News Portal

  • गणितलाई अनिवार्यबाट हटाएपछि विज्ञहरुले जनाए कडा आपत्ति

    भक्तपुर, ६ माघ
    १४१० पटक
    भक्तपुर, ६ माघ

    कक्षा ११ र १२ मा गणित विषयलाई अनिवार्यबाट हटाइएकोमा विज्ञहरूले आपत्ति जनाएका छन् । गणितलाई ऐच्छिक विषयमा गणना गरिँदा स्नातक तहमा विद्यार्थीले इच्छाअनुसारको विषय पढ्न नपाउने भन्दै नेपाल गणित समाजले आपत्ति जनाएको हो ।

    त्रिभुवन विश्वविद्यालय गणित शिक्षा केन्द्रीय विभागका उपप्राध्यापक तथा समाजका सहसचिव डा. जीवन काफ्लेले भने, ‘पाठ्यक्रम विकास केन्द्रले ल्याउन खोजेको पाठ्यक्रम कार्यान्वयनमा ल्याउने हो भने जीव विज्ञान, भौतिक शास्त्र र रसायन शास्त्र पढ्ने विद्यार्थीले नन क्रेडिट विषयका रूपमा सातौँ पत्रका रूपमा पढे पनि गणित विषयलाई मूल विषय बनाएर पढ्न पाउने छैनन् । मूल विषयका रूपमा गणित पढ्न नपाउने विद्यार्थीले स्नातक तहमा रोजेको विषय पढ्न पाउँदैनन् ।’

    विद्यार्थीको उत्तीर्ण प्रतिशत बढाउने वहानामा अप्ठ्यारो विषय भन्दै गणितलाई अनिवार्यबाट हटाइएको उनले बताए। अहिलेको पाठ्यक्रमअनुसार गणितलाई अनिवार्य नबनाइँदा स्नातक तहमा इन्जिनियरिङ, सीए, बीबीए, बीबीएस तथा उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई समेत अप्ठ्यारो हुने समाजको भनाइ छ।

    परिवर्तित पाठ्यक्रमअनुसार दुवै कक्षामा तीन वटा अनिवार्य र तीनवटै विषय ऐच्छिक हुनेछ । कक्षा ११ मा अंग्रेजी, नेपाली, सामाजिक शिक्षा अनिवार्य गरिएको छ । कक्षा १२ मा पनि अंग्रेजी, नेपाली र जीवनोपयोगी विषयलाई अनिवार्य बनाइएको छ । ऐच्छिक विषयका लागि दुवै कक्षामा गरेर एक सय ६० वटा विषयको पाठ्यक्रम तयार भएको भट्टराईले बताए ।

    तर, विद्यार्थीले ऐच्छिक विषयमा तीन वटाको ठाउँमा चार वटा पढ्न पनि पाउने व्यवस्था गरिएको छ । भट्टराईले भने, ‘तीन वटा त अनिवार्य भइहाले । ऐच्छिक लिनुपर्ने तीन वटाको ठाउँमा विद्यार्थीले चार वटा पढ्न पनि पाउँछन् । सबै विषयको परीक्षा दिन पाउँछन् । यसलाई क्रेडिट आवरमा गणना गर्ने कि नगर्ने भन्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डले निर्णय गर्छ ।’

    नयाँ पाठ्यक्रमको विशेषता भनेको विद्यार्थीले कक्षा ११ मा एउटा समूहको विषय पढेर कक्षा १२ मा अर्को समूहको विषय पढ्न पाउनु हो ।

    ‘कक्षा ११ मा जीव विज्ञान, भौतिक शास्त्र र रसायन शास्त्र पढेका विद्यार्थीले कक्षा १२ मा गणित, मार्केटिङ र फाइनान्स पढ्छु भने पनि पाउँछ’, भट्टराईले भने, ‘अहिले जस्तो ११ मा जे पढ्यो १२ मा पनि त्यही विषय पढ्नुपर्छ भन्ने बाध्यता विद्यार्थीमा रहँदैन। तर, ११ र १२ मा एउटै पढ्छु भने पनि पाउँछ ।’

    परिवर्तित पाठ्यक्रमअनुसार नेपाली र अंग्रेजीको पाठ्यक्रमको पाठ्यभार क्रमशः तीन र चार क्रेडिट आवरको हुनेछ । ऐच्छिक विषय पाँच क्रेडिट आवरको हुनेछ । सामान्यतया ३२ घण्टाको पढाइलाई एक क्रेडिट आवर मान्ने चलन छ ।

    आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण विषयको पाठ्यक्रम परिवर्तन हुने भएपछि पाठ्यक्रम विकास केन्द्रले सबै कक्षाका पाठ्यक्रमका प्रारुप तयार गरिसकेको जनाएको छ ।

    पहिलो चरणमा शैक्षिक सत्र ०७७–७८ मा कक्षा एक र ११ को पाठ्यक्रम परिवर्तन हुनेछ। दोस्रो चरणमा कक्षा दुई, तीन, ६ र १२ को परिवर्तन हुनेछ । त्यसपछि कक्षा चार, पाँच तथा सात, आठ र नौको पाठ्यक्रम क्रमैसँग परिवर्तन हुनेछ । ०८० सालभित्र सबै कक्षाको पाठ्यक्रम परिवर्तन भइसक्ने केन्द्रका प्रवक्ता गणेश भट्टराईले बताए ।

    केन्द्रले यसअघि रहेको पाठ्यक्रम संरचना परिवर्तन गरेर एकल पथीय बनाएको हो । हरेक कक्षामा विद्यार्थीले विद्यालय परिवर्तन गर्न पाउनु र तल्लो कक्षामा पढेको भन्दा फरक विषय माथिल्लो कक्षामा पढ्न पाउनु एकल पथीय पाठ्यक्रमको विशेषता हो । शिक्षा ऐनले कक्षा ११ र १२ लाई पनि विद्यालय संरचनामा गाभेपछि नयाँ पाठ्यक्रम बनाइएको हो ।

    ऐन संशोधन हुनुअघि कक्षा १० सम्मलाई मात्र विद्यालय संरचना मानिएको थियो । ११ र १२ लाई उच्च माध्यमिक तह भनिन्थ्यो । नयाँ पाठ्यक्रम लागू भएपछि विद्यार्थीले कक्षा ११ को पढाइ एउटा विद्यालयबाट सकेर १२ को पढाइका लागि अर्कै विद्यालय रोज्न पाउने छन् । यसअघि यस्तो व्यवस्था थिएन । नयाँ पाठ्यक्रमअनुसार विद्यार्थीले ११ र १२ दुवैमा ६ वटा विषय पढ्नुपर्ने हुन्छ। अहिले ११ र १२ दुवैमा ५–५ वटा विषय मात्र पढाइ भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...