News Portal

  • खेल खेलको निम्ति मात्र नभई देशको सार्वभौमिकता रक्षाको निम्ति खेल्नुपर्छ – अध्यक्ष विजुक्छे

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ फागुन २०७७
    ८१४ पटक
    भक्तपुर, २९ फागुन २०७७

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले राजनीतिक कार्यकर्तामा नागरिक भावनाको कमी भएको बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको शनिबार उद्घाटन गर्दै अध्यक्ष विजुक्छेले शासक दलहरुका कारण राजनीतिक कार्यकर्तामा नागरिक भावनाको भएको बताएका हुन् ।

    उक्त अवसरमा अध्यक्ष विजुक्छेले बुद्धिचाल खेल पनि एकप्रकारको लडाईं भएको बताउदै राजनीतिक कार्यकर्ताको उद्देश्य र व्यवहारमा भिन्नता देखिएको बताए भने भक्तपुर नगरपालिकाद्वारा विद्यालयस्तरमा लागू गरेको स्थानीय पाठ्यक्रममा नागरिक भावना र देशभक्तिपूर्ण पाठहरु समावेश गर्नुपर्ने सुझाव दिए ।

    खेलाडीहरुले खेलकुदको माध्यमबाट देशलाई चिनाउने अवसरको रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिदै  अध्यक्ष विजुक्छेले बुद्धिचाल खेल बौद्धिक खेल भएकाले खेलाडीहरुको मानसिक विकासमा समेत टेवा पुर्‍याउने बताए । खेलकुद मित्रताको लागि खेलिनुपर्ने र शारीरिक स्वस्थताको निम्ति खेल अपरिहार्य रहेको उनकाे धारणा छ ।

    भक्तपुर नगरपालिकाले आयोजना गरेको नगरस्तरीय र विद्यालयस्तरीय खेलकुद प्रतियोगितालाई खेलकुद महोत्सवको रुपमा व्याख्या गर्दै अध्यक्ष विजुक्छेले खेलाडीहरुलाई आत्मकेन्द्रित भई खेल–खेलको निम्ति मात्र नभई देशको सार्वभौमिकता रक्षाको निम्ति खेल्नुपर्नेमा जाेड दिए ।

    कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर  नगर चार दिनसम्म खेलकुदमय हुने बताए । उनले प्रतियोगिता व्यवस्थित र अनुशासित ढंगले सम्पन्न हुनेमा आफू आशावादी रहेको बताउँदै भक्तपुर नपाले प्रतिकूल अवस्थालाई अनुकूलतामा परिणत गरी अन्तर नगर बुद्धिचाल प्रतियोगिता सञ्चालन गर्न लागिरहेको बताए ।

     

    कार्यक्रममा बागमती प्रदेशका सभासद सुरेन्द्रराज गोसाईले युवा विद्यार्थीले देशको राजनीतिलाई अलग्ग राख्न नहुने बताउदै देशमा अहिले शासक दलका नेताहरुमा नैतिकताको चरम अभाव रहेको आराेप लगाए । उनले खेलाडीहरुलाई मित्रवत् एवं अनुशासित ढंगले खेलमा सहभागी हुन प्रोत्साहित समेत गरेका थिए ।

    भनपाका उपप्रमुख रजनी जोशीले  खेलकुद प्रतियोगिता हारजीत भन्दा पनि भाइचारा र सहिष्णुताको लागि खेलिनुपर्ने बताइन् ।

    कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां,नेपाल बुद्धिचाल संघका अध्यक्ष एकलाल श्रेष्ठ, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापा, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठ, घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजा, भनपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ लगायतले  यस्ताखाले प्रतियाेगिताले व्यक्तित्व विकासमा तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न मद्दत पु¥याउने बताए ।

     

    उक्त अवसरमा रेफ्रीको तर्फबाट निरन्जन प्रजापति र खेलाडीको तर्फबाट सुमन सुवालले खेललाई अनुशासित र निष्पक्ष ढंगले सञ्चालन गर्ने प्रतिबद्धता सहित सपथ ग्रहण गरेका थिए ।

    अन्तर नगर खेलकुद प्रतियोगिताको उद्घाटन र्‍याली भक्तपुर नगरपालिका वडा नं. १ वडा कार्यालय अगाडिबाट शुरु भई भार्वाचो, वंशागोपाल, नासमना, टौमढी, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रय, सूर्यमढी, च्याम्हासिंह हुँदै माहेश्वरी बैंक्वेटमा सभास्थलसम्म पुगी टुंगिएको थियो ।

    र्‍यालीमा मूल ब्यानर सहित जनप्रतिनिधिहरु, पूर्व जनप्रनिधिहरु, प्लेकार्डसहित सहभागी नगरपालिकाका पदाधिकारी तथा खेलाडीहरु, भनपाका प्रशिक्षार्थीहरु, महिला स्वास्थ्य स्वयम्सेविकाहरु, आत्मरक्षाका प्रशिक्षक, बक्सिड्डका प्रशिक्षक र प्रशिक्षार्थीहरु, विभिन्न बाजा समूहहरु तथा भनपाका कर्मचारीहरुको सहभागिता रहेको थियो । अन्तरनगर बुद्धिचाल प्रतियोगितामा २२ वटा नगरपालिकाहरुको सहभागिता रहेको छ । फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुने अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको शनिबार उद्घाटन भएकाे हाे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...