News Portal

  • भक्तपुरका ४० वर्षीय राजेशले मरेपछि पनि सास्ती पाएपछि लेखियाे रिपोर्ताज

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ चैत
    ८१७६ पटक
    भक्तपुर, १६ चैत

    (दाहसंस्कारमा नो डिस्काउन्ट शिर्षकमा नयाँ पत्रिकाले रिपोर्ताज प्रस्तुत गरेको छ । कोरोनाले राष्ट्रपतिदेखि सर्वसाधारणसम्म, करोडपतिदेखि सुकुम्बासीसम्मलाई विनाभेदभाव ‘नजरबन्द’मा राखेको भएपनि पशुपतिको आर्यघाटमा भने सरकारले तोकेको रेट तिर्न नसक्ने गरिबलाई दाहसंस्कार गर्ने छुट पनि नभएको शब्द चित्र रिपोर्ताजमा प्रस्तुत गरिएको छ । यो रिपोर्ताज टेकराज थामीले तयार पारेका हुन् । रिपोर्ट अंग्रेजी शब्द हो भने रिपोर्ताज फ्रांन्सीसी शब्द हो । रिपोर्टको कलात्मक तथा साहित्यिक रूपलाई रिपोर्ताज भनिन्छ । वास्तवमा रेखाचित्रको शैलीमा प्रभावकारी ढंगले लेखिने हुँदा यसमा काल्पनिकता हुँदैन । यो घटना प्रधान र कथातत्त्वले युक्त हुने हुँदा रिपोर्ताज लेखकले पत्रकार तथा साहित्यकार दुबैको भूमिका निभाउनु पर्ने हुन्छ । रिपोर्ताज लेख्नु भनेको जनजीवनको इतिहास लेख्नु जस्तै महत्वपूर्ण कुरा हो । प्रस्तुत छ नयाँ पत्रिकामा टेकराज थामीले तयार पारेको रिपोर्ताज : )

    हरमा सन्नाटा छ, राष्ट्रपतिदेखि सर्वसाधारण, करोडपतिदेखि सुकुम्बासी कोरोनाको ‘नजरबन्द’मा छन् । मान्छेले घुम्न छाडे, काम गर्न छाडे, कतिपयले भोकै पनि छाक टारे । तर, टार्नै नसकिने मृत्युले मान्छेलाई कसरी घुँडा टेकाउँछ, हामीले शनिबार पशुपति आर्यघाटमा देख्यौँ ।

    हामी पुग्दा विद्युतीय शवदाहगृहको मूलढोका ढप्क्याइएको थियो । झ्यालबाट टिकट काउन्टरमा एक युवा बार्गेनिङ गरिरहेझैँ देखिए । हामी नजिकै पुग्यौँ । काउन्टरभित्रबाट कर्मचारी भन्दै थिए, ‘यति रकममा त हुँदै हुन्न, कहाँ लानु छ लैजाऊ ।’ यो कठोर शब्द सुनेर युवाको मुहारमा पीडा मडारियो । सँगै रहेकी युवती अवाक भइन् ।

    प्रतीक्षालयमा बसेर हामी यो सब नियालिरहेका थियौँ । केहीबेरमा युवती हामीनजिकै आएर कुर्सीमा बसिन् । उनी अवाक थिइन् । केहीबेरमा युवा पनि आए । गरिबीलाई सराप्दै उनी भुतभुताउन थाले, ‘उपचार गरेर बचाउन त सकिएन, मरेपछि लास पनि जलाउन सकिएन ।’ युवती प्रतिक्रियाविहीन थिइन् ।

    उनीहरूको पीडा के हो ? हामीले चासो राखेपछि संवाद लम्बियो । उनीहरूले हामीलाई बागमती किनारतर्फ लगे । किनारमा एउटा शव देखियो । छेउमा थिइन्– २७ वर्षीया रिना श्रेष्ठ र रुँदै गरेका दुई बच्चा ।

