News Portal

  • विश्वकर्मा भए सर्वोत्कृष्ट

    भक्तपुरपोस्ट संवाददाता काठमाडाैं १४ फागुन २०७७
    ६९९ पटक
    काठमाडाैं १४ फागुन २०७७

    जूनको उज्यालोमा अडिएको समय
    ——————————————-

    जमिन खनेर घाम निकाल्नेहरूकै
    आँखाबाट नुनिलो उखु-रस चुहिने समय हो यो

    यो समय
    एउटा घाम हरबिहान टेबुलमुनीबाट उदाउछ
    र हररात बेहोससँग डुब्छ वाईनको बोतलभित्र

    अस्पतालको शैय्याहरूमा छिर्छ-पुच्छरसहितको घाम
    र त्रसित रहन्छन् मस्तिष्कहरू-सम्भावित दुर्घटनाको भयमा

    घामको पाइला , जब पर्छ सडकमा
    कैयौँ बाटाहरू क्षतबिक्षत हुन्छन् जीवनको लयबाट

    घाम जब आफैँ ‘ग्रान्ड डिजाइन’ गर्छ-हवाई’जहाजमा उडाउने
    हजारौँ आकाशको हृदयभरि उड्छ कालो बादल

    जब घामले ठान्छ-दुरसंचारबाट जोडिने तपाईंको मुटुमा
    र फुलाउने ओठभरि मुस्कान
    अबरुद्ध हुन्छ अर्थतन्त्रको गला !

    हिँड्दै गरेको बाटोमा पनि मुस्कुराउँदै आउन सक्छ घाम
    र अपदस्त गर्न सक्छ तपाईंको ओठबाट मुस्कान ,
    तपाईंका पाइला पाइलामा जासुसी गर्दै
    घुस्न सक्छ बिजुलीको मिटरमा ,
    चोटा,
    कोठा,
    स्टोर रूममा ,
    तपाईंको पूजाकोठाको भगवान् घामकै एजेन्ट हो
    टेलिभिजन च्यानलको रिमोटमा उसकै उपनिवेश चल्छ
    याद छ तपाईंकै अनुहार पनि
    हरबिहान पग्लिएर खस्छ धाराको नलबाट

    पाठशाला हिँडेका कलिला घामहरू
    पाइलापाइलामा ठोक्किन्छन्-घामहरूको यस्तो रक्तहिन अनुहारसँग
    र पढ्छन्-आयातित ‘दिव्योपदेश’मा पृथ्वीनारायण शाह !

    ओ ! गणतन्त्र ,
    हरबिहान टेबुलमुनीबाट उदाउँछ तिम्रो घाम
    र हररात बेहोस बेहोससँग अस्ताउँछ वाइनको बोतलभित्र !

    जूनहरू धमिलो उज्यालो च्याप्दै
    छातीबाट निस्किएको लम्बेतान बाटो हेर्छन्
    सपना भत्किन्छ र अाैँशी आउँछ
    छातीबाट खस्छ उज्यालो र जीवन मुस्कुराउँछ

    थाहा छैन जूनको छातीबाट खसेको उज्यालोले
    कतिन्जेल देखिन्छ युगको अनुहार !?
    —————————————

    हेम सरिता पाठक फाउन्डेसनले आयोजना गरेको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा रौतहट निवासी कवि मनोज विश्वकर्मा प्रथम भएका छन् ।

    समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस, अमेरिका)ले स्थापना गरेको सो पुरस्कारमा एक हजार अमेरिकी डलर राशीसहित सम्मानपत्र रहेको छ ।

    प्रतियोगिताका लागि प्राप्त कविताहरुमध्ये पहिलो चरणमा उत्कृष्ट पच्चीस कविताहरु सार्वजनिक गरिएको र ती कविताहरुको जुम माध्यमबाट प्रत्यक्ष वाचन पनि गराइएको थियो । सो प्रतियोगिताको लागि डा. रामप्रसाद ज्ञवाली, स्नेह सायमि र गीता त्रिपाठी रहेको तीन सदस्यीय निर्णायक समिति बनाइएको र सो समितिले गरेको सिफारिसका आधारमा निर्णय घोषणा गरिएको हो ।

    उत्कृष्ट २५ कविमा मनोज विश्वकर्मा, जितेन्द्र बस्नेत, संगीता पोखरेल, पिटर कुवर, प्रकाश आचार्य, जीवन आरोही, सानु खनाल, दिलीप कुवर, जनक रसिक,  दीप पाण्डे,  प्रज्वल अधिकारी,  निरज दहाल,  टीएन भट्ट “विश्वामित्र”,  रमा अधिकारी कादम्बरी, सुरज पराजुली, सुष्मा तिमल्सिना,  सन्तोष लामिछाने,  दिपेन्द्र अरुण, केशवराज ज्ञवाली, मोहित जोशी,  सोमनाथ दहाल, नवराज अधिकारी,  नारायण अधिकारी,  सुवास शर्मा र भीष्मप्रसाद भट्टराई रहेका हेम सरिता पाठक फाउन्डेसनले जनाएकाे छ ।

    काठमाडौंमा कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने र उत्कृष्ट पच्चीस कविताको पुस्तक प्रकाशन पनि गरिने बताइएकाे छ । यसैगरी एक हजार अमेरिकी डलर राशीको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय गीत प्रतियोगिताको लागि अन्तिम मिति २०७७ फागुन १५ गतेसम्म तोकिएको छ ।

    प्रतिकृया दिनुहोस्

    इवामुरा अस्पतालको लापरवाहीले गयो ज्यान, घटना गुपचुप

    भक्तपुर-१ स्थित डा इवामुरा स्मृती अस्पतालको लापरवाहीले फेरिपनि एकजनाको ज्यान गएको तथ्य बाहिर आएको छ...

    भक्तपुर आएर पूर्व अर्थमन्त्री पुनले भने, ‘नेताहरु शिशाको घरमा छन्’

    पूर्व अर्थमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले राजनीतिक दलका नेताहरु शिशाको घरमा रहेका...

    भक्तपुर जिल्ला अदालतका ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट

    भक्तपुर जिल्ला अदालतमा एक वर्षमा ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट गरिएको बताइएको छ...

    एसईईमा राम्रो नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई एनप्याब्सन भक्तपुरको अभिनन्दन

    नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट यस वर्षको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसईई) मा सम्मिलित...

    प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित...