
कोरोना भाइरस संक्रमितलाई लिन पुगेको प्रहरी र स्वास्थ्यकर्मी माथि अवरोध भएको छ । रौतहटमा केहि मानिस प्रतिकारमा उत्रिएपछि अवरोध उत्पन्न भएको हो ।
शुक्रवार विहान रौतहटकाे इशनाथ नगरपालिका–७ स्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ जना संक्रमित व्यक्तिलाई लिन पुगेका प्रहरी र स्वास्थ्यकर्मीलाई केहि स्थानीयले अवरोध पुर्याएपछि स्थिति तनावग्रस्त बनेको थियो । संक्रमितलाई उपचारका लागि आइसोलेसनमा राख्न लिन पुगेका प्रहरीको गाडी माथि नै स्थानीयले आक्रमण र तोडफोड गरेपछि प्रहरीले केहि राउण्ड हवाइफ़ाइयर समेत गर्नु परेको बताइएको छ । संक्रमित व्यक्ति आइसोलेसनमा जान नमानेपछि स्थानीय त्रसित बनेका छन् ।
इशनाथ नगरपालिकाका मेयर सन्तोष कुमार मेहताले भक्तपुर पोस्टलाई बताए अनुसार सबै स्थानीय अवरोधमा उत्रिएका होइनन । केहि उच्छ्रीङ्खल मानिसहरुको उक्साहटमा अवरोध पुर्याइएको उनको भनाइ छ । यसले कोरोना नियन्त्रणमा चुनौती थपिएको मेयर मेहताले बताए ।
क्वारेन्टाइनमा रहेका १६ संक्रमित मध्ये १४ जनालाई भने आइसोलेसनमा लगिएको तर २ जनाका कारण समस्या उत्पन्न भएको उनको भनाइ छ ।