News Portal

  • राजसंस्था सहितको प्रजातन्त्रमा कुरा मिलेपछि राप्रपा एक भएको घोषणा

    भक्तपुरपोष्ट संवाददाता२८ फागुन २०७६
    ८९७ पटक
    २८ फागुन २०७६

    काठमाडौं ।  लामो समयपछि पूर्वपञ्चहरूको बाहुल्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले आफूहरू एक भएको औपचारिक घोषणा गरेका छन् । नयाँ पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ राखिएको छ। घोषणासभामा उनीहरूले पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म, साक्षेप हिन्दूराष्ट्र र साझा संस्थाको रूपमा राजसंस्था सहितको प्रजातन्त्र उल्लेख गरिएको आधारपत्र आदानप्रदान गरे।

    कार्यक्रममा राप्रपा नेपाल अध्यक्ष कमल थापा र राप्रपा (संयुक्त)का अध्यक्षद्वय पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीबीच पार्टी एकतासम्बन्धी आधार पत्र आदान प्रदान गरेर पार्टी एक भएको घोषणा गरेका हुन् ।

    एकीकरण पत्र आदानप्रदान गरिरहँदा कार्यकर्ताले बोल्न पाउनुपर्ने भन्दै होहल्ला गरेका थिए । एकता कार्यक्रममा सहभागी केहीले नेताहरूले गीताको पुस्तक छोएर अब पार्टी फुट्दैन भन्नु पर्ने बताएपछि अन्य सहभागीले सही थपेका थिए ।गीता छोएर पार्टी फुट्दैन भन्नु पर्ने माग आएपछि एकजनाले गीताको पुस्तक मञ्चमा लगेका थिए। तर अध्यक्ष थापा र राणाले उक्त पुस्तक छोएनन् ।शनिबार एकीकरणसम्बन्धी १० बुँदे आधार पत्रमा तीन अध्यक्षले हस्ताक्षर गरेका थिए । अब राप्रपामा ३ अध्यक्ष रहने छन् ।

    टुक्रिने र जुट्ने विषय राप्रपाका लागि कुनै नौलो नभए पनि विगतमा यसले संसदमा निर्णायक अर्थ राख्नेगर्थ्यो । तर पछिल्लो आमनिर्वाचनमा प्रत्यक्षतर्फ एक सिटमात्र जितेपछि यो दलले राष्ट्रिय दलको हैसियतसमेत जोगाउन सकेन । तर बुधवारको एकता घोषणा सभामा एकीकृत भएको राप्रपाका तीनजनामध्येका एक अध्यक्ष पशुपति शमशेर राणाले २०५१ सालको मध्यावधि चुनाव सम्झिए।दुई ठूला दलले बहुमत ल्याउन नसक्दा उनीहरूबीचको आपसी प्रतिस्पर्धाले २० सीट जितेको राप्रपाको पोल्टामा दुईपटक प्रधानमन्त्री पुगेको थियो।

    तर राणाले यसपटक आफ्नो उद्देश्य त्योभन्दा ठूलो रहेको बताए। उनले भने, ‘एक हुँदाखेरी हामीले दुईपटक प्रधानमन्त्री बनायौँ। यसपालि त्योभन्दा ठूलो उद्देश्य लिएर हामी एक भएका छौँ। सर्व धर्मसापेक्ष, सनातन, हिन्दुराष्ट्र यो मुलुकमा पुनर्स्थापित गर्छौँ।’ तर जानकारहरूका भनाइमा ठूलो महत्त्वकाङ्क्षा पूरा गर्नका लागि राप्रपाका लागि अहिले अर्को चुनाव कुर्नुको विकल्प छैन । हिन्दू राष्ट्रको मुद्दाले आम मतदातामा प्रभाव पार्न सकिने बुझाइ एकीकृत राप्रपाका नेतामा देखिन्छ।

