News Portal

  • एसइइको तामझामले निम्त्याएको मातम

    काठमाडौं, १८ चैत
    २७६५ पटक
    काठमाडौं, १८ चैत

    सूर्यप्रकाश मावि पलैंटे सुर्खेत पढेकी गौरीकला रोकाया एसईई परीक्षा दिन विद्याज्योति मावि बाबियाचौर आइन् । घरदेखि २ घण्टा टाढाको अर्को विद्यालयमा परीक्षा केन्द्र निर्धारण भएपछि उनको परिवारले बाबियाचौरमै कोठा खोजे । कोठामा उनी एक्लै बस्थिन् । तीन विषयको परीक्षा दिइन् । तर चौथो परीक्षा दिनु अगावै मंगलबार डेरामै मृत फेला परिन् । बलात्कारपछि हत्याको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    -बैतडी, कैलापालकी १७ वर्षीया पूजा बोहरा सिद्धेश्वर उमाविमा पढ्थिन् । ०६८ चैत ७ देखि सुरु एसएलसी परीक्षा केन्द्र बैतडी, पाटनबजारस्थित श्रीकृष्ण उमाविमा तोकियो । केन्द्रबाट उनको घर ५ घण्टा पैदल यात्रा गर्नुपथ्र्यो । परीक्षा बिहानै ८ बजेदेखि हुने भएपछि बुबाले बजारमै एक आफन्तको घरमा बस्ने व्यवस्था मिलाइदिए । दुई दिनको परीक्षापछि गणितको तयारीका लागि आफन्तको अनुमति लिएर उनी पाटनबजारस्थित पुस्तक पसलमा गेसपेपर किन्न गएकी थिइन् । पसलमा पानी माग्दा लठ्याउने पेय पदार्थ खुवाएर उनलाई बलात्कार गरियो । उनले परीक्षा दिन सकिनन् । मानसिक अस्पतालमा राखेर उपचार गराउनुपर्‍यो ।

    -कालिकोटको गेल केन्द्रबाट परीक्षा दिइरहेकी १८ वर्षीया छात्रा ०६९ चैत ७ गते बलात्कृत भइन् । उनी परीक्षा दिन आफन्तको घरमा बसेका बेला महिनावारी भएपछि छाउगोठमा सुतिरहेका बेला बलात्कृत भएकी थिइन् ।

    -संखुवासभाको महेश्वरी मावि, ताम्कुमा एसएलसी दिन आएकी १५ वर्षीया छात्रा ०७० चैत १५ मा बलात्कृत भइन् । याफुबाट ताम्कुमा परीक्षा दिन आएका बेला उनलाई प्रहरी जवान अमृत राईले बलात्कार गरेका थिए । आजको कान्तिपुरको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

    अध्ययन गरेकै विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) कायम गर्दा परीक्षा अमर्यादित हुने भन्दै विद्यार्थीलाई भन्दा सरकारलाई सहज हुने गरी परीक्षा केन्द्र तोक्ने व्यवस्था भने फेरिएको छैन ।

    ‘प्रयोगात्मकमा विद्यालयले २५ पूर्णांकमा २५ नै दिँदा विश्वास हुने, ७५ पूर्णांकको परीक्षामा पनि फेल हुने होइन,’ शिक्षाविद् प्रा. विद्यानाथ कोइरालाले भने, ‘जतिसुकै परीक्षा टाइट बनाए पनि चोरी रोकिने त होइन । त्यसैले जहाँ पढेको हो, त्यहीँ परीक्षा लिने संयन्त्र बनाए हुन्छ ।’ सरकारले आफ्नो सिस्टम राम्रो देखाउन विद्यार्थीलाई सास्ती दिइरहेको उनले बताए ।

    ‘अहिले राज्यलाई सहज हुने काम मात्रै गरेको छ । यो प्रणालीको क्षमता देखाउने दुस्साहस मात्रै हो,’ उनले भने, ‘विद्यार्थीलाई एउटा विद्यालयबाट अर्को विद्यालयमा लगी परीक्षा दिन लगाएर मानसिक तनाव दिइरहेको छ । बरु अन्यत्रबाट शिक्षक ल्याएर परीक्षा लिन लगाए भइहाल्यो नि ।’

