News Portal

  • दर खाने दिन,तीज,गणेश चतुर्थी र ऋषिपञ्चमीबारे

    शरद कुमार पौडेल५ भदौं
    १७४३ पटक
    ५ भदौं

    हिन्दु नारीहरुको महान पर्व तीज भाद्र शुक्ल प्रतिपदा देखि शुरु भइ पञ्चमीको पुजा साङ्गता सँगसँगै समाप्त हुन्छ । यस पर्वका मुख्य दिनहरुमा दर खाने दिन, हरितालिका तीज, गणेश चतुर्थी र ऋषि पञ्चमीलाई लिइन्छ।

    समग्रतामा यस पर्व खानपिन, व्रत र उपवास र स्नानका साथै अरुनधती सहित सप्त ऋृषिहरुको पुजा अर्चनामा केन्द्रित छ । मिष्ठान्न भोजन, नाच, गान, वस्त्र र गरगहना पहिरन लगायतका विषयहरुले बाहिरी रौनकता बढाएर यसको प्रभावकारितालाई उत्कर्षमा पुर्याएको पाइन्छ ।

    तीज पर्वमा विवाहित दिदिबहिनीहरुलाई लिन नजाने वा निम्ताको सन्देश नपठाउने दाजुभाइ(माइती) र भाइटीकाको दिन स्वतः स्फुर्त रुपमा दाजुभाइ भएकोठाउँमा नजाने वा निम्ताको सन्देश नपठाउने दिदीबहिनीहरुको शान्दर्भिकता हुँदैन भन्ने आम बुझाइले विवाहित नारीहरु र उनीहरुको माइतीघर सँगको सामिप्यता बढाउन मुख्य भुमिका खेलेको छ ।

    दर खाने दिन
    दर खाने दिन तीज पर्वको पहिलो दिन हो । यस दिनमा विवाह भई घर गएका विवाहित दिदिबहिनीहरु र घरमै रहेका अविवाहित दिदिबहिनीहरुलाई एकैठाउँमा भेला गराई दाजुभाइहरुले यथाशक्य मिठा र मिस्ठान्न भोजनहरु खुवाउने चलन छ । बिहान देखि दिउँसो हुँदै साँझ सम्म मिठा–मिठा परिकारहरु तयारीका साथ खुवाउने र खाने काम हुन्छ। यस दिनको मध्यराती वा अर्को दिनको उज्यालो हुनु अगावै खिर, खाजा, चिच्चर, दूध, दही र फलफुल लगायतका परिकारहरु खाने र खुवाउने चलनलाई दर खाने भनेर बुझिन्छ । यस दिनमा(दर खाने दिनमा) धेरै परिकारहरु ग्रहणगरिने हुँदा हरितालिका तिजको दिनमा निराहार व्रत बस्दा समेत केहि असजिलो महशुस नहुने बुझाई रही आएको छ ।

    हरितालिका तीजको दिन
    हरेक बर्षदर खाने दिनको भोलिपल्टको दिनलाइ हरितालिका तीजको रुपमा मनाउने गरिन्छ । यस दिनलाइ तीज पर्वको दोस्रो महत्त्वपूर्ण दिनको रुपमा लिइन्छ । हरितालिकाको अर्थ मातापिता र बासस्थानबाट छुट्याई साथीहरुले सुटुक्क अन्यत्र लगिएकी नारी र कन्या भन्ने बुझिन्छ । सतिदेविले आफ्नो बाबू दक्षप्रजापतिको हवन कुण्डमा प्रवेश गरि शरीर त्याग गरेपछी पुनः पार्वतीको रुपमा पिता हिमालय पर्वत र मेनुकाको कोखमा जन्म लिनुभएको पाइन्छ । जन्मपश्चात् पार्वतीले सानै उमेरदेखि शिवजी पति पाउनको लागि ध्यान तपस्या गर्दथिन् । शुक्लपक्षका चन्द्रमाझै बढ्दै गएकी, कान्तिवाली सबै लक्षणले युक्त कन्या देखेपछि नारद ऋृषिले विष्णु भगवानसँग पार्वतीको विवाह हुन योग्यभएको बताएपछि सो कुराको सुइँको पार्वतीले पाएपछि आफ्नो अन्तरमनको वेदनासाथीहरुलाई बताउनु भएको पाइन्छ ।

    तत्पश्चात् साथीहरुले पार्वतीलाई सुटुक्क जङ्गल तिर लगेको, त्यही एकान्तमा पार्वतीले शिवजीको पुजा र तपस्या गर्नु भएकोप्रसङ्ग पाइन्छ । यसरी अभिष्ठ उद्देश्यले पानी पनि नखाई कठोर तपस्या गर्दा भगवान विष्णु स्वयम् उपस्थित भई शिवजी पति पाए, तथास्तु भनि बरदान दिनु भएको र त्यही शिवजी उपस्थित भई व्रतपूर्ण गराइदिनुभएको प्रसङ्ग बिभिन्न कथाहरुमा उल्लेख छ ।

    यसरी पार्वतीको पहिलो जन्ममा पनि शिवजी नै पति हुनुभएको र यस जन्ममा पनि शिवजीप्रति नै कृतशङ्कल्पित भइ आफ्नो अभिलाषालाई यथार्थमा बदल्नु सनातन पुर्णताको लक्षण हो । आजभोलि पनि प्रेमी प्रेमिका वा श्रीमान श्रीमतीहरु सयौं जुनीसँगै हुन पाउँ भनि कामना गरेको पाइन्छ । यसै प्रसङ्गमा विवाहित महिलाहरु आ–आफ्ना जोडिको(पतिको) सुख–सुविधा, दीर्घायु एवम् सफलताको कामना गर्दै व्रतबस्ने, यदि व्रत बस्न नसक्ने भएमा पुरुषले सहयोग गरिदिने र विवाह नभएका कन्याहरु असल पति प्राप्त होओस् भन्ने उद्देश्यले व्रत बस्ने यस प्रचलनको धार्मिक एवम सांस्कृतिक महत्व अनन्तकालसम्म रहिरहने कुरामा विश्वस्त हुन सकिन्छ ।

