News Portal

  • रेडपान्डाको वासस्थान संकटमा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १४ मंसिर २०७९
    २८८ पटक
    भक्तपुर, १४ मंसिर २०७९

    मंगलबार दिउँसो जाजरकोट कुशे गाउँपालिका–९ पैङ्क गाउँमा रेडपान्डा भेटियो । स्थानीयवासीको सहयोगमा सो रेडपान्डा प्रहरीलाई जिम्मा लगाइयो । प्रहरी चौकी पैङ्कलाई जिम्मा लगाएको रेडपान्डा केही समयमै मृत्यु भएको खबर सार्वजनिक भयो ।

    बाटोमै रेडपान्डा मरेपछि जिउँदो बुझाउने प्रयास असफल भएको जाजरकोटका प्रहरी प्रमुख सन्तोष निरौलाले जानकारी दिए । बाक्लो निगालो हुने ठाउँबाट रेडपान्डा गाउँमा पसेपछि उद्धार गरिए पनि जिउँदो रेडपान्डालाई सुरक्षित स्थानमा लिएर छाड्ने प्रयास असफल भएको हो ।

    यसरी महिनापिच्छे लेकबाट गाउँमा रेडपान्डा पसे पनि रेडपान्डाका बारेमा गाउँले लाई जानकारी नहुँदा कुकुरको सिकार हुने गरेको बारेकोट गाउँपालिका-५ का जनकबहादुर शाहीले जानकारी दिए ।

    उनले भने, ‘बारेकोटका पाटन क्षेत्रमा आगलागीबाट सबैभन्दा धेरै रेडपान्डा मारिएको पाइन्छ । लाटो जनावर भएकाले भाग्ने थाहा नपाउँदा मर्ने र मारिने गरेको छ । वर्षायाममा भैँसी, भेडासँग पाटन क्षेत्रमा लिइएका कुकुरले सबैभन्दा बढी रेडपान्डाको सिकार गर्ने गरेका छन् ।’

    त्यस्तै पाटन क्षेत्रमा जडीबुटी सङ्कलकर्ताले समेत रेडपान्डा मर्ने गरेका पाइएको छ । हिउँदयाममा सिकार गरिएको रेडपान्डाको अवशेषहरु जङ्गलभरि भेटिने गरेको स्थानीयवासी शाहीले बताए ।

    जिल्ला प्रहरी कार्यालयले मात्र अघिल्लो आर्थिक वर्षमा पाँच रेडपान्डाका मुद्दा चलाएको प्रहरीको तथ्याङ्कमा उल्लेख रहेको छ । जानकारी आएका मात्र ती घटनाहरु रहेका छन् । अन्य जानकारी नपाएका चोरी, पैठारीका भारी घटना भए पनि गाउँघरमै मिल्ने गरेका छन् ।

    जाजरकोटमा बारेकोट, कुशे गाउँपालिका र नलगाड नगरपालिकामा रेडपान्डा पाइने गर्दछ । डोल्पाको मुड्केचुला र जुम्लाको पातारासी र सिञ्जा गाउँपालिकामा रेडपान्डा पाइने गर्दछ ।

    गाउँगाउँमा रेडपान्डासम्बन्धी सचेतना नपुगेको बताइएको छ । विभिन्न सङ्घ, संस्थाले रेडपान्डासम्बन्धी कार्यक्रम गरे पनि ती सबै प्रभावकारी नदेखिएको सरोकारवालको दाबी रहेको छ ।

    बर्सेनि रेडपान्डासम्बन्धी सदरमुकाममा निश्चित व्यक्तिको सहभागितामा कार्यक्रम हुने गरेका छन् । गाउँमा रेडपान्डासम्बन्धी क्लब गठन गरेको सदरमुकाममा प्रचार गरिए पनि त्यो समितिले आफूले गर्ने कामको विषयमा जानकार नै नभएको पाइएको छ ।

