News Portal

  • सीडीओ सरुवामा नयाँ प्रावधान, अब पहुँच र भनसुनलाई ‘बाईबाई’

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ माघ २०७९
    ३०९ पटक
     भक्तपुर, ५ माघ २०७९

    गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवासम्बन्धी कार्यविधि जारी गर्दै व्यवस्थित र वैज्ञानिक मापदण्ड बनाएको छ । अब सीडीओ बन्न कार्यसम्पादन राम्रो भएको र ९० प्रतिशत अंक काटेको हुनुपर्ने छ ।

    मापदण्डअनुसार आइन्दा कार्यसम्पादनमा ९० प्रतिशतभन्दा कम अंक ल्याउने कर्मचारी सीडीओ हुन पाउने छैन । यसअघि पहुँच र भनसुनका आधारमा जोसुकै कर्मचारी ‘सीडीओ’ बन्ने अवस्था थियो । अब त्यस्तो गलत पद्धति अन्त्य गर्नेगरी कार्यविधि जारी गरिएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने गृहमन्त्रीका रूपमा आएपछि गृह प्रशासनमा सुधार अभियानस्वरूप कार्यविधि जारी गरिएको हो । कार्यविधि जारी भएसँगै ‘पहुँच र सोर्सफोर्स’का आधारमा सीडीओ सरुवा गरिने ‘गलत परम्परा’ अन्त्य हुने विश्वास गरिएको छ ।

    ‘प्रमुख जिल्ला अधिकारी पदस्थापन, सरुवा वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि २०७९’अनुसार कार्यसम्पादन सम्झौतामा ९० प्रतिशत कम अंक ल्याएर अन्तिम ३ मा रहेका तीन सीडीओलाई अर्को जिल्लाको जिम्मेवारी नदिने व्यवस्था गरिएको छ ।

    यसैगरी, उपसचिव सीडीओ हुनका लागि आफ्नो पदमा न्यूनतम पाँच वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ । एउटा प्रदेशमा एक वर्ष काम गरेकालाई पुनः सोही प्रदेशमा नखटाउने व्यवस्था कार्यविधिमा गरिएको छ । काठमाडौं जिल्लाको सीडीओ भने ‘ख’ र ‘ग’ जिल्ला चलाएकाले मात्रै पाउने भएका छन् । यो प्रावधानसँगै उच्च ‘सोर्सफोर्स’का आधारमा एकैपटक काठमाडौंमा सीडीओ हुने प्रवृत्ति अन्त्य भएको छ ।

    उच्चअधिकारीले आफ्नो गृहजिल्लामा समेत सीडीओ हुन नपाउने भएका छन् । गृहबाहेक अन्य मन्त्रालयबाट आएका सहसचिव वा उपसचिवले गृहमा कम्तीमा एक वर्ष कार्य अनुभव भएपछि मात्रै सीडीओको जिम्मेवारी पाउनेछन् ।

    तर, मन्त्रालयको महाशाखा प्रमुख वा विभागमा महानिर्देशक भएर काम गरेकाले एक वर्ष कार्यसम्पादन गरेसँगै ‘क’वर्गको जिल्लामा सीडीओ हुन पाउने व्यवस्था कार्यविधिमा गरिएको छ । सीडीओ सरुवा गर्दा नेतृत्व र समन्वय क्षमता, सुरक्षा व्यवस्थापनसम्बन्धी ज्ञान, स्थानीयस्तर कार्यअनुभव, दक्षता र वरिष्ठता आधार बनाइने व्यवस्था गरिएको छ ।

    सीडीओ भएर गएकालाई एक वर्षभन्दा अघि अन्यत्र सरुवा गर्न पाइने छैन । अहिले भने गृहमन्त्री, सचिव तथा उच्च पदस्थको रुचिअनुसार नचल्ने सीडीओ जुनसुकै समय सरुवा हुँदै आएका छन् ।

    राजनीतिक परिस्थिति परिवर्तन हुनेबित्तिकै सीडीओ सरुवा प्रवृत्ति अन्त्य गर्न एक वर्ष नपुग्दै सरुवा गर्न नपाउने व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ ।

    यद्यपि, जिल्लामा शान्ति सुरक्षा अवस्था बिग्रिन गएमा, सीडीओ लामो समय कार्यालयमा अनुपस्थिति भएमा, स्वास्थ्यमा गम्भीर समस्या आएमा, विभागीय कारबाही सिफारिस भएमा र आचरणमा प्रश्न उठेको खण्डमा भने जुनसुकै समय सरुवा गर्न सकिने व्यवस्था कार्यविधिले गरेको छ । कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट तीन सीडीओले पुनः ‘क’वर्गमै सीडीओ बन्न पाउने व्यवस्था गरिएको छ ।

    पहुँचका आधारमा सीडीओ हुन नपाइने
    यसअघि पहुँचका आधारमा अन्य मन्त्रालय र कार्यालयबाट गृहमा आउनासाथ सीडीओ भएर जान सक्ने व्यवस्था कार्यविधिले अन्त्य गरिदिएको छ ।

    पहुँचका आधारमा जुन कुनै मन्त्रालयका सहसचिव र उपसचिव सीडीओ हुँदै आएका थिए । कानुन नपढेका र न्याय तथा कानुनसम्बन्धी तालिम नलिएका राजनीतिक पहुँचका आधारमा सीडीओमा सरुवा हुँदै आएका थिए । अब यो कार्यविधि आएपछि त्यस्ता सहसचिव र उपसचिवलाई सीडीओ बन्न रोक लाग्ने भएको छ ।

    गृह मन्त्रालयको नयाँ कार्यविधिमा पहिलोपटक ‘क, ख र ग’ गरी जिल्ला वर्गीकरण गरिएको छ । यसअघि निजामती सेवा नियमावलीअनुसार जिल्ला वर्गीकरण गरिएको थियो ।

    काठमाडौं, कास्की, कैलाली, चितवन, झापा, पर्सा, बाँके, मकवानपुर, मोरङ, रुपन्देही, ललितपुर र सुनसरी ‘क’वर्गमा राखिएका छन् । यी जिल्लामा सहसचिव प्रमुख जिल्ला अधिकारी हुनेछन् ।

    इलाम, उदयपुर, कञ्चनपुर, कपिलवस्तु, काभ्रेपलाञ्चोक, गोरखा, तनहुँ, दाङ, धनुषा, धादिङ, नवलपरासी पूर्व र पश्चिम, नुवाकोट, पाल्पा, बर्दिया, बारा, भक्तपुर, महोत्तरी, रौतहट, बाग्लुङ, सप्तरी, सर्लाही, स्याङ्जा, सिन्धुपाल्चोक, सिरहा, सिन्धुली र सुर्खेतलाई ‘ख’वर्गमा राखिएको छ ।

    त्यस्तै, ‘ग’वर्गमा अछाम, अर्घाखाँची, ओखलढुंगा, खोटाङ, गुल्मी, जाजरकोट, जुम्ला, डडेल्धुरा, डोटी, दैलेख, दोलखा, धनकुटा, पर्वत, पाँचथर, प्युठान, बैतडी, भोजपुर, रामेछाप, रोल्पा, लमुजङ, सल्यान र संखुवासभा राखिएको छ । राजधानी दैनिक

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...