News Portal

  • ‘नयाँ बानेश्वर र जलेश्वरको दुरी घटाउने काँग्रेस मात्रै हो ” -प्रवक्ता शर्मा ( हेर्नुस समसामयिक अन्तर्वार्ता )

    १०८० पटक

    काठमाडौ, ३० पुस । संविधानसभा निर्वाचनमा पराजय भोगेका विश्वप्रकाश शर्माबारे धेरैको टिप्पणी थियो, ‘आउँदो संसद्‍मा उनी छुट्नु हुँदैन।’ तर, यसपटक पनि उनले चुनाव हारे। हारे पनि कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई प्रवक्तामा नियुक्त गरेका छन्। प्रवक्तामा नियुक्त भएपछि शर्माको दैनिकी व्यस्त भएको छ। नयाँ भूमिकापछि आफू बढी नै गम्भीर र उत्साहित भएको बताउने शर्माले कांग्रेस अब बदलिने दृढता व्यक्त गरे। बागबजारस्थित एउटा होटेलमा शनिबार बिहान अन्नपूर्णपोष्टका राजाराम गौतमनवीन झासँगको कुराकानीमा उनले भने, ‘जो बदलिँदैन, ऊ छुट्छ। कांग्रेसचाहिँ अब बदलिन्छ।’ प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

    पटक–पटक चुनाव हार्दा जुन निराशा हात लागेको थियो, पार्टीले प्रवक्ताको जिम्मेवारी दिएपछि उत्साहित देखिनुहुन्छ। कसरी लिनुभएको छ, नयाँ भूमिकालाई ?

    व्यक्तिगत रूपमा आम कांग्रेसीले पार्टीको साधारण सदस्य भएर काम गरिरहँदा पनि गौरव महसुस गर्नुपर्छ। मैले पनि त्यसैअनुरूप गरेको छु। तर पार्टीको एउटा महत्वपूर्ण पदमा आसीन भइरहँदा गर्वको साथै जिम्मेवारी पनि त्यत्तिकै बोध हुन्छ।

    म त्यतिबेला पार्टीको प्रवक्ता भएको छु, जतिबेला पार्टीले निर्वाचनमा नराम्ररी पराजय बेहोरेको छ। यस्तो बेलामा काम गर्न थप चुनौतीपूर्ण हुन्छ। अब मैले हिजोभन्दा थप अध्ययन गर्नुपर्छ र हिजोभन्दा थप जिम्मेवार भएर बोल्नुपर्छ। यसको मतलब म विगतमा सोच्दै नसोची आवेग वा उत्तेजनामा बोल्थें भन्ने होइन। अब पनि मेरो शैलीमा कुनै परिर्वतन आउने छैन, यद्यपि मेरो जिम्मेवारी थपिएकाले मैलै त्यसलाई त्यत्तिकै महत्व दिनुपर्ने हुन्छ, बढी जिम्मेवार हुनुपर्छ।

    कांग्रेसभित्रै एउटा पंक्तिले तपाईंलाई ‘अर्को नरहरि आचार्य बनाउन खोजिएको’ भन्ने टिप्पणी पनि गरेको सुनिएको छ, यसमा तपाईंको धारणा के हुन्छ ?

    एउटै घटनालाई फरकफरक दृष्टिकोण बनाउन वा भिन्न व्याख्या गर्न पाउनु नै लोकतन्त्रको शाश्वत सत्य र सौन्दर्य हो। त्यही भएर अहिले मेरो नियुक्तिलाई पनि धेरैले आआफ्नो ढंगले हेर्नु अस्वाभाविक होइन। २१ महिनासम्म पदाधिकारीविहीन पार्टीले अहिले मलाई प्रवक्ता बनाएको छ। यसलाई कसैले युवाहरू अगाडि आउनै लाग्दा युवालाई प्रवक्ता दिइयो भन्न सक्छन् भने केहीले युवाको आवाज मत्थर पार्न खोजिएको भन्न सक्छन्। कसैले निर्वाचनमा पराजय बेहोरेपछि पार्टीलाई नवीन ढंगले बनाउन र बढाउन खोजेको हो भनेर बुझ्न सक्छन्। यी बुझाइ फरकफरक हुन सक्छन्। त्यसकारण को प्रवक्ता बन्यो भन्दा पनि महत्वपूर्ण कुरा के हो भने विश्वप्रकाश शर्माले पाएको जिम्मेवारी कसरी निर्वाह गर्छ भन्ने हो। म कुन उमेर र कुन पुस्ताको हुँ भन्दा पनि मैले कति सशक्त र सफल रूपमा प्रवक्ताको भूमिका निर्वाह गर्छु भन्ने कुरा मुख्य हो।