    रिनाका श्रीमान् ४० वर्षीय राजेशको शनिबार बिहान निधन भएको थियो । भक्तपुरका स्थायी निवासी उनी नक्सालमा परिवारसहित बस्दै आएका थिए । दैनिक ज्याला–मजदुरी गरेर परिवार पाल्थे । तीन सन्तान नाबालक छन् । घरमूली नै बिरामी भएपछि परिवार चरम आर्थिक संकटमा थियो । ‘राम्रो उपचार गरेर बचाउन सकिएन, आज बिहान प्राण गयो, लास उठाउनसमेत रकम भएन,’ रिनाले भनिन् ।

    रिनाका अनुसार उनले छिमेकीसँग चन्दा उठाउन खोजेका थिए । तर, लकडाउनका कारण ४५ सय रुपैयाँ मात्रै जम्मा भयो । मलामी नपाएपछि शवबाहनमा हालेर आर्यघाट ल्याए । त्यसैमा दुई हजार खर्च भयो । आर्यघाट पुगेपछि उनीहरूले थाहा पाए– शव जलाउने ठाउँ पनि स्तरअनुसार फरकफरक छ । आर्थिक हैसियत भएकालाई माथिपट्टि, विपन्नलाई तलपट्टि । सबैभन्दा सस्तो ठाउँमा पनि ६ हजार रुपैयाँ लाग्ने देखियो । तर, उनीहरूसँग २५ सय रुपैयाँ मात्र थियो ।

    कसैले विद्युतीय शवदाहगृहमा सस्तो पर्छ भनेर सल्लाह दियो । त्यसैले रिनालाई बागमती किनारमै छाडेर उनका दुई आफन्त यता आएका रहेछन् । तर, त्यहाँ पनि चार हजार लाग्ने भयो । आफूसँग २५ सय भएकाले त्यतिमै शवदाह गरिदिन उनीहरू अनुरोध गरिरहेका थिए । तर, शवदाहगृहका कर्मचारी ‘नो डिस्काउन्ट’को मुडमा थिए ।

    रिनालाई साथ दिन आर्यघाट पुगेकी रेणु थापाले भनिन्, ‘१२ बजे नै शव आर्यघाट ल्यायौँ । तर, पैसा नभएकाले शव अलपत्र परेको छ ।’ बाबुको मृत्युमा शोकमा परेका दुई बालबालिका यो सब संवाद सुनिरहेका थिए । उनीहरूको मुहारमा मडारिएको पीडाले हामीलाई मौन बस्न दिएन । त्यहीँबाट पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालाई फोन लगायौँ । घटना विवरण सुनायौँ । उनले समस्या समाधान गर्ने वचन दिए ।

    खतिवडाको आश्वासन बोकेर हामी मृतकका परिवारसहित दहन कक्ष पुग्यौँ, तर त्यहाँका कर्मचारी पूर्वअडानबाट टसमस भएनन् । फेरि खतिवडालाई फोन ग¥यौँ । काउन्टरका कर्मचारीसँगै कुरा गर्न भन्यौँ । तर, कर्मचारी बोल्न तयार थिएनन् । धेरै याचना गरेपछि उनी आफ्ना हाकिमसँग कुरा गर्न तयार भए ।

    अब समस्या समाधान भयो भनेर हामीले लामो सास तान्न मात्र के खोजेका थियौँ, काउन्टरका कर्मचारीले अर्को अत्तो थापे, उहाँ (खतिवडा)ले भनेर हुँदैन । अनि उनैले उपाय सुझाए– कोषका पूर्वपदाधिकारी नरोत्तम वैद्यलाई भन्नुहोस् । हामीले वैद्यको नम्बर खोज्यौँ, र उनलार्ई फेरि विवरण बयान गर्‍यौँ ।

    वैद्यले काउन्टरका कर्मचारीसँग संवाद गरे । उनीहरूबीच के संवाद भयो, शव दाह गर्न कर्मचारी तयार भए । केहीबेरमा शव दहन पनि सुरु भयो । तर, फेरि पनि हाम्रो मनमा प्रश्न उठिरह्यो, ‘कोषका पदाधिकारीलाई चिन्ने र फोन घुमाउन सक्ने यो देशमा मुठ्ठिभर होलान्, जसले फोन गर्न सक्दैनन्, तिनको अवस्था के होला ? देशमा सरकार छ, तर फोन घुमाउन नसक्ने नागरिकले मर्दा पनि सुख नपाउने अवस्था कहिलेसम्म रहला ?’