    एउटा विद्यालयबाट सरकारलाई पायक पर्ने गरी तोकिएको केन्द्रमा परीक्षा लिन पठाउँदा कक्षाका सबै विद्यार्थी पठाउनुपर्ने हुन्छ । सरकारले व्यवस्थित योजना बनाउने हो भने अर्को विद्यालयका बढीमा १० जना शिक्षक मात्रै खटाए पुग्छ । सुपरिटेन्डेन्ट पनि अर्कै विद्यालयमा पठाउँदा हुन्छ । टाढाको विद्यालयमा परीक्षा दिन छोराछोरी पठाउँदा अभिभावकलाई सास्ती पनि हुँदैन । आर्थिक बोझ पनि बेहोर्नुपर्दैन ।

    अन्यत्र परीक्षा केन्द्रमा परीक्षा दिन पठाउँदा कोठा भाडा, खानका लागि ऋण गरेर पठाउनुपर्ने अभिभावक उत्तिकै छन् । शिक्षकलाई अर्को विद्यालयमा परीक्षा लिन पठाउँदा सरकारको लगानी मात्रै बढ्ने हो । अहिले पनि सरकारले परीक्षामा गार्ड बसेबापत भत्ता दिइरहेकै छ ।

    ‘१५ सय ऋण काढेर जाँच दिन पठाएको थिएँ’
    सुर्खेत, पञ्चपुरी नगरपालिका–३ चौरका ७० वर्षीय काले रोकायले आफू निरक्षर भए पनि छोरी गौरीकलालाई १० कक्षासम्म पढाउने सपना देखेका थिए । १५ सय ऋण काढेर एसईई दिन दुई घण्टा टाढाको बाबियाचौरस्थित परीक्षा केन्द्र पठाएका उनले त्यो सपना पूरा गर्न पाएनन् ।

    हिँडडुल गर्न पनि समस्या भएपछि रोकायले छिमेकीलाई छोरीका लागि कोठा खोजिदिन आग्रह गरेका थिए । परीक्षा अवधिभर (१५ दिन) को एक हजार रुपैयाँ भाडामा कोठा भेटियो । रोकाय परिवारको आर्थिक अवस्था यति कमजोर थियो कि त्यही खर्च जोहो गर्न पनि छिमेकीसँग ऋण लिनुपर्‍यो । छिमेकीसँग एक हजार ५ सय ऋण लिएर छोरीलाई खर्च पठाएको रोकायले सम्झिए । ‘छोरी जाँच दिन जाने भनेपछि गाउँमा ऋण खोजेर पठाएँ,’ उनले फोनमा कान्तिपुरसँग भने, ‘जाँच दिन पठाउँदा छोरी गुमाएँ ।’ गौरीकला उनकी कान्छी छोरी हुन् ।

    परीक्षाको तयारी कक्षा लिन कोचिङ पढाएको ऋण पनि अझै तिरेका छैनन् । गौरीकला चैत ४ गते घरबाट ओढ्ने–ओछ्याउने बोकेर बाबियाचौर पुगेकी थिइन् । घरबाट कहिल्यै टाढा नगएकी छोरी १५ दिन टाढिने भएपछि ६० वर्षीया आमा गामदेवी खिन्न भइन् । ‘१५ दिनसम्म अर्काका ठाउँमा के खान्छे, कसरी बस्छे भन्ने चिन्ताले रुँदै आमाछोरी छुट्टिएका थिए,’ रोकायले फोनमा सुनाए, ‘मरेको खबर सुन्दा सपनाजस्तो लाग्यो ।’

    गौरीकला अंग्रेजी र नेपाली विषयको परीक्षा दिएर चैत १० गते शनिबार चैते दसैं मनाउन घर आइन् । भोलिपल्ट फर्किइन् । १२ गतेको परीक्षा पनि दिइन् । त्यही राति उनी कोठामा मृत भेटिइन् । ‘हाम्रो परिवारमा आठ कक्षाभन्दा बढी पढ्ने कोही थिएन । छोरीले एसएलसी पास गरेको हेर्ने रहर थियो,’ रोकायले भने, ‘छोरी घरबाट गएको भोलिपल्टै हामीलाई शत्रु लाग्यो ।’

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...