News Portal

  • रोल्पामा रुमल्लिएकि ४ वर्षीया बालिकालाई कसले कटाउने पर्खाल ?

    कविता उपाध्याय रोल्पा, २८ फागुन
    १०३२ पटक
    रोल्पा, २८ फागुन

    लिबाङ– झोलामा कापी–कलम बोकेर स्कूल जाने उमेरकी ४ वर्षीया बालिका आशा परियार जिल्ला कारागार रोल्पाको बन्दी गृहमा थुनामा छिन् । परियारकी आमाले आफ्नै दिदी पर्ने थबाङ रोल्पाकी सुनकुमारी नेपालीको हत्या गरेको पुष्टि भएपछि मुलकी ऐन ज्यान सम्बन्धीको १४ नं बमोजिम जिल्ला अदालत रोल्पाले १० वर्ष कैद हुने गरी २०७३ फागुन ३ गते फैसला सुनाएको थियो । यसरी आमा थुनामा परेपछि यी अबोध बालिकाले आमाले गरेको दुष्कर्मको सजाय भोग्दै आएकी हुन् । खाने, खेल्ने र केही सिक्ने उमेरमा थुनामा रहेकी बालिकाले पौष्टिक आहार खान त के देख्नसम्म पाएकी छैनन् ।

    साँझ–बिहानको दुई छाक खाना र चाउचाउ बिस्कुटले मात्र कसरी यी बालिकाको शारीरिक तथा मानसिक विकास होला ? यस विषयमा सरोकारवाला निकाय गम्भीर बन्न जरुरी देखिन्छ । अपराधजन्य घटना घटाएका बालबालिकालाई पनि कारागारभित्र थुनामा नराखेर बालसुधार गृहमा राख्ने कानुनी व्यवस्था छ । तर पनि संरक्षण गर्ने अभिभावक नभएको हुँदा उनी करिब साढे एक वर्षदेखि आमाको संरक्षणमा जेल जीवन गुजार्न बाध्य भएकी हुन् ।

    रुकुम काक्री स्थायी ठेगाना भएकी यी बालिकालाई घरमा हेरचाह गर्ने कोही नभएका कारण आमाले आफैँसँग राख्दै आएकोे बताइन् । आशाभन्दा माथिका ७ वर्षीय दाजु र ९ वर्षीया दिदी आमा जेल चलान भएपछि मामाको घरमा बस्दै आएका छन् भने उनीहरूका बुबा केही वर्षयता वैदेशिक रोजगारीमा साउदी अरबमा पसिना बगाई रहेका छन् । “बच्चालाई घरमा पठाउने अवस्था नभएको हुँदा आफैंसँग राख्दै आएकी हुँ,” आशाकी आमाले भनिन् । आशा ३ महिनाकी हुँदा उनका बुबा वैदेशिक रोजगारीका लागि घरबाट निस्कएका थिए ।

    “यसले बाउको न्यानो काख नपाए पनि थुनाभित्रै बाउको फोटो हेरेर हरेक दिन बाउलाई सम्झिरहन्छे । फोटो हेरेर कहिले बाबा आउनुस् भन्छे, कैले बाबा पैसा पठाइदिनुस् भन्छे तर के गर्नु,” उनकी आमाले दिक्क मान्दै भनिन् । यसरी जेल जीवन बिताइरहेकी बालबालिकाको भविष्यतर्फ न त परिवारले सोचेका छन् न त कुनै सरकारी कार्यालयको नै ध्यान जान सकेको छ । बालअधिकारका क्षेत्रमा काम गर्ने एनजीओ तथा आइएनजीओ पनि यी बालिकाको अवस्थाका बारेमा बेखबर छन् । यिनका बारेमा कसैले सोच्न भ्याएका छैनन् । यतिबेला आशालाई सहयोगी हातको खाँचो छ ।

    जिल्ला कारागार कार्यालय रोल्पाका प्रहरी सहायक निरीक्षक लोकबहादुर भण्डारीका अनुसार आमा थुनामा परेसँगै बच्चाको उमेर र समय बर्बाद भइरहेको छ । “दिनहुँ बच्चाको अवस्था देख्दा दुःख लाग्छ । तर आफूभन्दा माथिल्ला निकाय हुने भएको हुँदा आधिकारिक रूपमा जवाफ दिन वा चाहेर पनि आफूले केही गर्न सकिने अवस्था छैन,” उनले भने ।

    जिल्लामा केही वर्षयता बालबालिकाका क्षेत्रमा काम गर्दै आएको संस्था सेभ द चिल्ड्रेन रोल्पाका कार्यक्रम संयोजक इन्द्र बडुवालले आफ्नो कार्यक्रममार्फत बच्चालाई स्कूल ल्याउने लैजाने गर्न नसकिने भए तापनि कसैले व्यवस्था मिलाउन सके शैक्षिक सामग्री तथा आवश्यक लत्ताकपडा, पौष्टिक आहार एवम् विभिन्न किसिमका खेलौना उपलब्ध गराउन सकिने बताए ।

    रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले प्रशासनिक कुरा भएको हुँदा सरोकारवाला निकायसँग समन्वय गरी उनका लागि आवश्यक कपडा, खेलौना र पौष्टिक आहारका लागि भने सहयोग गर्न सकिने बताए । उनले भने– नैसर्गिक अधिकारबाट कुनै पनि बालबालिकालाई वञ्चित गरिनु हुँदैन भन्ने हाम्रो मान्यता हो ।

    प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले हाल बालिका आमामै आश्रित भएको हुँदा आमाको साथमा राखिएको तर आमाको मञ्जुरी भएमा बालिकालाई तत्काल बन्दीगृहबाट बाहिर निकाल्न सकिने बताए । बच्चा निर्दोष भएको हुँदा उस्लाई कैदीबन्दी भन्न नमिल्ने र उसलाई अधिकारबाट वञ्चित गर्न पनि नहुने उनको धारणा छ । साथै बच्चाको भविष्यका बारेमा सबैभन्दा बढी उसका आफन्तलाई चिन्ता तथा चासो हुनुपर्ने प्रनाउ फुयालको सुझाव छ ।

    जिल्ला कारागार कार्यालय रोल्पा र तुल्सी आवासीय माविको आँगन एउटै हो केवल बीचमा एउटा पर्खाल छ भने करिब १०० मिटर टाढा सरकारी विद्यालय बाल मन्दिर छ तर पनि त्यहाँसम्म पुग्नका लागि आशाको पहुँच छैन । कसैले पर्खाल कटाउने व्यवस्था मिलाउन सके आशाले अन्य नागरिकसरह स्वतन्त्रतापूर्वक बाँच्नुका साथै शिक्षाको उज्यालो ज्योति पाउनबाट समेत वञ्चित हुनुपर्ने थिएन ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...