    यो पराजयलाई हामीले हारका रूपमा मात्रै नबुझी कांग्रेसलाई नवीन ढंगले अघि बढाउने ऐतिहासिक ‘टर्निङ प्वाइन्ट’ का रूपमा बुझ्नुपर्छ।

    पार्टी पराजयबारे यत्रो आवाज उठिरहँदा त्यसको नैतिक जिम्मेवारी लिन र गम्भीर समीक्षा गर्न नेतृत्वले कन्जुस्याईं किन गरेको ?

    भूकम्पमा भत्केका घर वा गाउँको पहिलो प्राथमिकता के ? तपाईं सबैभन्दा पहिला रड, सिमेन्ट आदिको गुणस्तर र त्यो घर बनाउनेको योग्यता र नियत जाँच्नतिर लाग्नु हुन्न। सबैभन्दा पहिलो काम त्यसभित्र थिचिएको मानिसलाई उद्धार गर्नु हो। भूकम्पमा मानवीय उद्धारलाई मुख्य प्राथमिकता राखेजस्तै हामीले पनि पराजित र निराश मनहरूको मनोवैज्ञानिक उपचार खोज्नुपर्छ। पराजयले कांग्रेसीहरू मनोवैज्ञानिक रूपमा प्रभावित छन्। त्यसैले अहिलेको पहिलो काम नै हामी मनोवैज्ञानिक रूपमा उठ्नुपर्छ। निश्चय पनि, केही समयभित्रै बस्ने केन्द्रीय समितिले साझा दृष्टिकोण बनाएर अघि बढ्ने कुरामा विवाद छैन। चुनावको गम्भीर समीक्षा हुनैपर्छ र हुन्छ पनि। यो पराजयलाई हामीले हारका रूपमा मात्रै नबुझी कांग्रेसलाई नवीन ढंगले अघि बढाउने ऐतिहासिक ‘टर्निङ प्वाइन्ट’ का रूपमा बुझ्नुपर्छ। त्यसकारण अहिले कांग्रेसलाई बदलेर अघि बढ्न आम शुभेच्छुकलाई मनोवैज्ञानिक रूपमा उठाउने चरण हो।

    तर कांग्रेस तपाईंले भनेजस्तो मनोविज्ञान उठाउनेतिर भन्दा पनि प्रतिक्रियाकै राजनीतिमै रमाइरहेको भान हुन्छ। समीक्षा गर्नेतिर भन्दा सत्ता राजनीतिको खेलोफड्कोमै कांग्रेस केन्द्रित देखिन्छ नि ?

    कांग्रेसले प्रतिकूलताको सामना गरेको यो पहिलोपटक होइन। हामी इतिहासमा पनि पटकपटक कमजोर भएका छौं र विजयी भएर सत्ता पनि सम्हालेका छौं। रूपान्तरण गरेर जाने सन्दर्भमा तर अहिले जनताले प्रस्टरूपमा वामघटकलाई सरकार बनाउन र कांग्रेसलाई संगठन बनाउने म्यान्डेट दिएका हुन्। यसमा अब कुनै विश्लेषणको आवश्यकता पर्छ जस्तो लाग्दैन।

    कांग्रेस फेरि पनि सत्ता चलखेलमै छ। वामघटक फुटाउने कुरा त सार्वजनिक रूपमै महामन्त्री स्वयंले भन्नुभएको छ?

