भक्तपुर, २३ असार २०७९ नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा प्रभाकरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को मुद्दा ओझेलमा पार्न आफूमाथि आक्रमण गरेको प्रतिक्रिया दिएका छन् ।
एसपीपीमा सहभागी हुन पत्राचार गरेको विषयमा एमाले नेतृत्वको सरकार दोषी देखिएको भन्दै शर्माले त्यही मुद्दालाई ओझेल पार्न आफूमाथि आक्रमण भएको बताएका हुन् ।
बिहीबार केन्द्रीय समिति बैठकमा बोल्दै शर्माले भने, ‘एसपीपीमा राष्ट्रघात भएको मुद्दा ओझेल पार्न पार्टीमाथि आक्रमणको प्रयास भएको हो हो र यसको प्रतिवाद गर्न आवश्यक रहेको छ ।’
शर्माले बुधबार संसदमा अर्थमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए । आफूमाथि प्रश्न उठेको भन्दै नैतिकतामा आधारमा राजिनामा दिएपछि राजनीतिक वृत्तमा यस विषयले चर्चा पाएको छ । छानविनबाट निर्दोष सावित भएमा उनले राजनीतिक उचाइ त प्राप्त गर्ने नै छन् उनको राजीनामा धेरैलाई पाठ हुनसक्ने विश्लेषण गरिएको छ ।