    त्यस्तै डोल्पाको मुड्केचुला गाउँपालिकाको पाटन क्षेत्रमा समेत रेडपान्डा पाइने गरेको छ । गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीका अनुसार रेडपान्डा संरक्षणका लागि पालिकाले विशेष महत्व दिएर काम गरिरहेको छ । डिभिजन वन कार्यालयको सहकार्यमा पालिकाले आफैँले पनि धेरै प्रचार र संरक्षणका काम गरेको अध्यक्ष शाहीले जानकारी दिएका छन् ।

    डिभिजन वन कार्यालयका कर्मचारीहरु फिल्डमा कम खटिने जनाइएको छ । कुशेको दुई र बारेकोटको चार सामुदायिक वन समूहसँग सहकार्य गरेर रेडपान्डा संरक्षणसम्बन्धी कार्यक्रम गरिरहेको रेडपान्डा नेटवर्कका भूपलाल खत्रीले बताए ।

    दुर्लभ वन्यजन्तु रेडपान्डाको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । बासस्थान विनाश, खण्डीकरण, चोरी सिकारीका कारण संरक्षित क्षेत्रमै सङ्ख्या कम हुनु यसका प्रमुख चुनौती हुन् । रेडपान्डा संरक्षणमा स्थानीय सरकार जागरुक नहुनुले पनि अर्को समस्य थपिएको छ । रेडपान्डाको संरक्षण र चोरी सिकारीमा स्थानीय सरकारले नीतिगत व्यवस्था गर्नुपर्नेमा नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।

    लजालु स्वभावको वन्यजन्तु रेडपान्डाको बासस्थान भनेको निगालोको जङ्गल नै भएकाले त्यसको संरक्षण गरिनुपर्ने उनको भनाइ छ । वन क्षेत्रमा हुने आगलागी, गाईवस्तु चरिचरन, बढ्दो मानवीय गतिविधिले रेडपान्डाको संरक्षण चुनौतीपूर्ण देखिएको उनले बताए ।

    उच्च पहाडी क्षेत्रका वन क्षेत्रमा पाइने रेडपान्डाको आयु आठदेखि १० वर्षसम्म हुन्छ । पुस र फागुनमा भाले लाग्ने र जेठदेखि साउनसम्म गर्भाधान हुने महिनाका रुपमा लिइन्छ । रेडपान्डालाई पर्यटन प्रवर्द्धन गर्न र अध्ययन अनुसन्धान गर्न महत्वपूर्ण वन्यजन्तु मानिँदै आएको छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा पाँचदेखि १५ वर्ष कैद, पाँचदेखि १० लाख रुपैयाँ वा दुवै सजाय हुने प्रावधान रहेको छ ।

    रेड पाण्डाको सहवास समय र सन्तान जन्माउने समयमा रेडपान्डाको बासस्थानमा स्थानीयलाई जान नदिने, चरिचरण गर्न नदिने, कुकुर लिन नदिने गरेमा यसको संरक्षण हुने जानकारको भनाइ छ ।

    रेडपान्डाको बासस्थान विनाश नगराई सामुदायिक वनहरुलाई रेडपान्डा संरक्षणमैत्री गतिविधि सञ्चालन गराएमा प्रभावकारी हुने अपेक्षा स्थानीयले लिएका छन् । समुन्द्र सतहबाट झन्डै तीन हजार ६ सय मिटर उचाइमा रेडपान्डा बढी पाइन्छ । विश्वकै दुर्लभ वन्यजन्तु रेडपान्डा बासस्थान र आहारा सङ्कटमा पर्दै गएको छ ।

    निगालोको टुसा र पात रेडपान्डाको मुख्य आहारा हो । रातो हाब्रेको नामले चिनिने रेड पाण्डाको वासस्थान विनाश, चोरी सिकारीका घटना लगायतका कारण संरक्षणमा कठिनाइ थपिँदै गएको हो ।रासस

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...