    यो प्रकारको कुनै कुरा नै नभएको होला त म भन्दिनँ। हामीले अर्को कुरा के पनि हेर्नुपर्छ भने अहिले कुनै एउटा पार्टीले स्पष्ट बहुमत ल्याएको छैन। यो अवस्थामा यो वा त्यो प्रधानमन्त्री हुन सक्छन् भने नै भने पनि त्यसलाई अस्वाभाविक भन्न मिल्दैन। कुनै अमूक नेताले कसैलाई प्रधानमन्त्री ‘अफर’ नै गरेका पनि हुन सक्छन्। तर, यो सबै व्यक्तिका धारणा हुन्, पार्टीको आधिकारिक धारणा होइन। निर्वाचनमा दुई पार्टीहरूले बनाएको एउटा गठबन्धनसँग बहुमत छ। त्यसैले कुनै एक नेताले कुनै एक अमूक ठाउँमा के बोल्यो भन्ने कुरा महŒवपूर्ण हुन्छ जस्तो मलाई लाग्दैन। पार्टीको केन्द्रीय कार्य समितिले के निर्णय गर्छ, त्यो महत्वपूर्ण हुन्छ। पार्टी बैठकले निर्णय नगरेसम्म नेताहरूका विचार व्यक्तिगत नै हुन् भन्ने हामीले बुझ्नुपर्‍यो।

    कांग्रेस रूपान्तरणका मुख्य कार्यसूची केके हुन् त ?

    अब चाँडै बस्ने पार्टी केन्द्रीय कार्यसमितिको बैठकले अबको कार्यसूची तय गर्नेछ। त्यसपछि हामी त्यही रोडम्यापमा अगाडि बढ्ने हो, तर निर्वाचन सवालमा हामी निर्वाचन गराउन जति गम्भीर भयौं, निर्वाचन जित्न त्यति गम्भीरतापूर्वक लाग्न सकेनौं। हामी निर्वाचनमा गइरहँदा हाम्रो नेतृत्वलाई पहिल्यै थाहा थियो कि, हामी कमजोर छौं। तर पनि संक्रमणकाल अन्त्य हुन्छ भनेर हामीले निर्वाचन गरायौं। तर हामी जनतासँग संवाद गर्ने सवालमा कमजोर देखियौं। कांग्रेसले गरेका सत्कर्मलाई हामीले प्रचार गर्न सकेनौं। मुलुक ७५ जिल्लाबाट ७७ जिल्लामा परिणत भयो। सातवटा प्रदेश बने तर हामी हाम्रो पुरानै सांगठनिक संरचनामा कुनै सुधार नगरीकनै चुनावमा गयौं। प्रदेशस्तरीय कमिटी बनाउन सकेनौं। प्रदेशअन्तर्गत दुई प्रदेशस्तरीय समिति बनाउन सकेनौं। पदाधिकारी चयनदेखि सांगठनिक परिचालन सही ढंगले गर्न सकेनौं, जसको प्रतिफल चुनावमा देखियो। अब भने हामीले पार्टीको व्यापक परिर्वतनका कुरा गरिरहेका छौं। तर, मेरो विचारमा केन्द्रदेखि गाउँ तहसम्मैको नेतृत्व शैलीमा व्यापक परिर्वतनको खाँचो छ।

    महाधिवेशन सकिएको यति समय हुँदा पनि पार्टीगत संरचना सुधार पनि नगर्ने नेतृत्वले चुनावमा पराजित हुँदा नैतिक दायित्व लिनुपर्दैन ?

    पार्टी बैठकमा यसबारेमा अवश्य पनि कुरा उठ्नेछन्। सबैले आफ्नो आकारअनुसारको भागीदारी लिनुपर्छ। अब जो बदलिन्छ, त्यसले मात्रै कांग्रेसको नेतृत्व गर्न सक्छ। जो बदलिन तयार छैन, ती बाहिरिने छन्।

    को बाहिरिन्छ त ? के अहिले ७० कटेकाले वि श्राम लिनुपर्ने आवाज उठेको छ। उमेरको हद ७० वर्ष कटेकालाई वि श्राम दिनतिर कांग्रेस लाग्ला त ?

