News Portal

  • ‘कोरोना भाइरसको शङ्का भएकाको परिचय गोप्य राख्नुपर्छ’

    भीष्मराज ओझा/काठमाडौँ१३ चैत २०७६
    ९३७ पटक
    १३ चैत २०७६

    सञ्चारमाध्यम र सञ्चारकर्मीले कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा आशङ्कित वा सङ्क्रमितको आशङ्का गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनुपर्ने व्यवस्थासहितको निर्देशिका जारी गरिएको छ । प्रेस काउन्सिल नेपालले कोरोना भाइरसको सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा अपनाउनुपर्ने सावधानी र निर्वाह गर्नुपर्ने दायित्वका सम्बन्धमा उक्त निर्देशिका हालै जारी गरेको हो ।

    निर्देशिकाअनुसार कोरोना भाइरसको शङ्का भएकाको परिचय गोप्य राख्नुपर्छ, सङ्क्रमित व्यक्तिलाई नकारात्मक असर पार्नसक्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु हुँदैन । सङ्क्रमित व्यक्तिको सचेत स्वीकृति र सम्बन्धित आधिकारिक स्रोतको अनुमति विना परिचय सार्वजनिकसमेत गर्नु हुँदैन ।

    यसैगरी पत्रकार तथा सञ्चारमाध्यमले कोरोना सङ्क्रमणसम्बन्धी सत्य–तथ्य र आधिकारिक स्रोत वा विषय विज्ञबाट पुष्टि भएका समाचार सामग्रीमात्र सम्प्रेषण गर्नुपर्छ ।

    पत्रकार तथा सञ्चारमाध्यमले सामाजिक सञ्जालमार्फत प्रवाह गर्ने कोरोना सङ्क्रमणसम्बन्धी समाचार, लेख, सूचना वा जानकारी मर्यादित, सत्य तथ्यपूर्ण र आधिकारिक हुनुपर्दछ । साथै सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताले प्रवाह गरेका कोरोना सङ्क्रमणसम्बन्धी समाचार, जानकारी वा लेख र प्रतिक्रियालाई शेयर, लाइक वा रिट्विट गरी पुनः प्रकाशन गर्दा पत्रकार तथा सञ्चारमाध्यमले आफूले प्रकाशन गरेसरह आधिकारिकता समेतको ख्याल गरी सम्प्रेषण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

    पत्रकार तथा सञ्चारमाध्यमले कोरोना सङ्क्रमणसम्बन्धी समाचार सामग्री प्रवाह गर्दा कोरोना भाइरसलाई कुनै देश, क्षेत्र वा समुदायसँग जोड्ने वा तिनका कारण फैलिएको भनेर आरोपित गर्नु हुँदैन । निर्देशिकाअनुसार कुनै पनि सङ्क्रमित व्यक्तिलाई लाञ्छना वा व्यक्तिगत आरोप लगाउने गरी समाचार सम्प्रेषण हुनु हुँदैन । जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक अवस्था जस्ता कुनै पनि आधारमा कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु हुँदैन ।

    पत्रकार तथा सञ्चारमाध्यमले कोरोना सङ्क्रमणसम्बन्धी समाचार सामग्री प्रवाह गर्दा नेपाल सरकारको आधिकारिक निकायबाट पुष्टि नभएका अनधिकृत, गलत र अतिरञ्जनापूर्ण सूचना तथा हल्लालाई स्थान दिनु हुँदैन । पाठक, श्रोता र दर्शकमा निराशा वा उत्तेजना हुन नदिन सदैव विशेष संवेदनशीलता र सतर्कता अपनाउनुपर्ने निर्देशिकामा जनाइएको छ ।

    त्यस्तै पत्रकार तथा सञ्चारमाध्यमले सङ्क्रमित व्यक्तिका नातेदार वा नजीकका व्यक्तिको नाम, ठेगाना र पहिचान खुल्ने गरी समाचार, तस्बिर र दृश्य उत्पादन, वितरण वा प्रकाशन–प्रसारण गर्नु हुँदैन । सङ्क्रमण भई निधन भएका व्यक्तिका दृश्य एवं तस्बिरहरूसमेत सम्प्रेषण गर्नु हुँदैन ।

    पत्रकार तथा सञ्चारमाध्यमले प्रवाह गरेका कोरोना सङ्क्रमणसम्बन्धी समाचार सामग्रीमा कुनै पनि त्रुटि एवं गल्ती भेटिएमा यथाशीघ्र सच्याई त्यसबारे सोही सञ्चारमाध्यमबाट सार्वजनिक जानकारी गराउनुपर्दछ । साथै प्रेस काउन्सिलले गल्ती सच्याउन दिएको निर्देशनको तत्काल पालना गर्नुपर्ने निर्देशिकामा व्यवस्था छ ।

    निर्देशकाको पालना गरे÷नगरेको प्रेस काउन्सिलले अनुगमन गरी प्रेस काउन्सिल ऐन २०४८ र पत्रकार आचारसंहिता, २०७३ ९संशोधित–२०७६० अनुसार आवश्यक कारवाही गर्न सक्नेछ । नेपाल पत्रकार महासङ्घको सहमतिमा प्रेस काउन्सिलले सबै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई लागू हुनेगरी महामारीलगायत जनस्वास्थ्यसँग सम्बन्धित समाचार सम्प्रेषण निर्देशिका २०७६, यही चैत १० गते जारी गरेको हो । महासङ्का केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले महामारी र विपद्का बेलामा फैलन सक्ने हल्ला र भ्रमप्रति सचेत रहेर सञ्चारमाध्यम र पत्रकारले यस्तो बेलामा विश्वनीय समाचार सम्प्रेषण गर्नका लागि यो निर्देशीका सहयोगी हुने बताए ।

    प्रेस काउन्सिलले हालै मात्र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा आचारसंहिता र निर्देशिका विपरीत कोरोना भाइरस सङ्क्रमणसम्बन्धी भ्रामक समाचार सम्प्रेषण गर्ने दर्ता नै नभएका करीब दुई दर्जन वेबसाइटहरु बन्द गरिसकेको छ । यसबाहेक विभिन्न ३२ सञ्चारमाध्यमलाई आचारसंहिता विपरीतका समाचार सामग्री हटाउन लगाई २४ घण्टे स्पष्टीकरण सोधिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए ।रासस

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...