News Portal

  • सूर्य थापाकाे बचावमा नेता भट्टराईले सम्झिए आफ्नाे जनवादी विवाह

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ असाेज
    १३८५ पटक
    भक्तपुर, ८ असाेज

    गरिबी निवारण कोषका उपाध्यक्ष समेत रहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता निर्मल भट्टराईले प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका नेकपाका प्रचारविभागका उप प्रमुख सूर्य थापालाई बेकारमै बिबादमा ल्याइएको जिकिर गरेका छन् । थापाले भन्दै नभनेको कुरालाई बंग्याएर अर्थको अनर्थ बनाउनु जायज नभएको उनको भनाइ छ ।

    एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताको क्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ्गका समर्थकलाई ‘पाखे’ भनेको भन्दै उनलाई भाइरल गरिएको थियो । बेलाबखत् बिबादित अभिव्यक्ति दिने थापाले पाखे भनेकै विस्वासमा अन्तर्वार्ता हेर्दैनहेरी मानिसहरुले थापाको कटु आलोचना गरेका थिए । ब्यापक आलोचनाको सामना गर्नुपरेपछि थापाले आफूले कुलमानका समर्थकलाई ‘पाखे’ भनेको नभई एकतर्फी कुरा मात्र गर्ने ‘एकपाखे’ भनेको भन्दै स्पष्टिकरण नै दिनुपरेको थियो ।

    सोही सन्दर्भलाई जोडेर नेता भट्टराईले थापाको बचाव गर्दै यसरी नै विषयबस्तुलाई बङ्ग्याउने हो भने सत्य जीवित नरहने जिकिर गरे । असत्य स्थापित गर्न लागिरहे ‘सत्य’ र ‘वास्तविकता’ ‘यथार्थ’जस्ता शब्दहरु नेपाली शब्द कोशबाट हटाई दिए हुने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । वास्तविकता नबुझी लहैलहैमा लाग्दा अरुलाई अन्याय भएको विषय बुझ्न नसकिने उनको अभिमत रहेको छ ।

    नेता भट्टराइले आफ्नो विवाहमा आफूले पनि यस्तै परिस्थितिको सामना गर्नु परेको तथ्य उजागर गर्दै समाज अझै सत्यको खोजीमा नरहेको र सुनेको कुरामा पछि लाग्ने प्रवित्ति भएको भन्दै व्यंग्य गरेका छन् । २०४७ मा भक्तपुरको कटुन्जेमा भएको आफ्नो जनवादी विवाहको अवसरमा मन्तब्य दिंदा आफूले जीवनसाथी कविता लुईंटेलसंग विद्यार्थी संगठन देखि नै सम्बन्ध रहेको र एक अर्काको दुःख सुखसंग परिचित भएको अभिव्यक्ति दिंदा मानिसहरुले त्यसलाई राजनीतिक सम्बन्ध संग नभई प्रेम सम्बन्ध संग जोडेर बुझेको उनले स्मरण गरे ।

    “निर्मल र कविताको त पहिलेदेखि नै सम्बन्ध रहेछ नि ! पण्डितको खलकको नाक काटी कविताले । त्यो नकचरो निर्मलले कवितासंग पहिलेदेखि नै सम्बन्ध थियो भनेर त्यत्रा मानिसका अगाडि कसरी भाषण गर्न सकेको !” गाउँलेले रातारात मेरो भाषणबाट ‘राजनीतिक’शब्द चपाईदिएछन् !” आफ्नो बिगत स्मरण गर्दै सामाजिक संजालमार्फत नेता भट्टराइले समाजको दृष्टिकोण सार्वजनिक गरे । त्यतिबेलाको समाजको सोचाइ अहिले सूर्य थापा सम्म आइपुदा पनि बलालिन नसकेकोमा उनले दुख समेत व्यक्त गरेका छन् ।