    पार्टी निर्वाचनमा पराजित भएर फर्केपछि कतिपयलाई यस्तो लागेको छ कि वृद्ध नेतृत्वलाई बिदा गर्नुपर्छ। तर मेरो बुझाइमा राजनीतिमा एज होइन कि एजेन्डालाई प्रधान मान्नुपर्छ। सेतो कपालले केही पनि गर्न सक्दैन भन्ने होइन र कालो कपालले मात्रै सबै राम्रो गर्छ भन्ने बुझ्नु गलत हुन्छ। ०४६ सालमा गणेशमानजीले पार्टी र जनआन्दोलनलाई नेतृत्व दिइराख्दा उहाँ ७६ वर्षको हुनुहुन्थ्यो। बीपी स्वयं पनि जनमत संग्रहका बेला भन्डै ७० वर्षको हुनुहुन्थ्यो। गान्धीकै कुरा गर्नुहुन्छ भन्ने उमेरको उत्तराद्र्वमा धेरै महत्वपूर्ण काम गरेको देखिन्छ। तर, यसको अर्थ यो पनि होइन कि युवाहरूलाई दिनु नै हुँदैन। पाका र युवा सबै विचारमा एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन। नेपालको उदाहरण दिँदा ८६ वर्षका गिरिजाप्रसादले ५६ वर्षका प्रचण्डलाई डोर्‍याएको पनि देखियो। अमेरिकामा ४६ वर्षका बाराक ओबामाले वृद्ध जोन म्याकेनलाई पराजय गरेको देखियो। उमेरमा पाको भए पनि नेल्सन मण्डेलाले दक्षिण अफ्रिकामा रंगभेदविरुद्ध आन्दोलनको नेतृत्व गरेर सफलतामा पुर्‍याए। त्यसकारण युवालाई सुम्पिँदैमा कांग्रेस सुध्रिन्छ भन्ने होइन। कांग्रेस आवेगमुक्त भएर सबै मिलेर अगाडि बढ्नुपर्छ।

    इतिहासमै रम्ने कांग्रेसको पुरानै बानी हो। के अब पनि कांग्रेसले विगतको गौरवको ब्याज मात्रै खाइरहन सक्छ ?

    कांग्रेसले अब ००७ र ०४६ को कुरा गरेर हुँदैन। हामीसँग गौरवपूर्ण इतिहास मात्रै छैन कि सफल वर्तमान पनि छ। तर हामीले वर्तमानमा गरेका कामको सम्प्रेषण गर्न सकेनौं। शान्ति प्रक्रियादेखि संविधान बनाउनेसम्मको नेतृत्व हामीले गरेकै हौं। के गिरिजाप्रसाद नभएका भए शान्तिप्रक्रियामा माओवादी आउँथ्यो होला ? पहिलो संविधानसभाका निर्वाचनहरूपछि चारचारवटा कम्युनिस्ट प्रधानमन्त्री त भएकै हुन्। तर, संविधान त जारी हुन सकेन नि। हाम्रै पार्टीका सुशील कोइराला प्रधानमन्त्री हुँदा नै संविधान पनि जारी भयो। सबैलाई थाहा भएकै कुरा हो, संविधान जारी गर्ने बेलामा कत्रो दबाब थियो बाहिर र भित्रैबाट पनि। सबैलाई सहेर उहाँले संविधान जारी गर्नुभयो।

    संविधान जारी भइरहँदा एकथरीले मैनबत्ती बालेर दीपावली मनाए भने एकथरीले टायर जलाएर विरोध गरे। हामीले मैनबत्ती बाल्ने र टायर जलाउने दुवै नेपाली हुन् भनेर भन्यौं। जति यो देश टोपी लगाउनेहरूको हो, त्यति नै धोती लगाउनेहरूको हो भन्यौं। कांग्रेसले भन्यो, काठमाडौंको नयाँबानेश्वर र जलेश्वरको दूरी घट्नुपर्छ। तर, सम्प्रेषण गर्ने बेलामा नागरिक तहमा यसलाई पुर्‍याउन सकेनौं। मधेसमा स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको थियो। सारमा हामीले पछिल्ला २५ वर्षमा गरेका काम र सफलताको जस लिन सकेनौं। यी विषयलाई हामीले जनताका माझमा राम्रोसँग पुर्‍याउन सकेनौं।

    जनतासँग मात्रै संवाद गर्न नसकेको कहाँ हो र ? पुरानो लोकतान्त्रिक पार्टी भनिए पनि आन्तरिक लोकतन्त्रको दृष्टिले त कांग्रेस निकै दयनीय अवस्थामा छ जस्तो लाग्दैन ?

