काठमाडौँ महानगरपालिकाले भोलिदेखि फोहोर सङ्कलन गर्ने भएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालका अनुसार आज जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने र भोलिदेखि फोहोर उठाउन सुरु गरिने भएको हो।
नगरबासीहरुलाई भोलि १२ गते बिहीबार बिहान ६ बजेदेखि आफ्नो पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्याउन अनुरोध गरिएको छ । महानगरले घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोधसमेत गरेको थियो।
फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै महानगरले ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिलसमेत गरेको थियो । अब भोलिबाट फोहोर उठाउने र ढुवानी गर्ने काम सुरु हुने महानगरले जानकारी दिएको छ।