News Portal

  • सीसीटीभी हेरेर छ महिनामा छ हजारभन्दा बढीलाई कारबाही

    भक्तपुरपोष्ट संवाददाता५ माघ २०७६
    ७७४ पटक
    ५ माघ २०७६

    पछिल्लो दुई महिनामा काठमाण्डूमा दुईवटा समान प्रकृतिका सवारी दुर्घटना भए। काठमाण्डूको नयाँबानेश्वरमा सवारीको ठक्करबाट सिभिल अस्पतालका एक डाक्टरको मृत्यु भयो। गुर्जुधारामा पनि गाडीको ठक्करबाट एकजनाले ज्यान गुमाए। दुवै घटना बिहानको समयमा भएका थिए र घटनाका प्रत्यक्षदर्शी थिएनन्। जाडो याममा हुस्सु र तुवाँलोका कारण सडकमा रहेका सीसीटीभी फूटेजबाट सवारी नम्बर पत्ता लाउन सक्ने अवस्था भएन।

    तर घटनाको अनुसन्धानमा जुटेका प्रहरी अधिकारीहरूले फूटेजमा देखिएका सवारीसाधन र दुर्घटनाको समय यकिन गरे। त्यसबाट करिब एक दर्जन सवारीसाधनमाथि अनुसन्धान गरियो र दुवै सवारी तथा त्यसका चालक पक्राउ परे।

    सीसीटीभीको सहारा
    सवारी आवागमनमा भएको वृद्धिसँगै बढेका चुनौतीका कारण पछिल्लो समय सीसीटीभी क्यामेराबाट अनुगमन बढाइएको प्रहरी अधिकारीहरूले बताएका छन्। महानगरीय ट्राफिक महाशाखाका अनुसार काठमाण्डू उपत्यकाका विभिन्न स्थानमा करिब १,७०० सीसीटीभी क्यामेरा जडान गरिएका छन्।

    ट्राफिक प्रहरीको दरबन्दी कम भएको र दुर्घटना तथा सडक नियमको उल्लङ्घन जस्ता विषयमा निगरानी बढाउनका लागि सीसीटीभी निकै प्रभावकारी भएको प्रहरी अधिकारीहरूको भनाइ छ।

    ठूला घटना मात्र नभई स-साना घटनाबारे थाहा पाउन र सवारी चालकलाई जवाफदेही बनाउन सीसीटीभी प्रभावकारी भएको आफूहरूको बुझाइ रहेको महानगरीय ट्राफिक महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल बताउँछन्।

    सङ्ख्या
    सवारीसाधन तथा नियम उल्लङ्घन जस्ता विषय अनुगमन गर्नका लागि काठमाण्डूका सडकमा यति बेला ट्राफिक प्रहरी भन्दा सीसीटीभी क्यामेराको सङ्ख्या बढी छ। ढकालका अनुसार हाल मुलुकमा दुई हजार ६२१ ट्राफिक प्रहरीको दरबन्दी छ। त्यसमा करिब १४ सय ट्राफिक प्रहरी काठमाण्डू उपत्यकामा परिचालन गरिएका छन्।

    “सबै ठाउँमा प्रहरी नै उपस्थित भएर जाँच गर्न सम्भव हुने कुरा भएन। यस्तो अवस्थामा सीसीटीभी क्यामेरा निकै प्रभावकारी साबित भएको छ,” ढकालले भने। “दुर्घटनामा मात्र नभई ट्राफिक व्यवस्थापन लगायतका विषयमा समेत हामीले सीसीटीभीको सहायता लिएका छौँ।”

    अनुगमन
    काठमाण्डूका विभिन्न स्थानमा राखिएका यस्ता क्यामेराबाट खिचिएको भिडिओ हेर्नका लागि दुई ठाउँमा कन्ट्रोल रुम बनाइएको छ। महानगरीय प्रहरी आयुक्तको कार्यालय र ट्राफिक मुख्यालयमा सीसीटीभीले खिचेको भिडियो हेर्न सकिने व्यवस्था मिलाइएको छ।

    प्रहरी आयुक्तको कार्यालयमा चारदेखि पाँचजना प्रहरी अधिकारीले सडकको अनुगमन गरिरहेका हुन्छन्। त्यस्तै ट्राफिक मुख्यालयबाट भने १० देखि १५ जनाले अनुगमन गरिरहेका हुन्छन्। “हामीले अझ व्यवस्थित कन्ट्रोल रुम निर्माण गर्नका लागि सरोकारवाला निकायमा योजना पेश गरिसकेका छौँ। अबको दुई-चार महिनामा त्यो बनिसक्छ,” ढकालले भने।

