News Portal

  • राष्ट्रियसभा निर्वाचन : नेकपाको शतप्रतिशत जित, कांग्रेस निल

    भक्तपुरपोष्ट संवाददाता९ माघ २०७६
    १००३ पटक
    ९ माघ २०७६

    काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको गठबन्धनले  शतप्रतिशत जित हासिल गरेको छ । १८ पदका लागि भएको निर्वाचनमा नेकपाका १६ र राष्ट्रिय जनता पार्टीका २ जना निर्वाचित भएका छन् ।

    विपक्षी नेपाली कांग्रेस भने निल भएको छ । कांग्रेसले एकसीट पनि जितेन ।

    विहीबारको निर्वाचनपछि राष्ट्रियसभामा रहेका कांग्रेसका ७ जना सांसदको सीट घटेको छ । राष्ट्रियसभामा प्रदेश एकबाट ३ जना, प्रदेश दुईमा ४, बागमतीमा २, गण्डकी प्रदेशमा २, प्रदेश पाँचमा ३, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा २ जनाका लागि बिहीबार मतदान भएको थियो ।

    प्रदेश २ मा नेकपाले राष्ट्रिय जनता पार्टी राजपासँग तालमेल गरी २/२ सिट बाँडफाँट गरेको थियो । र, नतिजा पनि सोही अनुसार आएको छ ।

    प्रदेश १

    प्रदेश १ बाट नेकपा उम्मेदवारहरु गोपी अछामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका छन् । अछामी दलिततर्फका सदस्य हुन् भने गौतम महिला र दाहाल अन्यतर्फका सदस्य हुन् । अछामीले ६ हजार ३ सय ३० मतभार पाए । उनका प्रतिद्वन्द्वी नेपानी कांग्रेसका निरबहादुर विकले २७ सय १८ र समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मतभार पाए ।

    महिलातर्फ विजयी इन्दिरा गौतमले ६ हजार ४ सय २२ मतभार पाइन् । अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मतभार पाए ।

    प्रदेश २

    प्रदेश २ मा नेकपाका तुलसा दाहाल र राधेश्याम पासवान तथा राजपाका मृगेन्द्रसिंह यादव र शेखर सिंह निर्वाचित भए । दाहाल महिला सदस्य र पासवान दलित सदस्यमा निर्वाचित भएका हुन् । त्यस्तै यादव अन्य समूहबाट र सिंह अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहबाट निर्वाचित भएका हुन् । ५ हजार २ सय ८ मतभारसहित विजयी भएकी नेकपाकी दाहालले नेपाली कांग्रेसकी नगिना यादवलाई हराइन् । यादवले ४ हजार ७ सय ४० मतभार पाइन् । ५ हजार २ सय ९२ मतभारसहित विजयी भएका पासवानले समाजवादी पार्टीका रामप्रित पासवानलाई पराजित गरे । पासवानले ४ हजार ७ सय ४ मतभार पाएका थिए ।

    राजपा उम्मेदवार मृगेन्द्र सिंह यादवले आफ्नै भाइसमेत रहेका समाजवादी पार्टीका अनिरुद्र यादवलाई पराजित गरे । मृगेन्द्रले ५ हजार ४ सय र अनिरुद्रले ४ हजार ५ सय १२ मतभार पाए । राजपाका शेखर सिंहले नेपाली कांग्रेसका भोला पञ्जियारलाई पराजित गरे । सिंहले ५ हजार ५ सय २ र पञ्जियारले ४ हजार ५ सय १२ मतभार पाए । प्रदेश २ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेको थियो ।

    बागमती प्रदेश

    बागमती प्रदेशमा महिलामा गंगाकुमारी बेलबासे र अन्य समूहमा बेदुराम भुसाल निर्वाचित भए । बेलबासेले ६ हजार ८ सय २८ र भुसालले ६ हजार ८ सय १० मतभार पाए ।बेलबासेले कांग्रेसकी छलीकुमारी शर्मा उपाध्याय र नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेलाई पराजित गरेकी हन् । भुसालले कांग्रेसका हरिशरण श्रेष्ठ र नेमकिपाका कृष्णबहादुर तामाङलाई पराजित गरेका हुन् ।

    गण्डकी प्रदेश

    गण्डकी प्रदेशबाट अन्य समूहमा नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने विजयी भए । ३४ सय ६२ मतभार पाएका श्रेष्ठले कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय १८ मतभारले पराजित गरे । कांग्रेस उम्मेदवार रेग्मीले २२ सय ४४ र राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालले १९८ मतभार पाए ।

    न्यौपानेले कांग्रेसकी विमला गौचनलाई १ हजार २० मतभारले पराजित गरिन् । न्यौपानेले ३३ सय ६६ र गौचनले २३४० मतभार पाए ।

    प्रदेश ५

    प्रदेश ५ बाट राष्ट्रियसभामा विमला घिमिरे, जगप्रसाद शर्मा र गोपालप्रसाद भट्टराई निर्वाचित भए । महिला सदस्यमा घिमिरे, अपांगता भएका वा अल्पसंख्यक सदस्यमा शर्मा र अन्य समूहबाट भट्टराई निर्वाचित भएका हुन् । घिमिरेले नेपाली कांग्रेसकी गिरिजादेवी न्यौपाने, शर्माले कांग्रेसका मेराज अहमद हलवाई र समाजवादी पार्टीका सुनीलकुमार सिंघललाई पराजित गरे । त्यस्तै भट्टराईले कांग्रेसका बालकृष्ण पाण्डे र समाजवादी पार्टीका कृष्णप्रसाद अहिर र राष्ट्रिय जनमोर्चाका शिवप्रसाद पौडेललाई पराजित गरे ।

    कर्णाली

    कर्णाली प्रदेशबाट नेकपाकै अन्य समूहका मायाप्रसाद शर्मा र महिला समूहकी सुमित्रा विसी निर्वाचित भए । शर्माले तीन हजार ६ सय १८ मतभार पाए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका डिल्लीराम पाठकले एक हजार २६ मतभार पाए ।यस्तै, बीसीले तीन हजार ६ सय ८४ र निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गणेशकुमारी बस्नेतले एक हजार २६ मतभार पाए ।

    सुदूरपश्चिम

    सुदूरपश्चिम प्रदेशमा महिला समूहबाट शारदा भट्ट र अन्य समूहबाट तारामान स्वाँर निर्वाचित भए । भट्टले ३ हजार ७ सय ३८ र स्वाँरले ३ हजार ७ सय २० मतभार पाए । महिला समूहकी कांग्रेस उम्मेदवार तुलसा देवकोटाले १ हजार ८ सय ५४ र अन्य समूहका कांग्रेस उम्मेदवार प्रताप ठगुन्नाले १ हजार ८ सय ४२ मतभार पाए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...