मेरो घरको तीन जनाको परिवारमा छोरा बाहेक बुढाबुढी दुबैलाई कोरोना भाइरस संक्रमण पुष्टि भयो । त्यही दिन दुबैजना सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा कार्यरत डाक्टरको रवि भवनस्थित फ्लू क्लिनिकमा जचाँँउन पुगें । डाक्टरले अस्पतालमा बेड नभएकोले घरमै बसी उपचार गर्नुपर्ने र आपतकालीन स्थितिको लागि अक्सिजनको व्यवस्था समेत गर्ने सल्लाह सहित आवश्यक औषधी र सुझाव दिई पठाए ।
चौथो दिन श्रीमतिलाई साह्रै भयो । डाक्टरलाई सम्पर्क गर्ने अनेकौं प्रयास बाबजुद पनि संभव भएन । एकजना आफन्तले चाबहिल मित्रपार्कस्थित एउटा निजी अस्पतालमा बेड खालि छ भनी जानकारी दिएपछि बिहानै श्रीमतिलाई आफैंले गाडीमा राखेर अस्पताल तिर लागें । तर अस्पतालमा बिरामी मात्र रहेछ चिकित्सक कोही रहेनछ । त्यहाँबाट रविभवनस्थित पहिलेकै डाक्टरको क्लिनिकतिर लागें । भाग्यवस डाक्टर रहेछन् तर, विरामीको भीड लामै रहेछ । एक डेढ घण्टा कुरेपछि बल्ल आफ्नो पालो आयो । औषधि चालुनै छ, नआतिनु ठीक हुन्छ भनी डाक्टरले घर फर्काइ दिए ।
घरमा पुगुन्जेल एक दिन अघि भतिजाले ल्याईदिएको एउटा अक्सिजन पनि सकिएको रहेछ । मलाई पनि विस्तारै च्यापिएर ल्याईसकेको थियो, अक्सिजन भर्न जाने आंट आएन । कहिल्यै यस्तो घरायसी काममा नपरेको छोराले म लिएर आउंछु भनी गाडीमा खाली सिलिन्डर राखेर दौड्यो । घरमा संक्रमित दुईजना छन् सिलिण्डर एउटैमात्र साह्रै समस्या पर्यो । तै भोलिपल्ट एकजना आफन्तले थप एउटा सिलिण्डरको जोहो गरिदियो । तर सानो सिलिण्डर भएको हुँदा छ सात घण्टामै सकिने । छोरा अक्सिजनको लाइनमा बस्दाबस्दा हैरान । राती समेत अक्सिजनको लाईनमा बस्न जानुपर्ने ।
दशौं दिनमा मलाई झन साह्रो हुन थाल्यो । खाएको औषधीले असर गर्न छोडेको थियो । अक्सिजन दिँदादिँदै पनि बढ्न सकेको थिएन । म उच्च रक्तचापको विरामी ब्लड प्रेशर घटेर न्यूनत्तम बिन्दुमा पुगिरहेको छ, नाडी अत्यधिक गतिले बढ्दैछ । लाग्यो मलाई तुरुन्तै स्टेर्वाइड या रेम्डेसिभिर दिनु पर्दछ । आफ्नो डाक्टरले रेस्पोण्ड नै गरेनन् । के गर्ने, कहां जाने कसलाई सोध्ने । साह्रै आत्तिए । यत्तिकैमा अक्सिजन लेभल ८० भन्दा कम भएर झण्डै बेहोस हुन पुगेँ । यसरी भएन भनी अफिस गएको छोरालाई बोलाए । गाडीमै अक्सिजन राखेर छोरासंगै अस्पताल चाहर्न थालें । सबै अस्पतालहरुमा इमर्जेन्सिमा छतपतिएका विरामीहरुले भरिभराउ । टेक्ने ठाउँ थिएन, बेड खालि हुनेत कुरै थिएन । यतिकैमा चाबहिल मित्रपार्कस्थित पहिले श्रीमतिलाई लिएर गएको त्यहि निजी अस्पतालमा एउटा कोठा खाली भएको जानकारी आए पछि गाडी उतैतिरै लगियो । कोठा खालि भईसकेको रहेनछ । इमरजेन्सिको बेडमा सुताउन लगियो । त्यहांको अवस्था देखेर मनै मानेन । बिरामीहरुको लगातारको खोकी, आया र आथा सहितको चित्कारले बरु आफ्नै गाडी भित्र अक्सिजन लिएर बस्छु भनी फर्कें । लगातार दुई घण्टा गाडी भित्रै अक्सिजन लिएर बसे पछि बल्ल कोठा खालि भएको जानकारी आयो ।
