News Portal

  • बागमती नगरपालिकाले चलायो शिक्षकलाई सिकाइ कार्यशाला

    भक्तपुरपोष्ट संवाददाता २०८० वैशाख २१
    ४६७ पटक
    २०८० वैशाख २१

    सर्लाही। सार्वजनिक शिक्षाको सुदृढिकरणमा केन्द्रित बागमती नगरपालिकाले शिक्षकहरुका लागि सिकाइ कार्यशाला शुरु गरेको छ । तल्लो तहदेखि नै शिक्षा सुधारको शुरुवात गर्न भन्दै नगरपालिकाले सबै विद्यालयका कक्षा १ देखि ५ सम्मका शिक्षकलाई क्रियाकलापमा आधारित सिकाइ कार्यशाला कार्यक्रम शुरु गरेको हो ।

    ५ दिनसम्म चल्ने कार्यशालामा शिक्षकलाई शैक्षिक सामग्री निर्माण तथा त्यसको प्रयोग गरी शिक्षण सिकाइ गर्ने सीप सिकाइने नगरपालिकाले जनाएको छ । कार्यशाला पछि शिक्षकले किताबमा मात्रै आधारित नभई खेलेर, नचाएर, हसाएर सिकाउन सक्ने नगरपालिकाका शिक्षा शाखा प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिए । अब शिक्षकहरुले किताब घोकाएर मात्रै सिकाउन पर्दैन खेलाएर, नचाएर, हसाएर, विभिन्न शैक्षिक सामग्रीहरु देखाएर पनि सिकाउन सक्षम हुनेछन्, उपाध्यायले भने ।

    उपाध्यायकाअनुसार कार्यशालाको पहिलो दिन शिक्षकहरुलाई कसरी खेल विधिबाट बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउन सकिन्छ भनेर सिकाइने छ । जहाँ शिक्षकले आफैंले खेलेर अनि प्रयोग गरेर महसुस गर्न सक्नेछन् । त्यस्तै, दोस्रो दिनदेखि विभिन्न विषयलाई भिन्न भिन्न शैक्षिक सामग्रीको प्रयोगबाट कसरी सिकाउन सकिन्छ भनेर सिकाइने छ । साथै, त्यस्ता शैक्षिक सामग्रीको निर्माण गर्न पनि सिकाइने छ। कार्यशालाको पाँचौं दिन भने शिक्षकहरुले आफूले निर्माण गरेका सामग्रीको प्रदर्शनी तथा सिकाइमा प्रयोगबारे प्रस्तुति दिने शिक्षा शाखा प्रमुख उपाध्यायले जानकारी दिए ।

    ‘शिक्षकले बोल्ने अनि विद्यार्थीले सुन्ने मात्र गर्दा सिकाइ हुन नसक्ने रहेछ’- कार्यशालाका सहजकर्ता अर्जुन भट्टले भने–’अब बोल्ने होइन, गरेर सिक्ने हो’ । वास्तवमा बालबालिकालाई हामी शिक्षकले सिकाउने भन्दा पनि उनीहरू आफैंले सिक्ने भएकोले त्यसको लागि उपयुक्त वातावरणको निर्माण मात्रै गरिदिनु पर्ने उनले सुनाए ।

    सामुदायिक विद्यालयमा विद्यार्थी टिक्न नसक्नु, विद्यालयमा रमाउन नसक्नु, निरन्तर अनुत्तीर्ण हुनुमा शिक्षण सिकाइ गतिविधि र शिक्षकको कार्य क्षमता पनि उत्तिकै जिम्मेवार रहेको शिक्षा शाखामा कार्यरत ओम बहादुर कार्कीले बताए । शिक्षकलाई शिक्षण सिकाइमा केन्द्रित गराउँदै सिकाइ प्रक्रियालाई विद्यार्थी केन्द्रित र रमाइलो बनाउन कार्यशाला महत्वपूर्ण हुने कार्कीले सुनाए ।

    नगर शिक्षा संयोजक राजकुमार विश्वकर्माले अब शिक्षकहरुले कार्यशालामा सिकेको सीप कक्षाकोठामा पुग्नुपर्नेमा जोड दिए । कार्यशालाले शिक्षकलाई पढाउँ पढाउँ लाग्ने र विद्यार्थीलाई सिकौं सिकौं लाग्ने बनाउने उनको भनाइ थियो ।

    कार्यशालामा सहभागी शिक्षक मेनुका न्यौपानेले कार्यशालामा आफूले धेरै नयाँ कुराहरु सिक्न पाएको बताइन् । किताबबाट मात्रै सिकाउन जानेको आफूले विभिन्न सिकाइ सामग्री बनाएर पनि विद्यार्थीलाई हसाउँदै खेलाउँदै पनि सिकाउन सकिने कुरा कार्यशालाबाट सिकेको बताइन् । ‘यसरी रमाइलो खेलको माध्यमबाट हामीले सिकाउने हो भने त कोही पनि विद्यार्थी फेल नहुने रहेछन्’ उनले भनिन् ।

    बागमती नगरपालिकामा शैक्षिक रुपान्तरण अभियानको नेतृत्व गरिरहेका वृहत राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरेले शिक्षकको पेशागत विकास तथा क्षमता अभिवृद्धिमा सहयोग गर्ने हो भने रुपान्तरण शिक्षकबाट नै सम्भव हुन सक्ने बताए । ‘वास्तवमा कोही पनि विद्यार्थी आफैंमा कमजोर हुँदैनन्, हरेक बालबालिकाले सिक्न चाहन्छन र त्यसको लागि हरेक विद्यार्थी सिकाइ गतिविधिमा सहभागी हुन सक्ने उपयुक्त वातावरणको आवश्यकता पर्दछ,’ घिमिरेले भने ।

    आधारभूत तहका विद्यालयलाई आक्रमक रुपमा सुधारको अभियान संचालन गरिरहेको बागमती नगरपालिकाले पहिलो चरणमा बालबालिका रमाएर सिक्ने वातावरणको निर्माणमा जुटेको छ । यो कार्यशालाले शिक्षकलाई नयाँ भर्जनमा रुपान्तरण गर्ने सक्ने शिक्षा शाखाको विश्वास छ ।

    बागमतीले यस अघि नै प्रधानाध्यापकका लागि तीन दिने नेतृत्व विकास कार्यशाला, सबै शिक्षकका लागि दश दिने आधारभूत आइसीटी तालिम, माध्यमिक तहका सबै शिक्षकका लागि दुई दिने स्तरीकृत प्रश्न निर्माण कार्यशाला आयोजना गरिसकेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...