भक्तपुर, १२ मंसिर २०८०रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका संचालक पक्राउ परेका छन् । संखुवासभा चिचिला गाउँपालिका-१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
संचालक पौडेल संगै प्रहरीले सेन्टरबाट २ नाबालिका र १ युवतीलाई समेत उद्दार गरिएको जनाएको छ ।
उक्त स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तीमा लगाई यौन शोषण गर्ने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पौडेललाई पक्राउ गरेको हो ।
युवतीहरूलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा बोलाउने गरेको, मसाजका साथै शारीरिक सम्पर्क राख्न दवाव दिने गरेको र पौडेलले भने अनुसारको काम गर्न नमानेमा शारीरिक तथा मानसिक यातना दिनुको साथै अश्लिल फोटो तथा भिडियो सामाजिक सञ्जाल मार्फत आफन्तलाई पठाईदिने जस्ता डर त्रासमा पार्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाइ छ । रातो पुल र एयरपोर्ट नजिकै रहेका पौडेलका २ वटा स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको समेत खुल्न आएको प्रहरीले बताएको छ ।
पौडेललाई काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।