    सरकारले खरिद गरेर राखिएका सीसीटीभीबाहेक समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत टोलटोलमा व्यक्ति वा समुदायले जडान गरेका सीसीटीभीसमेत प्रहरी कन्ट्रोल रुमबाट हेर्न मिल्ने बनाइएको अधिकारीहरू बताउँछन्।

    कारबाही
    चालु आर्थिक वर्षको पहिलो छ महिनामा मात्रै सीसीटीभी फूटेजकै आधारमा करिब छ हजारभन्दा बढीलाई कारबाही गरेको महानगरीय ट्राफिक महाशाखाको तथ्याङ्कले देखाउँछ।

    लेन मिचेको, सडक सङ्केत पालना नगरेको, सडक चिह्न रहेका स्थानमा समेत सवारीसाधन मनपरी फर्काएको, तीव्र गतिमा सवारी कुदाएको, जहाँ पायो त्यही सवारी रोखेर राखेको वा यात्रु चढाएको र झारेको जस्ता घटनादेखि ज्यान नै लिने प्रकृतिका घटनासम्म सीटीटीभी हेरेर कारबाही गरिएको ढकाल बताउँछन्। सीसीटीभीमा देखिएको सवारीको नम्बर हेरेर यातायात विभाग वा कार्यालयबाट सवारीचालकको विवरण लिने र त्यसकै आधारमा कारबाही अघि बढाउने गरेको प्रहरी भनाइ छ।

    “यातायात कार्यालयबाट टेलिफोन नम्बर लिएर मोबाइल वा घरमा फोन गर्दा उनीहरू (सवारी चालक) छक्क पर्छन्,” ढकालले बीबीसी न्यूज नेपालीलाई भने। “कतिपयले त आफूले गल्ती गर्दै नगरेको भन्छन्। महाशाखा बोलाएर भिडिओ देखाएपछि भने उनीहरूले आफ्नो गल्ती स्वीकार्छन् र नियम अनुसार जरिवाना तिर्छन्।”

    ट्राफिक नियम अनुसार न्यूनतम दुई सय रुपैयाँदेखि १० हजारसम्म जरिवाना तिराउने गरिएको प्रहरी अधिकारीहरूको भनाइ छ।

    आशङ्का
    सरकारले सर्वसाधारणको फोन ‘ट्रयाप’ गर्न सकिनेदेखि लिएर सामाजिक सञ्जालमा आफ्नो मत राखेकै भरमा कारबाहीमा पर्न सक्ने खाले कानुनी व्यवस्था ल्याउन खोजेको भनेर आलोचना भइरहेका बेला कतिपयले सीसीटीभीमा भएको व्यापक वृद्धिले सर्वसाधारणको गोपनीयताको हक समेत उल्लङ्घन गर्ने हो कि भन्दै आशङ्का व्यक्त गर्ने गरेका छन्।

    तर ढकालले भने विभिन्न मुलुकमा भएका अभ्यास हेरेर र सर्वसाधारणकै सुरक्षाका लागि सीसीटीभीबाट अनुगमन बढाइएको बताए। गत अक्टोबर महिनामा उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिन्पिङ दुई दिने राजकीय भ्रमणका लागि नेपाल आइपुगेका थिए। त्यति बेला नै सीको सुरक्षा प्रबन्ध चुस्त पार्न सीसीटीभी सङ्ख्यामा व्यापक वृद्धि गरिएको विवरणहरू सार्वजनिक भएका थिए।

    पछिल्लो पाँच महिनामा करिब एक हजार सीसीटिभी थपिनुमा चिनियाँ राष्ट्रपतिको भ्रमणको पनि भूमिका छ भन्ने बीबीसीको प्रश्नमा ढकालले स्पष्ट उत्तर भने दिएनन्। “सीसीटीभी हामीलाई त्यस बेला भीभीआईपी आवागमन व्यवस्थापन गर्न निकै सहज भएको थियो। कुन स्थानमा गाडी रोक्ने कुन स्थानमा चल्ने दिने जस्ता कुराको निर्णय लिने निकै सहज भयो,” उनले भने।

    काठमाण्डू उपत्यकामा सिसिटिभी सङ्ख्या कम समयमै उल्लेख्य रूपमा वृद्धि गरिए पनि त्यो अझै अपर्याप्त रहेको प्रहरीको भनाइ छ। ढकालका अनुसार सीसीटीभीको सङ्ख्या अझ तीन गुणा बढाउनुपर्ने अवस्था छ।

    त्यसबाहेक रातिको बेला समेत स्पष्ट रूपमा फूटेज हेर्न सकिने तथा स्मार्ट क्यामेरा जडान गर्न सकिए सडक सुरक्षा तथा अनुसन्धान गर्न सहज हुने उनीहरूको भनाइ छ।

    विविसी नेपालीबाट

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...