News Portal

  • भएको तुइन भत्काइएपछि स्थानीयलाई सास्ती

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ माघ २०७९
    २१६ पटक
    भक्तपुर, २२ माघ २०७९

    ठेकेदारले काम जिम्मा लिएपछि सुरु गर्न कति समय लाग्ला ? एक–दुई साता वा महिना । तर, मकवानपुर हेटौंडा उपमहानगर मुटुमै रहेको पुलको म्याद सकिनै लाग्दासमेत ४ प्रतिशत काम पनि भएको छैन । अब म्याद सकिन चार महिना मात्रै बाँकी छ ।

    हेटौंडा उपमहानगर–१ लालझाडी र चौकीटोल जोड्ने पक्की पुल निर्माण गर्न दुई वर्षअघि ठेक्का दिइएको थियो । तर, काम भने हालसम्म एउटा खाल्डो खन्नुबाहेक केही भएको छैन । उपमहानगर–१ मा वर्षौंदेखि महाकालका रूपमा रहेको तुइन विस्थापित गरी पक्की पुल बनाउन सुरु गरिएको हो ।

    पक्की पुल निर्माण हुने भएपछि दंग स्थानीय समयमै बन्ने नदेखिएपछि आक्रोसित बनेका छन् । भएको तुइनसमेत हटाइँदा स्थानीय समस्या झेल्न बाध्य छन् ।

    उपमहानगर–१ स्थित लालझाडी र चौकीटोल जोड्ने पक्की पुल निर्माणका लागि बाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत भौतिक पूर्वाधार विकास कार्यालय, भरतपुर चितवनको निर्माण संस्था शिवशक्ति र सिद्धार्थ शिवम् जेभी मकवानपुरबीच ठेक्का सम्झौता भएको थियो ।

    १७ जेठ २०८० मा काम सम्पन्न गर्नेगरी १८ जेठ २०७३ मा ८ करोड ४७ लाख सम्झौता भएको हो । ठेकेदार कम्पनीले सम्झौतानुसारको झन्डै ४० लाख बजेट बुझिसकेको छ । तर, काम अघि बढ्न सकेको छैन ।

    २० महिना बितिसक्दा हालसम्म काम सुरुवातका नाममा एउटा खाल्डो मात्रै खनिएको छ । पुल निर्माण हुने भएपछि स्थानीयले छाड्नुपर्ने जमिन छाडिसकेका छन् ।

    ‘यहाँ छेउमा भएको घर, घट्ट हामीले हटाइसक्यौं, पुलमा जोडिने बाटो १५ मिटर क्लियर गर्न कुनै समस्या भएन,’ वडाध्यक्ष सविन न्यौपाने भन्छन्, ‘सबै स्थानीयले सहज वातावरणमा घर सारे, रोजीरोटी चल्दै आएका घट्ट झिके, बाटो विस्तार गर्न बिनामुआब्जा जग्गा छोडिदिएका छन् तर पनि पुल बन्न सकेन ।’

    पूर्वमुख्यमन्त्री डोरमणि पौड्याल, उपमहानगर हरिबहादुर महत र भौतिक पूर्वाधार मन्त्रालयका सचिवकै रोहबरमा छिट्टै निर्माण सक्ने लिखित सहमति भएको तर काम भने नभएको न्यौपानेको दाबी छ । ‘कागजी प्रक्रिया र सारा फलोअप भयो, अब हामी सडकमा गएर दबाब दिनुको विकल्प छैन,’ वडाध्यक्ष न्यौपाने भन्छन् ।

    स्थानीयरूपमा आइपर्ने समस्या समाधानका लागि पूर्णसहयोग र सहकार्य गर्ने प्रतिबद्धता भइसकेका बेला ठेकेदारले काम नगर्दा स्थानीयलाई आवतजावतमा समस्या भएको छ । ‘खोलामा जोखिमपूर्ण काठको पुल छ, कुनै पनि समय बालबालिका दुर्घटनामा पर्न सक्छन्,’ स्थानीय संघर्ष समिति अध्यक्ष विनोद पौडेलले भने । कानुनतः सम्झौता गरेर जिम्मेवारी दिएको कार्यसमेत नगरी नेपाल सरकारको कानुनलाई समेत मिचिएको र मनोमानी ढंगले कामप्रति हेलचेक्र्याइँ गरेको उनको आरोप छ ।

    पुल निर्माण नहुँदा यहाँबाट लालझाडी, मैनाटार, नकौली, लामीडाँडा बाँझोडाँडा र घ्याङ्सिङ्टार क्षेत्र सडक सञ्जाल राजमार्गसँग नजोडिँदा स्थानीय आजित भएको टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद तिमल्सिनाले बताए ।

    पुल बन्दा ३० हजारबढी जनताले प्रत्यक्ष लाभ लिन सक्नेछन् । यस क्षेत्रमा उत्पादन भएको कृषि उपज बजार ल्याउन पुलकै कारण समस्या भएको वडाध्यक्ष न्यौपानेले बताए । आफूहरूले पटकपटक ठेकेदार कम्पनीलाई झकझक्याउँदा दुई पटकसम्म ‘अब काममा रफ्तार बढाउने’ लिखित सहमति भएको तर त्यो दस्तावेज मन्त्रालयमै थन्किने मात्रै काम भएको न्यौपानेले बताए ।

    ‘८ करोड रुपैयाँको पुल निर्माण गर्न एउटा मेसिन ल्याएर यसो हल्लाउँदै हाम्रो आँखामा छारो हाल्ने काम मात्रै भयो, २० महिनामा एउटा खाल्डो पनि पूरा भएको छैन, यस्तो कम्पनीले कसरी काम गर्छ ?’ तिमल्सिनाले आक्रोश पोखे ।

    अबको एक सातासम्म पनि काम सुचारु नगरिए मन्त्रालय घेराउ तथा राजमार्गमा चक्काजाम गर्नेसम्मको चरणबद्ध आन्दोलन गर्ने स्थानीयवासीले चेतावनी दिएका छन् । विगतमा यहाँको राप्ती खोला तुइनबाट पार गर्दा पटकपटक मानवीय क्षति भएको थियो ।

    ठेकेदार कम्पनीका फिल्ड इन्चार्ज विष्णु अर्यालले भने निर्माण अवधि थप गर्न माग गर्ने र अबको समयसीमाभित्र कुनै पनि हालतमा काम सक्ने प्रतिक्रिया दिए ।

    ‘हामीले यसअघि खासै काम अघि बढाउन सकेनौं, मिसिनरी पार्टपुर्जाको अभावले पनि समस्या भयो, हामीमा खासै अनुभव पनि भएन,’ अर्यालले भने, ‘हेटौंडामा उपलब्ध भाडाका सामान ल्याएर काम थालियो तर प्राविधिक काम भनेजस्तो सहज छैन, अब चाँडै कामले रफ्तार लिनेछ ।’ राजधानी दैनिक

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...