अस्पतालको क्यावीन कोठा भित्र पुगेपछि उपचार सुरु होला भन्ठानेको थिएँ तर कहाँ हुनु सबै डाक्टर नर्सहरु आइसियुमा व्यस्त छन् रे भनी त्यही अक्सिजन चढाउनु बाहेक केही गरिएन । तीन घण्टा पछि बल्ल डाक्टर नर्सहरु आए । एन्टीबायोटिक इन्जेक्सन दिए, रगत जचाउन पठाए, छातिको एक्सरे लिए । म चाहन्थें मलाई तुरुन्तै स्टेर्वाईड देओस् तर दिइएन । रातभरी खोकीले सुत्नै सकिंन । मलाई लाग्यो मेरो अन्तिम क्षणहरु नजिकिंदैछ त्यसैले रातिनै अमेरिका बस्ने आफ्नो छोरीलाई सम्पर्क गरी आफ्ना जरुरी घरायसी कुराहरु जानकारी दिएं । केही घरायसी कुराहरुबारे छोरालाई भाईबर मार्फत मेसेज गरें ।
भोलिपल्ट बिहानै देखि मर्नै परे घरैमा गएर मर्छु भनी हस्पिटल डाईरेक्टरलाई फोन गरेर डिस्चार्ज गरिदिन भनी कराउन थालें । मध्यान्ह बाह्र बजे सम्ममा एक्सरे र रगतको रिपोर्ट आईसकेको रहेछ । डाक्टर र नर्सहरु आई ढाडस दिन थाले । सायद नसाबाट स्टेर्वाइड पनि दिए क्यारे । डिस्चार्ज गरिदिन डाक्टरहरुलाई बिन्तिभाव, अनुनय बिनय पनि गरें । डाक्टरले माने, डिस्चार्ज गरिदियो । काठमाडौंको एउटा सामान्य होटल लजमा हजार रुपैंया नपर्ने अटाय्च्ड बाठरुम समेत नभएको कोठाको लागि औषधि लगायत भनेर भन्डै रु पचास हजार तिरायो ।
छोरा अक्सिजन सिलिण्डर सहित गाडी लिएर अस्पताल आईपुगे । अस्पतालको सबै प्रक्रिया सकिएर घर फर्किन गाडीमा बसी अक्सिजन लगाएको थिए तर अक्सिजन चुहिएर खाली भईसकेको रहेछ । त्यही हतारमा डाक्टरले लेखिदिएको औषधी नलिईकनै घर फर्कियौ । घर बाहिरै मलाई ड्र्प गरी छोरा अक्सिजन भर्न बालाजुमा लाईन बस्न हिंडे । घर भित्र पस्नासाथ श्रीमतिको अक्सिजन थुतेर लगाएं । अचानक छाति पोलेर फुट्ला जस्तै भयो । खोकिको रफ्तार बढ्न थाल्यो । औषधि ल्याईदिने छोरा अक्सिजनको लाईनमा छ । यहि अन्यौलमा म देखि करीब एक किलोमिटर टाढा बस्ने मेरा अग्रज तथा मित्र हरिभक्त श्रेष्ठलाई औषधि ल्याई दिन अनुरोध गरें । वहांले भोलि ल्याई दिने कुरा गरे । अरे बाबा म अहिले मर्दैछु तपाई भोलि औषधि ल्याई दिने भनेपछि वहांलाई स्थितिको गांभिर्यता महशुस भएछ । प्रेश्ििक्रप्सनको फोटो खिचेर पठाउन भने । वहां तुरुन्तै मोटरसाइकलमा दौडि घर सम्म औषधि पुर्यादिनु भयो । यसवीच म आतिएर म देखि अढाई किलोमिटर टाढा बस्ने मित्र रतिश सुमनलाई पनि सहयोगको लागि फोन गरें । वहांले पनि आतिनु पर्दैन जसरी पनि औषधि पुग्छ भनी ढाडस दिए । यी घटनाहरु संक्रमण पुष्टि भएको एघारौं दिनको थियो । सांझ सम्ममा अक्सिजन सिलिण्डर भरेर छोरा आई पुगे । तर, सानो सिलिण्डर छ सात घण्टा मै सकिने । छोरा पनि हैरान थिए । यसैवीच भोलिपल्ट मित्र अच्यूत हाडाले एउटा अक्सिजन कन्सेन्ट्रेटर उपलव्ध गराई दिए पछि ठूलो राहत मिल्यो ।