    आपसमा यही संवाद गर्दै हामी फेरि बागमती किनारतर्फ लाग्यौँ । भष्मेश्वर घाटमा चार शव जल्दै थिए, अरू लाइनमा थिए । मृत्युपछि पनि लाइनमा बस्नुपर्ने यो अर्को विडम्बनाले हाम्रो समृद्धिको यात्रालाई गिज्याइरहेको थियो ।

    केहीबेरमा काभ्रेको कोसीपारीका ४८ वर्षीय रूपेश परियारको शव जलाउने पालोमा थियो । प्रतीक्षालयमा सुकसुकाउँदै थिइन् उनकी भाउजू पार्वती । घरी पछ्यौरीले आँसु पछ्थिन्, घरी फलामको डण्डीमा टाउको अड्याउँथिन् । शोकमा सान्त्वना दिन वरिपरि खासै कोही थिएन ।

    पार्वतीनजिक पुग्यौँ । उनले लकडाउनको पीडा सुनाइन्, ‘बिहान टिचिङमा देवरको मृत्यु भयो । बल्लबल्ल घाटसम्म शव ल्यायौँ । छोरा काठमाडौंमा भएकाले दागबत्ती दिन त गाह्रो भएन, तर मलामी कोही आउन पाएनन् । श्रीमतीले समेत मुख हेर्न नपाई दाहसंस्कार गर्नुपर्ने अवस्था भयो ।’

    उतापट्टि सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ की ५२ वर्षीया मतिमाया श्रेष्ठको शव जल्दै थियो । सामुन्ने प्रतीक्षालयको बेन्चमा थिए, ६३ वर्षीय श्रीमान् कृष्णलाल । जलिरहेको शव नियाल्दै हत्केलाले आँसु पुछ्दै थिए । तर, उनलाई सम्हाल्न आसपासमा कोही थिएन ।

    हामी नजिक पुग्यौँ, उनले चुरोटको सर्को गहिरोसँग ताने । प्रेस लेखिएको ज्याकेट लगाएकाले हामीले परिचय दिनुपरेन । प्रश्न पूरा नहुँदै उनले भन्न थाले, ‘बाबु मेरी श्रीमतीले मलामीसमेत पाइनन् । यो पीडामा चाहिने भनेकै आफन्त हो । तर, सिन्धुपाल्चोकबाट कोही आउन सकेनन् । पीडाले टाउको फुट्लाझैँ हुँदा वह पोख्ने आफन्तसमेत पाइनँ ।’

    प्रतीक्षालयको अर्को बेन्चमा थिए, काठमाडौंस्थित नागार्जुन नगरपालिका–१ का ४३ वर्षीय सुरज थापामगर । उनकी आमा ७० वर्षीया भगवती थापाको शव जलिरहेको थियो । मातृवियोगको पीडाले सुरजको अनुहार गलेको थियो । आँखामा आँसु टिलपिलाइरहेको टाढैबाट देखिन्थ्यो । तर, उनको पनि काँधमा थपथपाइदिने कोही आफन्त थिएनन् । यो पीडा कहिलेसम्म कतिले व्यहोर्नुपर्ने हो, दुनियाँमा कसैसँग पनि यसको जवाफ छैन ।

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गरी सूचनामा पहुँच बढाउनुस् ! भक्तपुर पोस्ट : सूचना तपाईको औंलामा 

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...