएका आफ्ना केही नागरिकमा सो भाइरसको सङ्क्रमण देखिएको थाइल्यान्ड र जापानले बताएका छन्।

    चिनियाँ अधिकारीहरूका अनुसार नयाँ प्रकारको कोरोनाभाइरसका कारण पछिल्लो पटक मृत्यु हुनेमा गत महिनाको अन्त्यतिर बिरामी परेका एक ६९ वर्षीय वृद्ध रहेका छन्। चिकित्सकहरूका टोलीले सो भाइरसबारे बुझ्ने प्रयासलाई तीव्र पारेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

    ‘सीफूड’ विक्री हुने एउटा बजारमा पहिलो पटक नयाँ भाइरस देखिएको ठानिएको छ।

    के भन्छन् स्वास्थ्य विज्ञ?

    जनस्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा वैज्ञानिक डा. समीरमणि दीक्षितका अनुसार नेपालमा अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नभए पनि यसलाई निगरानीमा राख्न जरुरी छ। उनले भने, “हामी जहिले पनि तयारीमा कमजोर देखिन्छौँ। चीन नजिकै छ। हामीकहाँ चिनियाँ पर्यटक आउने हुनाले यो महत्त्वपूर्ण छ।”

    “चीनबाट आउने सबै पर्यटकलाई विमानस्थलमै ज्वरोका लक्षण हेर्नका लागि निगरानी बढाउनुपर्छ। भारतको तुलनामा निगरानी सजिलो पनि छ। मुख्यतः विमानस्थलबाट नै हो,” दीक्षितले थपे। त्यसैगरी यसको उपचारमा चाहिने औषधि पर्याप्त मात्रामा उपलब्ध हुने व्यवस्था गर्नुजस्ता प्रारम्भिक तयारी जरुरी रहेको उनको सुझाव छ।

    नयाँ प्रकारको कोरोनाभाइरसको हकमा मात्रै नभई अन्य खतरनाक भाइरसको हकमा पनि उत्तिकै चनाखो हुनुपर्नेमा डा. पुनको पनि जोड छ।”हामीकहाँ अन्य प्राणघातक भाइरसलाई पनि लिएर पर्याप्त सावधानी अपनाइएको देखिँदैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउन र त्यहाँ बस्ने स्वास्थ्यकर्मीलाई अझ तालिम दिन आवश्यक छ,” उनले भने।

    स्वास्थ्य मन्त्रालयका एक अधिकारीले चाहिँ चीनमा नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि आवश्यक सावधानी अपनाइएको बताए। मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, “विश्व स्वास्थ्य सङ्गठनले ‘कन्ट्री अलर्ट’ जारी नगरे पनि हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई चीनबाट आउने पर्यटकमा स्वास्थ्य समस्या देखिएमा त्यसलाई हेर्न भनिसकेका छन्।”

    आवश्यकता अनुसार थप कदम चाल्नेतर्फ पनि आफूहरूले विचार गरिरहेको श्रेष्ठले बताए।

    के हो कोरोनाभाइरस?

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो।

    नयाँ प्रकारको कोरोनाभाइरस यसअघि मानवमा पहिचान गरिएको थिएन।कोरोनाभाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो। पहिचान भएका थुप्रै प्रकारका कोरोनाभाइरस जनावरहरूमा देखिए पनि मानिसहरूलाई तिनले सङ्क्रमित बनाएका छैनन्।
    लक्षण के हुन्?

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन्।

    ज्वरो आउनु र खोकी लाग्नु

    छिटोछिटो सास फेर्नु

    श्वासप्रश्वासमा कठिनाइ हुनु

    गम्भीर भएमा निमोनिया हुनु

    सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु

    मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ

    कसरी जोगिन सकिन्छ?

    यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छः

    नियमित रूपमा हात सफा गर्ने

    खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने

    मासु र अण्डा राम्रोसँग पकाएर खाने

    कोरोनाभाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने

    विविसी नेपालीबाट

    प्रतिकृया दिनुहोस्

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...

    सिडिओ छोडेर भक्तपुरको प्रमुख प्रशासकीय अधिकृतमा भट्टराई

    निजामती सेवाका उपसचिव बसन्त भट्टराई सिडिओ छोडेर स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन्...

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार...