News Portal

  • सडकमा सास्ती कम हुने संकेत : सांसद बस्नेतको पहलमा भक्तपुरमा बन्ने भयो सुरुङ मार्ग

    रमेश गिरीभक्तपुर, २० माघ
    १५६६ पटक
    भक्तपुर, २० माघ

    दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ ।

    प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटक पटक भएको अनौपचारिक र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको औपचारिक छलफलपछि सुरुङ मार्ग निर्माण गर्ने सहमति भएको हो ।

    कोटेश्वरबाट भक्तपुर, बनेपा, धुलिखेल हुँदै सिन्धुली जाने तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक हुँदै चीन जोड्ने तातोपानी नाकासम्म जाने एक मात्र सडक अरनिको राजमार्गमा दैनिक जाम बढेपछि यसलाई कम गर्न सुरुङ मार्ग निर्माण गर्ने अवधारणा अगाडि सारिएको बस्नेतले बताए ।

    पूर्वमन्त्री बस्नेतले भने, “हामीले कोटेश्वर र साँगामा सुरुङ मार्ग निर्माण गर्ने, जडीबुटीदेखि जगातीसम्म सात वटा मुख्य चोकमा व्यापारिक प्रयोजनसहितको आकाशे पुल राख्ने, आशापुरी महादेव जाने साँगाको बाटोबाट चित्तपोलको अग्लो कैलाशनाथ महादेवसम्म जान झोलुङ्गे पुल निर्माण गर्ने, आशापुरीको पानीलाई अण्डर ग्राउण्डका रुपमा ल्याएर चित्तपोलमा ड्याम बनाइ डुङ्गा चलाउने, आशापुरीको पानीलाई शुद्धीकरण गरी वितरण गर्ने व्यवस्था मिलाउने कार्ययोजना अगाडि बढाएका छौं ।”

    सडक विभागअन्तर्गत वैदेशिक शाखाका उपनिर्देशक सञ्जय श्रेष्ठले पटक पटक भएको छलफलपछि सुरुङ मार्ग निर्माणको प्रक्रिया अगाडि बढाइएको बताए । उनले भने, “सुरुङ मार्ग निर्माणको अध्ययन सम्पन्न भइसकेको छ, अब यही फेब्रुअरीको अन्तिममा जापानबाट आउने टोलीले काभ्रेको साँगामा स्थानीयवासीसँग एक पटक छलफल गरी भक्तपुर–साँगा सुरुङ मार्ग निर्माण कार्य थालनी गरिनेछ ।”

    उनका अनुसार जाइकाको ऋण सहयोगमा भक्तपुरको पलाँसेबाट साँगा निस्कने गरी करिब १.५ किमी सुरुङ मार्ग निर्माण हुनेछ । सुरुङमा भेन्टिलेटर र प्रशस्तै बत्तीको व्यवस्था हुनेछ । चौबीसै घण्टा उज्यालो देखिन्छ । यहाँ अक्सिजन सुरक्षित हुनेछ । सिसी क्यामरा जडान गरिएका हुनेछन्, आगलागी भएमा तत्कालै नियन्त्रण गर्न सकिने गरी व्यवस्थापन हुनेछ ।

    सुरुङ मार्ग निर्माणका लागि करिब ९५ प्रतिशित काम अगाडि बढिसकेको जानकारी दिँदै श्रेष्ठले आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गर्ने लक्ष्य रहेको बताए । पलाँसेबाट प्रवेश गरेर साँगा नासिका स्थानमा निस्कने गरी सुरुङ मार्ग निर्माण हुनेछ । सो सुरुङबाट एकै पटक चार वटा गाडी प्रवेश गर्न सक्नेछन् । यस्तै कोटेश्वर–जडीबुटी भक्तपुर सडकमा अत्यधिक बढ्दो सडक जाम घटाउनका लागि कोटेश्वरको मुनिभैरव स्थानबाट जडीबुटी निस्कने गरी अर्को सुरुङ मार्ग निर्माण हुने भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई कुनै बाधा नपर्ने गरी सुरुङ मार्ग निर्माण गर्न अध्ययन शुरु भएको श्रेष्ठले बताए । जाइकाकै सहुलियत ऋण सहयोगमा सुरुङ मार्ग निर्माण गर्न जाइका तत्पर रहेको जानकारी दिँदै उहाँले यहाँको सुरुङ मार्गमा पनि बत्ती र क्यामरा राख्ने तथा त्यसको निरीक्षण बाहिरबाट गर्नसक्ने गरी व्यवस्थापन गरिने बताए । उनका अनुसार यसका लागि आवश्यक सर्वेक्षण तत्कालै अगाडि बढाइनेछ ।

    नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जय गौतमले सुरुङ मार्ग निर्माणका लागि आवश्यक प्राविधिक सहयोग गर्न संस्था तयार रहेको बताए । प्राधिकरणकै इञ्जिनीयर धु्रव बाथेगया र निर्देशक बाबुराम पौडेलले विमानस्थललाई कुनै पनि बाधा नपर्ने गरी सुरुङ मार्ग निर्माण गर्न सकिने स्पष्ट पारे । विमानस्थलको सर्वे लाइट र सुरक्षालाई कुनै बाधा नपर्ने गरी सुरुङ मार्ग निर्माण गर्न उपयुक्त हुने उनीहरुको भनाइ थियो । कोटेश्वर–धुलिखेल छ लेन सडक विस्तार आयोजनाका प्रमुख राकेश महर्जनले काटेश्वरबाट भक्तपुर हुँदै पूर्व जाने सडकमा सवारी चाप अत्यधिक बढ्दै गएकाले सडक विस्तार र सुरुङ मार्ग निर्माणमा ढिलाइ गर्न नहुने प्रतिक्रिया दिए ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक सर्वेन्द्रनाथ खनालले अहिलेकै सडक संरचनामा सवारी चापलाई व्यवस्थापन गर्न कठिन भइसकेकाले सुरुङ मार्गको काम तत्कालै अगाडि बढाउनुपर्नेमा जोड दिए । प्रदेश सांसद शशिजंग थापा र राजेन्द्रमान श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतले सुरुङ मार्गसँगै सरकारले गाडी गुड्ने आकाशेपुल निर्माणमा पनि चासो दिनुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...