News Portal

  • के तपाई रुघाखोकीले ग्रस्त हुनुहुन्छ ?

    इभक्तपुर संवाददाताभक्तपुर, २६ फागुन
    ११९५ पटक
    भक्तपुर, २६ फागुन

    सिफलकी रमा राणा तीन सातादेखि निरन्तर खोकीले प्रताडित छिन् । सुरुमा दुई साता रुघाखोकी र ज्वरोले सतायो । चिकित्सकको सल्लाहअनुसार ७ दिनसम्म औषधि खाएपछि सन्चो पनि भयो । तर फेरि केही दिनपछि सुक्खा खोकी सुरु भयो । कडा खालका औषधि सेवन गर्दा पनि उनलाई निको भएको छैन। मौसम परिवर्तन हुने समयमा धेरैले भोग्ने र सामान्य ठान्ने मौसमी रुघाखोकी (सिजनल फ्लु) आक्रामक बन्दैछ । भाइरस (फ्लु) ले स्वरुप बदल्नु, धेरै प्रकारका भाइरसको संक्रमण एवं नयाँ भाइरसको प्रवेशसँगै देखापरेको यस्तो रुघाखोकी लामो समयसम्म निको नहुनुमा वातावरण प्रदूषण पनि एक कारक भएको चिकित्सक बताउँछन्।

    टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार पछिल्ला दिनमा रुघाखोकी लगातार लागिरहने र निको भएको केही दिनमै फेरि दोहोरिने समस्या लिएर आउने बिरामीको संख्या बढ्दै गएको छ । डा. पुनका अनुसार कतिपय ‘लिट्रेचर’ हरुमा समेत देखिएको तर नेपालमा प्रमाणित भइनसकेको ‘पोस्ट भाइरल कफ’ का कारणसमेत यस्तो समस्या देखिएको हुनसक्छ । ‘यसले ३ सातादेखि ८ सातासम्म संक्रमण गराउँछ’, उनले भने।

    सामान्यतः मौसम परिवर्तनका बेला ‘ए’ जातिका भाइरसको संक्रमणले यस्तो गराउँछ । कुनै समयमा स्वाइन फ्लुको नामले चिनिने एच१एन१ प्रजातिको भाइरस पनि इन्डेमिक (साधारण रुपमा फैलिरहने) भाइरसमा परिवर्तन हुनु र रुघाखोकीमा सावधानी नअपनाइनुले जोखिम बढ्दै गएको चिकित्सक बताउँछन्।

    भाइरस (फ्लु) ले स्वरुप बदल्नु, धेरै प्रकारका भाइरसको संक्रमण एवं नयाँ भाइरस प्रवेशसँगै देखापरेको रुघाखोकी लामो समयसम्म निको नहुनुमा वातावरण प्रदूषण पनि कारक
    अहिले हङकङ फ्लुका नामले चिनिने एन३एन२ र बी जातिका दुई प्रजाति– जापानी फ्लु भनिने यमागामा र अस्ट्रेलियन फ्लु भनिने भिक्टोरियासमेत नेपाल भित्रिएका छन्् । ‘एउटै व्यक्तिमा बहुप्रकारका भाइरसको संक्रमण हुँदा पनि यसरी मौसमी रुघाखोकी लम्बिएको हुनसक्छ,’ डा. पुन भन्छन् । सामान्यतः इन्फ्लुएन्जा, कोरोना, रेस्पेरिटीजस्ता थुपै भाइरसले मौसमी रुघाखोकी गराउँछन् । पुनका अनुसार रुघाखोकी (इन्फ्लुएन्जा) चार प्रकारका भाइरसले गराउँछ । ती हुन्– ए, बी, सी र डी।

    जसमध्ये ‘डी’ गाईवस्तुमा हुन्छ भने ‘सी’ एकदमै सामान्य (माइल्ड) हुन्छ । ‘ए’ को तुलनामा कमजोर नै मानिने ‘बी’ भाइरससमेत पछिल्ला दिनमा कडा हुँदै गएको अनुमान चिकित्सकको छ। ‘पछिल्लो समय प्रयोगशालाबाट प्रमाणित ‘बी’ भाइरस संक्रमणका बिरामी बढ्दैछन् । एकजनालाई त भर्ना नै गरेर उपचार गर्नुप¥यो,’ पुनले भने, ‘भाइरस ‘ए’ कमजोर हुँदा ‘बी’ बलियो हुँदै गइरहेको समेत पाइन्छ।’