    अर्का अध्यक्ष कमल थापाले कार्यकर्तालाई अब पुन: फुटको त्रास नपाल्न आश्वास्त पार्ने गरी हातमा गीता समातेर नफुट्ने दाबी गरे। ‘पार्टीलाई माया गर्ने साथीहरूलाई साक्षी राखेर प्रतिज्ञा गर्दछु, म कहिल्यै पनि पार्टी फुटाउने छैन। तपाईँहरूलाई विश्वास लागेन, मैले गीता ल्याएको छु।’ तर कतिपयले यस एकतालाई पछिल्लो चुनावको परिणाम पछिको बाध्यात्मक एकताको रूपमा औँल्याएका छन्।

    तीन अध्यक्ष रहको पार्टीमा पहिलो नम्बरमा पशुपति शमशेर जबरा, दोस्रोमा कमल थापा र तेस्रोमा डा. प्रकाशचन्द्र लोहनीको नाम राखिएको छ।हिन्दूराष्ट्र र राजतन्त्रको उसको मुद्दा पुरानै र एकपटक परीक्षण भइसकेकाले त्यसले ठूलो प्रतिफल दिनेमा संशय व्यक्त गर्नेको सङ्ख्या उल्लेख्य छ। पार्टी नेता एवं पूर्वमन्त्री सुनिलबहादुर थापा लगायतका केही नेताले राजतन्त्र फर्काउने विषयमा असहमति राख्दै एकता सभामा सहभागी भएनन्।

    २०४८ सालमा राप्रपा चन्द समूहले तीन सीट जितेको थियो भने मत प्रतिशत ६.५६ प्रतिशत थियो । राप्रपा थापा समूहले एक सीट जितेर ५.३८ प्रतिशत मत पाएको थियो । दुबै समूहको परिणाम जोड्दा राप्रपाले त्यसबेला पाएको मत ११. ९४ प्रतिशत र सीट संख्या ४ पुग्थ्यो ।

    ०४८ सालमा कांग्रेसले ३७. ७५ प्रतिशत र एमालेले २७.९८ प्रतिशत मत पाएका थिए । नौ सीट जितेर तेस्रो दल बनेको तत्कालीन संयुक्त जनमोर्चा (पछि माओवादी) को मत प्रतिशत राप्रपाका दुबै समुहको भन्दा न्यून अर्थात ४.८३ प्रतिशत मात्र थियो । त्यसबेलाको एक मात्र मधेसी दल सदभावना पार्टीले ६ सीट जितेर ४. १० प्रतिशत मत बटुलेको थियो ।

    ०५१ सालको मध्यावधि चुनावमा एकीकृत राप्रपाले छलाङ हान्यो । ८८ सीट जितेर पहिलो दल बनेको एमालेले ३०.८५ प्रतिशत मत पायो भने ८३ सीट जितेको नेपाली कांग्रेसले ३३.३८ प्रतिशत मत ल्यायो । तेस्रो शक्ति बनेको राप्रपाले २० सीट जितेर १७.९३ प्रतिशत मत प्राप्त ग¥यो । कांग्रेस–एमालेको एकमना बहुमत नआएको अवस्थामा राप्रपाबाट सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द घुमाई–घुमाई प्रधानमन्त्री बने । बहुदलीय प्रजातन्त्रमा राजावादी शक्तिको जगजगी भयो ।

    ०५६ सालको तेस्रो आम चुनावमा एमाले–माले विभाजित भएका थिए । तर, राप्रपाले त्यो विभाजनको फाइदा उठाउन सकेन । एकीकृत राप्रपाबाट चन्द समूह चोइटिएर चुनावमा गयो । परिणामस्वरुप रापपाले ११ सिट जितेर १०.१४ प्रतिशत मतमा चित्त बुझायो । राप्रपा (चन्द) ले ३.३३ प्रतिशत मत पाए पनि एकै सिट जितेन । यो चुनावमा राप्रपाका दुबै समूहको कुल मत १३.४७ प्रतिशत मात्र रह्यो । राजावादी दलले पाएको यो मत ०४८ सालको भन्दा बढी तर ०५१ सालको भन्दा कम हो ।

