भक्तपुर । बजारमा अभाव देखिएको सर्जिकल मास्कको कालो बजारीमा संलग्न ८ जना पक्राउ परेका छन् । ७८ हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका हुन् ।
सर्जिकल मास्कको कालोबजारीमा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले काठमाडौँको डल्लुबाट नियन्त्रणमा लिएको हो । उक्त मास्क लुकाइछिपाइ बढी मूल्यमा बेच्न ठिक्क पारेको अवस्थामा ८ जना पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले बताए । विक्रेतालाई २ रुपैयाँ पर्ने मास्क ३१ रुपैयाँमा बेच्ने तयारी गरेको अवस्थामा पक्राउ गरिएको काठमाडौं प्रहरीले दावी गरेको छ ।
काठमाडौँको डल्लु आवासस्थित महाकाल मञ्जु श्री ट्रेर्डसले मास्क लुकाई बढी मूल्यमा बेचेको सूचना पछि पुगेको प्रहरीले ७८ हजार मास्क सहित ८ जनालाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।
उक्त मञ्जु श्री ट्रेर्डस काभ्रेको रोसी गाउँपालिका ७ घर भई स्वयम्भु बस्ने मिन्टु तामाङले सञ्चालन गरेको र उनीसहित ८ जना पक्राउ परेको काठमाडौ प्रहरीले जनाएको हो ।