    विगतको तुलनामा आन्तरिक लोकतन्त्रको सन्दर्भमा पनि कांग्रेस अघि बढेको छ, यद्यपि विगतको भन्दा थप व्यवस्थित भएर जानुपर्छ। तर, ०४८ कै महाधिवेशन सम्झौं। त्यसले जम्माजम्मी किसुनजीलाई मात्रै निर्वाचित गर्‍यो। नौ महिनापछि केन्द्रीय कार्यसमिति बन्यो। त्यसपछिको महाधिवेशनले सभापति गिरिजाप्रसादलाई निर्वाचित गर्‍यो। केन्द्रीय कार्यसमितिको चयन सभापतिबाटै हुन्थ्यो। त्यसपछि हरेक महाधिवशेनमा सुधार हुँदै आएको छ। केन्द्रीय कार्यसमिति सदस्यकै चुनाव हुने परम्परा बस्दै आएको छ। महाधिवेशनको निर्वाचन प्रक्रियालाई मात्रै लिएर कांग्रेसमा आन्तरिक लोकतन्त्र छ, छैन भन्ने कुराको निक्र्योल गर्न मिल्दैन। यो पार्टीले निर्णयप्रक्रियामा जाँदै गर्दा बहुसंख्यक नागरिक समाजको अपेक्षालाई सम्बोधन गरेको छ, छैन, त्यो महत्वपूर्ण कुरा हो।

    पार्टीभित्र विशेष महाधिवेशन बोलाएर चुनाव पराजयको गम्भीर समीक्षा गर्दै नेतृत्व परिवर्तनको बहस पनि उठेको छ। तपाईंलाई के लाग्छ, विशेष महाधिवेशनको आवश्यकता छ कि छैन ?

    प्रवक्ता हुनुअघि मैले भन्दै आएको थिएँ, विशेष महाधिवेशन अहिलेको समाधान होइन। विशेष महाधिवेशले विशेष उद्देश्यका साथ पार्टीको नेतृत्व परिवर्तनको बाटोमा जानुपर्छ। त्यो भीडमा गम्भीर समीक्षा हुँदैन भन्ने बुझाइ हो। तर अहिले म तपाईंसँग बोलिरहँदा पार्टी प्रवक्ता हुँ। त्यसकारण पार्टी विधानमा व्यवस्था भएअनुसार पार्टी अघि बढ्यो भने त्यो हुन पनि सक्छ। तर मसहित सातजना कांग्रेसका युवा साथीहरूले बैठकमा केन्द्रीय कार्यसमिति बैठक र महासमिति बैठकको कुरा गरेका थियौं। प्रवक्ता भएपछि विशेष महाधिवेशन गर्नैपर्दैन म भन्न सक्तिनँ। किनकि, हाम्रो विधानमा महाधिवेशन बोलाउन मिल्ने प्रावधान छ। विधानअनुरूप महाधिवेशन बोलाउन सकिन्छ। तर, अहिले केन्द्रीय समितिको बैठक हुँदै महासमितितिर अग्रसर हुनुपर्छ कांग्रेस।

    कांग्रेसले यतिबेला विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्न सके पो आम जनताको आकर्षण यो पार्टीप्रति बढ्ला त, फेरि पनि आलटाल गरेर उही पुरानै नेतृत्व हावी हुँदा यो पार्टी रूपान्तरणको मुद्दा कति अघि बढ्ला ?

    यो कुराको निक्र्योल अबको केन्द्रीय कार्यसमितिले गर्नुपर्छ। यो त्यसको क्षेत्राधिकारभित्र पर्छ। महासमिति वा विशेष महाधिवेशन के गर्ने ? के औषधि चाहिएको हो। त्यो त्यसैले तय गर्न। शिवाजल गोली दिने कि एन्टीबायोटिक वा अप्रेसन नै गर्नुपर्छ, अब केन्द्रीय समितिले गर्छ। बिरामीलाई इमरजेन्सीतिर लाँदै गर्दा आँगनमै उपचार खोज्ने कुरा कति सही हो ? सोच्नुपर्छ।

    सभापति देउवालाई अधिकारसम्पन्न गर्दै अध्यक्षात्मक प्रणालीमा जानुपर्ने कुरा पनि उठेको छ नि ?

    यो केही नेताको विचार हुन सक्छ, तर पार्टीको आधिकारिक निकाय केन्द्रीय कार्यसमितिले के निर्णय गर्छ, त्यो नै अन्तिम निर्णय हुनेछ।

    सता हस्तान्तरणमा कांग्रेसले किन किचलो गरिरहेको छ ? किन लम्बाइरहेको छ, सत्ता हस्तान्तरण प्रक्रिया ? निर्वाचनको म्यान्डेट कांग्रेस रचनात्मक प्रतिपक्षको रूपमा रहोस् भन्ने होइन र ?