    ०५६ को चुनावमा १११ सीट जितेर पहिलो दल बनेको कांग्रेसले ३६.१४ प्रतिशत मत पाएको थियो भने विभाजित एमालेले ७१ सीट जितेर ३०.७४ प्रतिशत मत पाएको थियो । जब कि मालेले पाएको ६.३८ प्रतिशत मत जोड्ने हो भने त्यसबेला कम्युनिस्ट पार्टीको मत कांग्रेसको भन्दा केही बढी, अर्थात ३७.१२ प्रतिशत पुग्ने थियो । त्यसबेला नेकपा मालेले राप्रपा चन्द समूहको जस्तै एकसीट पनि जितेन ।

    ०५६ सालको चुनावमा राप्रपाको शक्ति क्षयीयकरण भएता पनि मत प्रतिशतको हिसाबले राप्रपा तेस्रो शक्ति नै थियो । तर, कांग्रेसको एकलौटी बहुमत आएकाले राप्रपाले ०५१ सालमा जसरी खेल्न पाएन ।संसद विघटन भएर राजाले शक्ति हातमा लिएपछि राप्रपाका नेताहरु सत्तामा पटक–पटक पुगे । तर, ०६४ सालमा सम्पन्न पहिलो संविधानसभा चुनावमा राप्रपा तीन टुक्रा बनेर प्रस्तुत भए ।

    पहिलो संविधानसभामा कमल थापा नेतृत्वको राप्रपा नेपालले समानुपातिकतर्फ ४ सीट जित्यो भने सूर्यबहादुर थापा नेतृत्वको जनशक्ति पार्टीले ३ सीट र पशुपति समशेरको राप्रपाले ८ सीट जित्यो । पहिलो संविधानसभामा तीनवटै समूहको कुल मत प्रतिशत ४. ५३ प्रतिशत रह्यो भने ६०१ सदस्यीय संविधानसभामा उनीहरुको कुल उपस्थिति १५ सीटमा रह्यो ।

    दोस्रो संविधान सभा २०७० मा दुईवटा समूहमा चुनाव लडेका राजावादीहरुले आफूलाई केही उत्थान गरे । कमल थापा नेतृत्वको राप्रपा नेपालले एक्लै ७.१६ प्रतिशत मतका साथ २४ सीट जितेर संविधानसभामा आफूलाई चौथो शक्ति बनायो । राप्रपाले पनि प्रत्यक्षतर्फ तीन सीटसहित १३ सीट जितेर २.९९ प्रतिशत मत पायो । दोस्रो संविधानसभामा दुबै समूहको कुल मत प्रतिशत १०.१५ प्रतिशत र सीट संख्या ३७ पुग्यो ।

    तर, संविधान बनेपछि ०७४ सालमा सम्पन्न संघीय चुनावमा भने राजावादी दलहरुको स्थिति लगभग पत्तासाफको अवस्थामा पुग्यो । ०४८ सालयता निरन्तर बढाउँदै लगेको मत क्षयीकरण भयो । ०७४ सालको चुनावमा कमल थापा नेतृत्वको राप्रपा नेपालले १.१७ प्रतिशत मात्र मत प्राप्त गरेको छ । नेकपाले सघाएर झापाबाट एक सीटमा बल्लतल्ल चुनाव जितेको छ । पशुपति समशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकले १.२३ प्रतिशत मत पाएर संसदमा शून्य सीट हात पारेको छ । डा. प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादीले ०.३४ प्रतिशत मात्र मत पाएको छ ।

    राप्रपाका सबै समूहले ०७४ सालमा पाएको मत प्रतिशतको कूल योग २.७४ प्रतिशत मात्र छ, जुन ०४८ सालयताकै सबैभन्दा न्यून मत हो ।

    प्रतिकृया दिनुहोस्

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...