    चिकित्सकहरु भाइरस जुन भए पनि पछिल्लो समयमा बढ्दो धुँलो र प्रदूषण पनि संक्रमणलाई बढाउने प्रमुख कारकहरूमध्ये एक भएको बताउँछन् । चिकित्सकका अनुसार सिजनल फ्लुलाई सामान्य रुपमा लिने गरिए पनि यो संसारभर र नेपालमा पनि मृत्युको प्रमुख कारक बन्ने गरेको छ । चिकित्सकका अनुसार रुघाखोकी भनेर लापरबाही गरे ज्यानै जाने अवस्था पनि आउन सक्छ । वृद्धवृद्धा, बालबालिका, गर्भवती, मधुमेह रोगी, एचआइभी संक्रमित र मिर्गौला प्रत्यारोपण गरेकाले यसतर्फ विशेष सवधानी अपनाउनुपर्छ।

    त्रिवि, शिक्षण अस्पताल, महाराजगन्जका वरिष्ठ फिजिसियन डा. जगदीशप्रसाद अग्रवाल पनि रुघाखोकीले सताउने अवधि बर्सेनी लम्बिँदै गएको बताउँछन् । ‘रोगप्रतिरोध क्षमता कमजोर भएकालाई यसले बढी सताउँछ,’ उनी भन्छन् । पहिला ठूलो असर नगर्ने भन्दै रुघाखोकी लागेमा सिटामोल, तातो र झोलिलो कुरा खाएर आराम गर्न सल्लाह दिने चिकित्सकले अहिले निरन्तर रुघाखोकी लागे चिकित्सकसँग परामर्श गर्न सुझाउँछन् । विभिन्न अध्ययनले देशअनुसार मौसमी रुघाखोकीको संक्रमण बढ्दो देखाएका छन् । यसले जटिल रुप लिए निमोनिया हुने र औसत ५ प्रतिशतको ज्यान लिने गरेको पनि अध्ययनले देखाएका छन् ।

    करोडौंको ज्यान लिने महामारी पनि यस्तै भाइरसले गराएका छन् । सन् १९१८ मा विभिन्न देशमा गरी झन्डै एक करोड मानिसको ज्यान लिएको स्पेनिस फ्लु, आधा करोडको ज्यान लिएको हङकङ फ्लु तथा पछिल्लो पटक सन् २००९ मा देखिएको बर्डफ्लु र एच१एन१ एउटै जातिका भाइरस हुन् ।समयसँगै भाइरसले पनि आफ्नो स्वभाव र स्वरुप परिवर्तन गर्ने भएकाले नेपालमा त्यस्तो भएको हुनसक्ने र यसको गम्भीर अध्ययनमा ढिला गर्न नहुने डा. पुनको भनाइ छ।

    नेपालमा प्रयोगशाला भए पनि परीक्षण गर्ने जनशक्ति अभावमा भाइरसको प्रकृति परिवर्तन भएनभएको बृहत अध्ययन भएको छैन् । तर प्रत्येक वर्ष परिवर्तन हुने भाइरसको स्वभाव, प्रजातिलगायतको विस्तृत अध्ययन हुनुपर्छ । चिकित्सकहरु भाइरसले स्वभाव र स्वरुप परिवर्तन गरेको ‘अब्जरभेसन’ बाट अनुमान गर्ने पर्याप्त आधार देखिए पनि व्यवस्थित अध्ययन हुन नसकेको बताउँछन् । भाइरसको व्यवस्थित अध्ययन नभए पनि विज्ञहरु वातावरण प्रदूषण, धुलो जस्ता कुराले पनि रुघाखोकीलाई लम्ब्याउन सहयोग गरेको बताउँछन् । वातावरण परिवर्तनसँगै भाइरसले पनि एडप्ट हुन स्वरुप बदल्ने चिकित्सक बताउँछन्।

    मौसमी रुघाखोकीका रुपमा देखिने भाइरसले सुरुमा माथिल्लो श्वासप्रश्वास प्रणालीमा संक्रमण गर्ने र विस्तारै श्वासप्रश्वास प्रणालीको तल्लो भाग (फोक्सो) मा असर गर्ने र निमोनिया गराएर ज्यानै लिन सक्छन् । संसारमा स्वरुप परिवर्तन गरिरहने भाइरसको विशेष उपचार छैन् । पहिला केही औषधि बने पनि भाइरसले स्वरुप परिवर्तन गरिरहँदा ती निस्प्रभावी भएका छन् । दोस्रो जेनरेसनमा टाँमी फ्लु नामक औषधि आए पनि कन्फर्म डाइग्नोसिस र हाइरिक्स समूहमा पर्नेलाई प्रिकसन अपनाउन मात्रै प्रयोग सफल भएको नागरिक दैनिकले लेखेको छ।

    प्रतिकृया दिनुहोस्

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...