    ”दोश्रो विश्वयुद्ध ताकाका वेलायती प्रधानमन्त्री विस्टन चर्चील भन्दथे—सत्य उठेर जुत्ता लाउन नभ्याउदै असत्यले आधा विश्व घुमिसकेको हुन्छ । हाम्रोमा त सत्यको त उठ्नै नपाई ज्यान जाने भो ! असत्यमात्र घुमिरहने भो !” भट्टराइले भनेका छन् ।

    हेर्नुस भट्टराइले सामाजिक संजाल मार्फत व्यक्त गरेका बिचार

    सम्बन्ध’ र ‘राजनीतिक सम्बन्ध’ : ‘पाखे’ र ‘एक पाखे’
    मेरो विवाह जनवादी तरिकाले विक्रम सम्वत् २०४७ मा भक्तपुरको कटुन्जेमा भएको थियो । देशमा भर्खरै बहुदलीय व्यवस्था आएकोले विवाहको लागि एक सार्वजनिक समारोह आयोजना गर्ने र दुलहा दुलहीलाई सुखद् दाम्पत्यको शुभकामना दिने कार्यक्रम तय गरियो । एक परम्परागत पण्डितको परिवारमा यसरी विवाह हुन लागेको कुराले निकै परसम्म त्यसबारे कौतुहलता थियो । कसरी गर्छन् के—के भन्छन् भन्ने व्यग्रता थियो । पाँच सयभन्दा बढी मानिस भेला भए ।

    योजनामुताविक नै विवाह आयोजना भयो । पार्टी नेताहरु र आफन्तले मञ्चबाट शुभकामना र बधाई दिए । अन्तिममा दुलहाको रुपमा मैले आफ्नो मन्तव्य राख्ने क्रममा “आज मसंग वैवाहिक सम्बन्धमा बाँधिनु हुने कमरेड कविता लुईंटेलसंग मेरो धेरै पहिलेदेखि नै राजनीतिक सम्बन्ध रहिआएको छ किनभने अनेरास्ववियु भक्तपुर जिल्ला कमिटीमा हामी संगै लामो समयदेखि काम गर्दै आएका छौं । हामी एक अर्काको दुःख सुखसंग परिचित छौं । त्यसकारण हामीलाई मिलेर जीवन—संघर्ष गर्न गाह्रो हुने छैन ।”

    भोलिपल्टदेखि कटुन्जे गाँउ र वरपर हाम्रो विवाहको बारे यसरी कुरा काटिएछ—“निर्मल र कविताको त पहिलेदेखि नै सम्बन्ध रहेछ नि ! पण्डितको खलकको नाक काटी कविताले । त्यो नकचरो निर्मलले कवितासंग पहिलेदेखि नै सम्बन्ध थियो भनेर त्यत्रा मानिसका अगाडि कसरी भाषण गर्न सकेको !” गाउँलेले रातारात मेरो भाषणबाट ‘राजनीतिक’शब्द चपाईदिएछन् !

    हाल प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको एउटा अन्तरवार्ता प्रकरणमा त्यस्तै घटना घटेछ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ्बारे सोधिएको एक प्रश्नमा “…..कुलमानबारेको त्यो सोचाई एकपाखे हो भनेका रहेछन् । उनको त्यो अन्तरवार्ताको उपरोक्त अंशलाई सूर्य थापाले “कुलमानलाई पुनःनियुक्ति गर्नुपर्छ भन्नेहरु सबै पाखे हुन् !” भन्यो भनेर डंका पिटाइएछ ।

    यसरी नै विषयबस्तुलाई बङ्ग्याउने हो भने त ‘सत्य’ र ‘वास्तविकता’ ‘यथार्थ’जस्ता शब्दहरु नेपाली शब्द कोशबाट हटाई दिए हुन्छ ।
    दोश्रो विश्वयुद्ध ताकाका वेलायती प्रधानमन्त्री विस्टन चर्चील भन्दथे—सत्य उठेर जुत्ता लाउन नभ्याउदै असत्यले आधा विश्व घुमिसकेको हुन्छ । हाम्रोमा त सत्यको उठ्नै नपाई ज्यान जाने भो ! असत्यमात्र घुमिरहने भो !

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...