News Portal

  • सेवा क्षेत्रले बटुल्यो विश्वास, दुई खर्ब नाघ्दै निर्यात

    ३०६ पटक

    काठमाडौँ, वैशाख २४ गते । सेवा निर्यातबापत नेपालले पहिलो पटक दुई खर्ब रुपियाँभन्दा बढी बराबरको विदेशी मुद्रा आर्जन गर्ने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को राष्ट्रिय लेखा तथ्याङ्कअनुसार मुलुकको सेवा निर्यात चालु मूल्यमा दुई खर्ब दुई अर्ब ९७ करोड रुपियाँ पुग्ने अनुमान गरिएको हो।

    खासगरी पर्यटन क्षेत्रमा आएको सुधारका कारण होटल सेवा बिक्री बढ्दा यस वर्ष सेवा निर्यातबाट हुने आम्दानीमा सुधार आउने अवस्था बनेको कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो। “यस वर्ष नेपाल भित्रिने पर्यटकको सङ्ख्या पछिल्ला वर्षभन्दा धेरै बढेकाले त्यसबापतको आयमा व्यापक सुधार आएको छ,” उहाँले भन्नुभयो।

    नेपाल पर्यटन बोर्डका अनुसार २०७९ साउनदेखि २०८० वैशाख मध्यसम्म साढे छ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्। जुन त्यसअघिको सोही अवधिको तुलनामा डेढ लाखभन्दा बढी हो।

    नेपालले विशेष गरी पर्यटन, शिक्षा, यातायात तथा सूचना प्रविधिजस्ता सेवा बिक्री गरेर विदेशी मुद्रा आर्जन गर्दै आएको छ। जसको लेखाङ्कन नेपाल राष्ट्र बैङ्कले गर्छ। यसबाहेक वस्तु निर्यातबापतको हिसाबकिताब भने भन्सार विभागले राख्ने गर्छ।

    तथ्याङ्क कार्यालयका अनुसार चालु आवमा वस्तु निर्यात भने एक खर्ब ८२ अर्ब १३ करोड रुपियाँ पुग्ने अनुमान छ। यस हिसाबले वस्तु निर्यातभन्दा नेपालले सेवा निर्यातबाट यस वर्ष बढी आम्दानी गर्ने देखिएको छ।

    राष्ट्र बैङ्कका अनुसार चालु आवको आठ महिनासम्म नेपालले भ्रमण शीर्षकअन्तर्गत ३७ अर्ब १२ करोड रुपियाँ विदेशी मुद्रा आर्जन गरेको छ। जुन गत आवको आठ महिनाको तुलनामा करिब शतप्रतिशतले बढी हो। गत चैतसम्म नेपालले सोही शीर्षकमा १८ अर्ब ६९ करोड रुपियाँ बराबरको विदेशी मुद्रा आम्दानी गरेको थियो।

    पर्यटक भित्रिएबापत हुने भ्रमण आय बढेकै कारण सेवा निर्यात विगतको तुलनामा बढेको राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ बताउनुहुन्छ। “पर्यटन क्षेत्रमा आएको सुधारले नै नेपालको सेवा निर्यातको आम्दानी बढाएको देखिन्छ,” उहाँले भन्नुभयो।

    पर्यटनबाहेक नेपालमा आएर अध्ययन गर्ने विदेशी विद्यार्थी, विदेशी पर्यटकले नेपालमा आएर लिने यातायात सेवाबाट हुने आम्दानीमा भएको बढोत्तरीलाई पनि राष्ट्रिय तथ्याङ्क कार्यालयले सेवा निर्यातमा भएको सुधारको कारण मानेको छ।

    सूचना प्रविधिको छैन तथ्याङ्क

    पछिल्लो समय नेपालबाट सूचना प्रविधिसँग सम्बन्धित रहेर ‘आउटसोर्स’को प्रचलन व्यापक बने पनि त्यसबाट हुने आम्दानीको यकिन तथ्याङ्क भने दुवै निकायसँग छैन। सूचना प्रविधि आउटसोर्सबाट भएको आम्दानीको केही तथ्याङ्क सेवा निर्यातमा जोडिए पनि त्यो पूर्ण नभएको कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ।

    “कतिपय त्यस्तो रकम विपे्रषणसँगै आएको हो कि भन्ने अनुमान पनि छ,” उहाँले भन्नुभयो । नेपालबाट वार्षिक एक खर्ब रुपियाँभन्दा बढी आईटी सेवा निर्यात हुने अनौपचारिक तथ्याङ्क छ । विदेशमा सूचना प्रविधिकै सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना भएका संस्थाहरू नेपालमा बढ्दो क्रममा छन्। यसबाहेक व्यक्तिगत तवरबाट पनि सूचना प्रविधि सेवा निर्यात भइरहेको छ।

    सूचना प्रविधिको विदेशमा आउटसोर्सिङ बढेपछि सरकारले चालु आवदेखि त्यसलाई कर प्रणालीमा ल्याउने प्रयास पनि सुरु गरेको छ। चालु आवको आर्थिक ऐनमै सरकारले बिजनेस प्रोसेस आउटसोर्सिङ, सफ्टवेयर प्रोग्रामिङ, क्लाउड कम्प्युटिङलगायत सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्ने गरेर विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिले करयोग्य आयमा एक प्रतिशत मात्र कर तिरे पुग्ने व्यवस्था गरेको गोरखापत्रमा बिश्वास रेग्मीले खबर लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...