News Portal

  • १ घण्टाकाे बाटाे १० मिनेटमै

    भक्तपुर, १८ साउन
    १०७१ पटक
    भक्तपुर, १८ साउन

    बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरिएको राससले जनाएकाे छ । पुल विश्वकै लामो भएको समेत दाबी गरिँदै आए पनि तथ्यहरु जुट्न बाँकी नै छन् ।

    गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण अन्य विकास निर्माण ठप्प भएको सन्दर्भमा लामो झोलुङ्गे पुलको निर्माण गत वैशाखमै सम्पन्न भए पनि हस्तान्तरण नहुँदा सर्वसाधारणलाई खुला गरिएको थिएन । पुल खुला भएसँगै पर्वत जिल्लाको कुश्मा नगरपालिका र जलजला गाउँपालिका र बागलुङ बजाको यात्रा छोटिएको छ । यसले दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    पुल बनेपछि बागलुङ जिल्ला सदरमुकामबाट पाङ अदुवाबारी पुग्न एक घण्टा बढी पैदलयात्रा गर्नुपर्नेमा पुलबाट १० मिनेटमै पुग्न सकिने पाङ सुवेदीथर माध्यमिक विद्यालयका प्रधानध्यापक दीपक सुवेदीले जानकारी दिए ।

    बागलुङ नगरपालिका–१ रामरेखाबाट कुश्मा नगरपालिका-१ अदुवाबारी जोड्ने झोलुङ्गे पुल गत वैशाखको शुरुमै निर्माण सम्पन्न भए पनि हालसम्म सञ्चालनमा आएको थिएन । लकडाउन हटेसँगै निर्माण कम्पनीले पुल हस्तान्तरण गर्न थालेको छ । पुल हस्तान्तरण प्रक्रिया शुरु भएको जनाउँदै सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले शुक्रबारदेखि पुल खुला गर्न अनुमति दिएको हो । पुल सञ्चालनमा आएपछि दुई जिल्लाका मात्रै नभएर बागलुङ र पर्वत हुँदै म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई समेत यस पुलले आकर्षित गर्नेछ ।

    पुल खुला गरेपछि शुक्रबारदेखि पुल अवलोकन गर्नेको भीड नै लागेको छ । शुक्रबारदेखि खोल्नका लागि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयबाट जानकारी आएका कारण पुल सञ्चालन गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौंका सिनियर डिभिजन इञ्जीनियर हुमाकान्त मिश्रले पुल निर्माण सम्पन्न भएपश्चात सबै प्राविधिकरूपमा अध्ययन र परीक्षण गरिएकाले अब हस्तान्तरण गर्ने अन्तिम तयारीमा रहेको जनाउँदै पुल सञ्चालन गर्न भनिएको बताए । ‘पुलको प्राविधिक परीक्षण ग र्‍यौ, अब अफिसियलरूपमा हस्तान्तरणको काम गर्दा एक हप्ता लाग्छ होला, पुल सञ्चालन तथा संरक्षणको जिम्मा स्थानीय तहले समन्वयका आधारमा गर्नेछ’, उनले भने ।

    ठेक्का सम्झौताभन्दा तीन महिनाअघि नै पुल निर्माण सकिएको थियो । पुल हस्तान्तरण नहुँदा तीन महिनादेखि पुलको रेखदेख मात्रै गरेर राखेको पुल निर्माणको जिम्मा पाएको थानी/बिएलटी/हिमशिखर कन्ट्रक्शनका आधिकारिक प्रतिनिधि नरहरि खड्काले जानकारी दिए । ‘हामीले लकडाउनमा समेत पुल निर्माण रोकेनौँ’, उनले भने, ‘वैशाखको शुरुमै निर्माण सकिएको पुल वैशाख ९ गते हस्तान्तरणको तयारीमा थियौँ, लकडाउनले समस्या ल्यायो, अब पुल हस्तान्तरण गर्न थालेका छौँ, तर कार्यालयले शुक्रबारदेखि पुल खोल्न भनेको छ ।’ उनका अनुसार झोलुङ्गे खुला प्रकृतिमा ५७६ मिटर लामो पुल निर्माण नेपालमै पहिलोपटक निर्माण गरिएको हो । यो पुल विश्वकै लामो भएको बागलुङ नगरपालिकाले दाबी गरेको छ ।

    विसं २०७५ चैतदेखि शुरु भएको पुल निर्माणकार्य आगामी २०७७ असार मसान्तमा सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि तीन महिनाअगावै पुल निर्माण सम्पन्न भएको थियो । पहिलोपटक निर्माण थालिएको लामो पुल निर्माणमा ठूलो चुनौती भए पनि सबैको सहकार्यमा निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । उक्त निर्माण कम्पनीले पहाडी भेगका खोच तथा नदीमा लामा झोलुङ्गे पुल निर्माण गर्दै आएको खड्काको भनाइ छ । पुलको एकसाथ ६१२ जना अर्थात् ८५ मेट्रिक टन क्षमता रहेको छ ।

    विसं २०५९ देखि पुल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको भए पनि लठ्ठा तान्न नसक्ने जनाउँदै काम शुरु हुनसकेको थिएन । रु ४० लाखमा लठ्ठा तान्ने औजार चीनबाट खरिद गर्न अर्थ मन्त्रालयले स्विकृति दिएपछि पुल निर्माण थालिएको थियो । अहिलेसम्म नेपालमा सात हजार ५०० बढी झोलुङ्गे पुल छन् । शुरुमा रु १२ करोड २२ लाख लागत अनुमान गरिए पनि लठ्ठा र लठ्ठा तान्ने औजार मन्त्रालयले उपलब्ध गराउने भएपछि रु छ करोड ९१ लाखमा सम्झौता भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...