हस्पिटलबाट घर फर्के पछि मित्र प्रभा बैद्यकि बहिनी सुमेरु अस्पतालका कन्सल्टायण्ट कार्डियोलजिष्ट डा रमनी बैद्यसंग भाइबर मार्फत निरन्तर सम्पर्कमा रहें । वहांले मेरो हरेक जिज्ञासा, अन्यौल र शंका निबारण गरी निरन्तर रुपमा गाइड गर्दै मनोबल बढाउंदै लगें । औषधि पनि आवश्यकता अनुसार थप घट गर्दै लगे । बिसौं दिनमा हाम्रो पिसिआर नेगेटीभ आएको छ । भाईरसले किड्नी तथा लिभरमा नराम्रो असर गर्न पाएको रहेनछ । तर भाइरसको असरको कारण इन्फेक्सन तथा इन्फ्लेमेशनको लेभल उच्च नै रहेछ । जेहोस् डा। रमनीले सबै ठीक हुंदै जान्छ, नआतिनु भनी ढाडस दिएकोछ ।
म तुलनात्मक रुपमा नेपालको एक साधन सम्पन्न र शिक्षित नागरिक । मैले त यस्तो हैरानी व्यहोर्नु पर्यो भने अरु सर्बसाधारण गरीब अशिक्षित जनताले कति दुःख भोगि रहेका होलान् । स्थानीय निकाय, सरकारी संयन्त्र त असफल भए तर रेडक्रस, लायन, रोटरी, जेसिज् जस्ता सामाजिक संस्था भनाउंदाहरु पनि कहां हराए । कोरोनाको विरामीलाई अस्पताल नै भर्ना गर्नुपर्छ भन्ने लाग्दैन तर उसलाई चिकित्सकले निरन्तर रुपमा सल्लाह सुझाव दिई मनोबल बढाई राख्ने हो भने कोरोना सहझ रुपमा जित्न सकिन्छ तर जब उपचार गर्ने चिकित्सले नै उसलाई जवाफ दिंदैन, वास्ता गर्दैन भने विरामी आत्तिनु स्वाभाविक हुन्छ । विरामी धेरै भएको कारण डाक्टरहरुको पनि आफ्नै बाध्यता होलान् ।
मास्टर्स डिग्रिको लागि छोरा बिदेश नगएकोमा म छोरा देखि असन्तुष्ट थिएं । तर आज लाग्यो म भन्दा त छोरा पो बुध्दिमान रहेछ । सम्पूणर् रुपमा समर्पित भएर छोराले हामी बाबु आमाको सेवा गरे । मैले चाहे झैं छोरा बिदेश गएको भए हाम्रो के गति हुन्थ्यो होला । जे होस् भगवानले जे गर्छ ठीकै गर्दो रहेछ ।
कठीन समयमा मलाई मन बचन कर्मले साथ र सहयोग गर्ने चार जना व्यक्ति प्रति म धेरै आभार छु । मेरो भतिजा अशोक मानन्धर जसले आफू लगायत आफ्नो चार जनाको परिवार सबै संक्रमित हुंदा हुंदै पनि आपतको बेला समयमै अक्सिजन सिलिण्डर घर सम्म पुर्याईदिए साथै नियमित रुपमा मेरो स्वास्थ्य बारे सचेत गराईरहे । अर्को हुनुहुन्छ मेरो ज्वाई प्राइम बैंकका जीएम संजीब मानन्धर जसले नियमित रुपमा मेरो मनोबल बढाईराखे, त्यस्तो कठीन समयमा एउटा अक्सिजन घरसम्म पठाई दिए साथैे बेड नपाएर छतपतिएका हामीलाई जसरी भए पनि हस्पिटल बेड मिलाउन आश्वस्त पार्दै रहे आखिर वहाँले गर्दा नै अस्पताल बेडको इन्तजाम हुन सकेको थियो । अरु दुई जना मेरो सालो साहबहरु बिजय मानन्धर र प्रदीप मानन्धर । उनीहरु दुबै पूर्व सक्रमित भएको हुँदा मलाई निरन्तर सल्लाह मात्र दिएन पालैपालोसंग दाल तरकारी पठाई छोरालाई सहयोग समेत गरे । यसबाहेक संक्रमित अर्को ज्वाईं नरेश मानन्धरको सल्लाह र सुझाव पनि उपयोगी रह्यो । वहाँहरु सबैलाई भित्री हृदय देखि धन्यवाद ।
(त्रिरत्न मानन्धर नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक हुन्)