    सत्ता हस्तान्तरणका कुरामा केहीले कांग्रेसलाई आक्षेप लगाइरहेका छन्। चुनाव हारिँदैछ भन्ने जान्दाजान्दै चुनाव गराउन अग्रसर पार्टीलाई सत्ता हस्तान्तरणमा ढिलाइ गरेको आरोप लगाउनु कसरी उचित हुन्छ ? देउवाले राजीनामा गरेर गएको भए पनि कमरेड केपी ओलीजीले जिम्मेवारीबाट पन्छिएको आरोप लगाउनुहुन्थ्यो। प्रधानमन्त्रीले मार्गप्रशस्त गर्ने भनेको राजीनामा गर्ने मात्र होइन। कामचलाउ प्रधानमन्त्रीले राजीनामा गरेर डबल कामचलाउ बन्नुपर्दैन। अबका जटिलता पार गराउनु नै मार्गप्रशस्त गराउनु हो। यो व्यावहारिक जटिलता आउनुका कारण प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकैचोटि भएर हो। संविधान राम्रोसँग पढ्नेलाई यो थाहा हुन्छ। राष्ट्रियसभाको निर्वाचन कांग्रेस वा शेरबहादुर देउवाका कारण रोकिएको छैन। आउँदै गरेका सरकारको नेतृत्व गर्ने नेता र दलले संविधान राम्रोसँग पढ्नुपर्छ। राष्ट्रियसभाको निर्वाचन भएको दुई हप्ताजतिमा हार्दिकतापूर्वक सत्ता हस्तान्तरण हुन्छ। कांग्रेसले सत्ता हस्तान्तरण लम्ब्याइरहँदैन।

    पार्टी प्रवक्ताभन्दा बढी तपाईंको भूमिका कांग्रेस नेतृत्वको बचाउ गर्नेतिर बढी अग्रसर देखिँदैछ। यसले कांग्रेस पुनर्जागरणको आवाज उठाउने पुस्तासँग तपाईंको दूरी बढ्ला भन्ने लाग्दैन ?

    प्रवक्ता हुनुअगाडि कांग्रेसमा मैले गम्भीर आत्मसमीक्षाको जरुरी छ भनेको थिएँ। म यसमा अझै अडिग छु। देउवाका कमजोरी औंल्याउने तर उहाँका राम्रा कुराको प्रशंसा नगर्ने गर्नु हुँदैन। पार्टी नेतृत्वको विरोध सडकमा मात्र गरेर हुँदैन, केन्द्रीय कार्यसमितिमा पनि कुरा उठाउनुपर्छ। मैले यसलाई रूपान्तरण प्रक्रियासँग जोडेर हेरेको छु। हामी युवाले खालि बाहिर बसेर गल्ती मात्रै औंल्याउने कि मौका पाएपछि काम पनि गर्ने ? मैले पाएको जिम्मेवारीलाई युवा पुस्ताले पाएको अवसर ठानेको छु। अब कांग्रेसमा पाका, युवा सबैलाई समेटेर अगाडि बढ्नुपर्छ। सबैलाई समेट्नुपर्छ।

    प्रतिकृया दिनुहोस्

    क्रिप्टोकरेन्सीलाई मान्यता पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दर्ता

      डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई मान्यता पाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दर्ता भएको...

    नागरिकता विधेयक पास भए नेपालमा लेन्डुप दोर्जेहरुको जन्म हुन्छः प्रेम सुवाल

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक पास गर्नु राष्ट्रघाती काम हुने बताएका...

    नागरिकता विधेयकबारे संसदमा चर्काचर्की

    राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक सरकारले जस्ताको तस्तै पास गर्ने तयारी गरेपछि त्यसको...

    भेटाएको नागरिकता दुरुपयोग गरी ठगीगर्ने तीन जना पक्राउ

      भेटाएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको...

    राष्ट्रपतिप्रति सांसद गजेन्द्र महतको व्यंग्यः राष्ट्रपतिलाई अफ्ट्यारा कामहरू राति नै फत्ते गर्ने बानी परिसक्यो

    नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति व्यंग्य गरेका छन्। संसदको दुवै सदनले...