भक्तपुर, २० असार २०८०उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले प्रतिपक्ष दलले संसदीय प्रक्रिया र मर्यादा नाघेर संसद अवरुद्ध गरेको बताएका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिको आशय सोध्न पर्नेमा राजीनामा माग्नु संसदीय प्रक्रिया विपरित भएको मन्त्री बस्नेतले बताएका हुन् ।
प्रतिनिधि सभा बैठकपछि आफ्नो प्रतिक्रिया दिंदै मन्त्री बस्नेतले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) गैरजिम्मेवार बनेको बताए । प्रधानमन्त्रीको बोलिको विषयमा प्रश्न गर्ने र जवाफ माग्ने अधिकार हुँदाहुँदै संसद चल्न नदिनु संसदीय प्रक्रिया विपरित भएको मन्त्री बस्नेतको भनाई छ ।
‘संसदमा बोलाएर प्रधानमन्त्रीज्युको आशय के हो भनेर सोध्ने अधिकार हुँदाहुँदै, संसद चल्न दिन्नौँ भन्ने कुरा त्यो संसदीय प्रक्रिया होइन । उर्जामन्त्री बस्नेतले भने, ‘प्रधानमन्त्रीको आशय सुनिसकेपछि उहाँहरुलाई त्यो कुरा चित्त बुझेन भने पो कुरा हुन्थ्यो ।’
सरदार प्रितम सिंहको सदिक्षाको सम्बन्धमा प्रधानमन्त्री प्रचण्डले गरेका कुरालाई राजनीतिक विषय बनाउनु जरुरी नरहेको उनले जिकिर गरेका छन् ।
प्रचण्डले दिएका अभिब्यक्तिलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राम्रै मसला बनाएको छ । उनले प्रितम सिंहको किताब बिमोचन कार्यक्रममा सम्बोधन गर्दै सिंह आफू प्रधानमन्त्री बनोस भन्ने चाहनाले नेपालका दलहरु र दिल्ली सम्म जाने गरेका बताएपछि सोही अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजिनामा माग गर्दै संसद अवरुद्ध गरेको थियो ।