
सरकारका कारण नेपाली कांग्रेसका नेताहरु एकमत भएका छन् । फरक मत राख्ने गुटका नेताहरु एकमत भएका हुन् ।
बरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार प्रहरीले पक्राउ गरेपछि उनीहरु एकठाउँ आइपुगेका छन् । तनहुँमा पुल उद्घाटन गर्न जाँदा प्रहरीले पक्राउ गरेको विरोधमा कांग्रेस नेताहरु एकमत देखिएका हुन् ।
पौडेलले दिउँसो आफ्नो ट्विटर मार्फत पक्राउको जानकारी दिने बित्तिकै काँग्रेसका प्राय: सबै नेताले सरकारी रवैयाको विरोधमा सामाजिक सञ्जाल रङ्गाएका छन् ।
प्रकाशमान सिंह, विमलेन्द्र निधी, डा.डिला संग्रौला, गगन थापा, नविन्द्र राज जोशीलगायतका नेताले सरकारलाई यो गिरफ्तारी महंगो पर्ने चेतावनी नै दिए । पार्टी सभापति शेरबहादुर देउवाले पनि विज्ञप्ति जारी गर्दै सरकारको निन्दा गरेका छन् । कमजोर प्रतिपक्षी नेता मानिएका देउवाले पैाडेलकाे पक्षमा भने सरकारलाई कडा दनक नै दिएका छन् ।
देउवाले सरकारलाई अधिनायकवादीको संज्ञा दिदै अधिनायकवादी अभिष्ट पुरा हुन नदिने चेतावनी दिएका थिए ।
तनहुँमा पक्राउ परेका पौडेल रिहा भैसकेका छन् । तनहुको व्यास १ र ११ जोड्ने पक्की पुल उद्घाटन कार्यक्रममा नेता पौडेलसँगै प्रहरीले तनहुँ जिल्ला कार्यबाहक सभापति जितप्रकाश आलेलाई पनि हिरासतमा लिएको थियो । व्यास नगरपालिकाले उक्त पुल बुधबार दिउँसो १ बजे वरिष्ठ नेता पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम राखेको र नेकपा निकट राष्ट्रिय युवा संघले रोक्नुपर्ने भनेपछि पुल उद्घाटनमा विवाद भएको थियो । विवादका कारण घटना निम्तिएको प्रशासनले जनाएको छ । गण्डकी प्रदेश प्रहरी प्रवक्ता डीएसपी राजेन्द्रबाबु रेग्मीले नेता पौडेललाई हिरासतमा लिइएको नभई सुरक्षाका लागि उनलाई प्रहरी कार्यालयमा राखिएको बताएका छन् ।