News Portal

  • बैतडीका गर्भवती महिला समस्यामा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ माघ २०७९
    ४२९ पटक
     भक्तपुर, २९ माघ २०७९

    बैतडीको दशरथचन्द नगरपालिका–११, नागार्जुन स्वास्थ्य चौकीको प्रसूतिसेवा बन्द हुँदा गर्भवती महिला समस्यामा परेका छन् । स्थानीय सरकारले घरमा सुत्केरी हुने महिलाको सेवासुविधा रोक्ने गरेको छ । स्वास्थ्य संस्थाको प्रसूतिसेवा नौ महिनादेखि बन्द भएपछि उनीहरु समस्यामा परेका हुन् ।

    शुक्रबार दशरथचन्द नगरपालिका–११, नागार्जुनमा सुत्केरी बेथा लागेकी महिला प्रसूति हुन जाँदा सेवा बन्द थियो । नागार्जुन स्वास्थ्य चौकीमा प्रसूतिसेवा बन्द भएको थाहा पाएपछि सुत्केरीलाई फर्काएर दशरथचन्द नगरपालिका–९, मा रहेको जोशी बुङ्गा स्वास्थ्य चौकी जानु परेको स्थानीय नरी पन्तले बताए ।

    दशरथचन्द नगरपालिका–११, को नागार्जुन स्वास्थ्य चौकी मात्रै होइन, दशरथचन्द नगरपालिका–३, दुर्गाभवानीमा पनि प्रसूतिसेवा बन्द भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनले भने, “अधिकांश स्वास्थ्य संस्थामा प्रसूतिसेवा बन्द छ । चालू रहेको दशरथचन्द नगरपालिका–२, देहिमाडौँ स्वास्थ्य चौकीले कार्यालय समय (१० देखि ५ बजेसम्म) मात्रै प्रसूति सेवा दिने गरेको गुनासो आएको छ । समय तोकेर कार्यालय समयमै सुत्केरी बेथा लाग्ने होइन । स्थानीय सरकारको कमजोरीका कारण यस्तो अवस्था आएको हो । स्वास्थ्य चौकी व्यवस्थापनको सबै जिम्मेवारी स्थानीय सरकारको भएकाले स्वास्थ्य कार्यालयले चाहेर पनि केही गर्न सक्दैन ।”

    नागार्जुन स्वास्थ्य चौकीमा प्रसूतिसेवा दिने दुई जना अनमी भए पनि उनीहरु दुवै जनाको सानो बच्चा भएकाले प्रसूतिसेवा अनियमित भएको स्वास्थ्य चौकी प्रमुख गोपीकृष्ण भण्डारीको तर्क छ ।

    प्रसूतिसेवा सञ्चालन गर्न नगरपालिकालाई जनशक्ति पठाइदिन अनुरोध गरे पनि हालसम्म जनशक्ति व्यवस्थापन नभएको उनको भनाइ छ । स्वास्थ्य चौकीमा चौबीस घण्टा प्रसूतिसेवा सञ्चालनका लागि जनशक्तिको अभाव रहेकाले पटक–पटक गुनासो गर्दा पनि नगरपालिकाले चासो नदिएको उनले बताए ।

    प्रसूतिसेवाजस्तो अति संवेदनशील विषयमा स्थानीय सरकार उदासीन बनेको स्थानीयको गुनासो छ । स्थानीय सरकारले एकातिर सुरक्षित सुत्केरीको नारा अघि सारेर घरमा सुत्केरी हुनेको सेवासुविधा बन्द गरेको छ भने अर्कोतर्फ प्रसूतिसेवा नियमित गर्न नसकेको सर्वसाधारणको गुनासो छ। प्रसूतिसेवा बन्द भएको विषयमा दशरथचन्द नगरपालिका–११, का वडाध्यक्ष जयदत्त पन्तले जनशक्ति व्यवस्थापनको विषयमा नगरपालिका गएर समस्यालाई समाधानका लागि पहल गर्ने बताए ।

    स्थानीय सरकारलाई स्वास्थ्य संस्था सञ्चालन गर्ने अधिकार दिए पनि कागजमा मात्रै राम्रो प्रतिवेदन आउने तर व्यवहारमा सेवाग्राहीले अधिकांश ठाउँमा सिटामोल पनि नपाएको गुनासो आउने गरेको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...