    यस दिन तीजपर्व विशेषका भाकाहरुमा नाच गान गर्दा आफ्ना वर्षभरीका सुख दुखका भोगाइहरु व्यक्त गर्ने प्रचलन परापुर्व कालदेखि चली आएको पाइन्छ । यस दिनको बेलुका पख मन्दिरमा गई वा आ–आफ्नो घरमा नै शिव पार्वतीको पुजा गर्ने प्रचलन पनि छ ।

    गणेश चतुर्थी
    यस प्रसङ्गमा पार्वतीले प्रसव बेदना रहित पुत्र प्राप्त गर्ने अभिलाषा राख्नु भएको र महादेवले बिना गर्भधारण एवम् प्रसव वेदना रहित उक्त अभिलाषा पूरा गराइदिँदा पार्वतीको कोखबाट गणेश भगवानको उत्पत्ति भयो भन्ने मान्यता छ ।

    पार्वतीको कोखबाट उत्पत्ति भएपछि गणेशभगवानको मुख हेर्न सबैजना गएको, शनिश्चरले पनि हेरेको र उहाले हेर्ने वित्तिकै शिर अलग भएको प्रसङ्ग पनि पाइन्छ भने, कतै प्रवेशद्वारमा खडा भएका गणेशले महादेवलाई भित्र पस्न छेक्दा महादेवले नै उनको शिर छेदन गरिदिएको प्रसङ्ग समेत पाइन्छ । पुत्र वियोगमा विलाप गरेकी पार्वतीबाट सबै कुरा थाहा पाएपछि पार्वतीलाई खुसी पार्न स्वयं महादेवले नै हात्तीको शिर जोडी पुत्र बिउझाइदिनुभएको भन्ने जस्ता कथा प्रसङ्ग आउँछन् । गणेश भगवानको जन्मदिन अथवा प्रदुर्भावको यस दिन व्रत पूजा अर्चना गर्यो भने गणेश प्रसन्न भई मनोकामना पूरा हुन्छ भन्ने विश्वास छ ।

    ऋषिपञ्चमी
    भद्र शुक्ल पञ्चमीलाई ऋषिपञ्चमीको रुपमा मनाइन्छ । यो तीज पर्वको चौथा दिन हो । यस दिनको पुर्वार्धमाशौचादी कर्म सम्पन्न गरी अपमार्ग(दतिवन)सहित शुद्ध सफा माटो, गाईको गोबर, गहुत आदि सामाग्री लिइ नजिकको खोलामा गई माटो, गोबर, जौ, तिल, कुश मिश्रित पानीले स्नान गरी अपमार्ग टोक्ने त्यसपछि चाल्नेबाट सहस्र धारा बनाई नुहाउने र अन्त्यमा शुद्द सफा वस्त्र लगाई पञ्चगब्य खाएपछि स्नान कार्य सम्पन्न हुन्छ ।

    यसरी शुद्ध भई चौरमा भेला भई गीत गाउने नाच्ने चलन छ । यसरी स्नान पुजा आदि गर्दा वर्षभरी जानी नजानी हुन गएका पापहरुको दोष मेटिन्छ भन्ने मान्यता छ । यस दिनको मध्यान्हमा अरुनधती सहित सप्तऋषिहरु(जमदग्नी, भारतद्वार, विश्वामित्र, कश्यप, गौतम, अत्री र वशिष्ठ)को पुजा हुन्छ र यस पछि तिजको व्रत पुरा भएको मानिन्छ । सप्त ऋषिहरुको पुजा महिला पुरुष दुबैले गर्नु पर्ने कुरा शास्त्रमा लेखिएको भएतापनि पुरुषहरुले प्रायः गर्ने गरेको पाइदैन । यस आलेख पढिसकेपछि सुझाब एवं प्रतिक्रिया प्रदान गर्नुहुनेछ भन्ने अपेक्षासहित यस प्रसङ्गलाई यही बिटमार्ने अनुमती चाहन्छु ।

    –झारखोला, स्याङ्जा।

    प्रतिकृया दिनुहोस्

    खेलाडीको न्यायका लागि भक्तपुरबाट मेची महाकाली हस्ताक्षर अभियान आरम्भ

    मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका खेलाडीहरुको न्यायको लागि भन्दै भक्तपुरबाट हस्ताक्षर अभियान आरम्भ भएको...

    भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा

    भक्तपुर जिल्लामा अझै १ सय ५१ एचआईभी एड्स संक्रमित रहेका स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ...

    तिलागुफा- ४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित

    कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार खड्कराज शाही...

    अक्सफोर्डमा गस्ती नेता प्रशिक्षण

    भक्तपुर युथ स्काउट क्रूको आयोजनामा र अक्सफोर्ड प्राक्टिकल स्कूल, सल्लाघारीको सहकार्यमा अक्सफोर्ड प्राक्टिकल स्कूलमा एकदिवसीय...

    मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा. प्रधानाङ्ग

    नयाँ थिमिस्थित मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा रविना प्रधानाङ्ग निर्वाचित भएकी छन् । अस्पतालको संस्थापक...