News Portal

  • एसपीको मृत्यु र सिडिओ घाइते हुनेगरी बारामा भएको बारा दुर्घटना रहस्यमय

    इभक्तपुर संवाददाता
    ११७४ पटक

    काठमाडौं, ४ फागुन । बाराका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी उपरिक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन् ।

    प्रमुख जिल्ला अधिकारीका सवारी चालक जगतनारायण राउत कुर्मीले नियोजित रुपमा सो दुर्घटना गराई हत्या गराएको भन्दै पोखरेल र भट्टराईको परिवारजनले किटानी जाहेरी दिदै छानविनको माग गरेका हुन् ।

    माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्व पश्चिम राजमार्गको पसाहा पूल नजिक उक्त सवारी दुर्घटना भएको थियो । प्रजिअ भट्टराईका भाई नरेश भट्टराईले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त घटना नियोजित भएको शंका र आशंका गर्ने ठाउँ प्रसस्त देखिएकाले छानबिनको माग गर्नु परेको बताएका छन् ।

    ‘उक्त घटनाको प्रकृति हेर्दा नियोजित रुपमा घटाईएको देखिन्छ त्यसमाथी एउटा सामान्य चालकलाई जोगाउनका लागि बहालवाला सचिव देखी पुर्वसचिवसम्मका, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरुले लागे पछि हामी झन आश्चर्य चकित हुन पुगेका छौं,’ भट्टराईले पत्रकार सम्मेलन भने, ‘घटना प्रति गम्भिरता र जिम्मेवारीपुर्ण तरिकाले अनुसन्धान नगर्नु र एउटा चालकको पछि मुलुकका पावरफूल व्यक्तिहरु नै लाग्नुले घटनालाई झन रहस्यमय बनाएको हो ।’

    उनका अनुसार घटना घटेको तीन साता पुगिसक्दा पनि सामान्य केरकार बाहेक प्रहरीले अन्य अनुसन्धान गरेको देखिएको छैन । उक्त घटनामा परी प्रहरी उपरिक्षक पोखरेलको घटनास्थलमा नै निधन भएको थियो भने प्रजिअ भट्टराई हाल शिक्षण अस्पताल, महाराजगञ्जमा कोमामा उपचाररत छन् । प्रजिअ भट्टराई अझै अचेत अवस्थामा छन, उनको अझै होस खुलेको छैन । मृतक पोखरेलका परिवारले बारामा र भट्टराईका परिवारले महानगरिय प्रहरी वृत, महाराजगञ्जमा किटानी जाहेरी दिएकाछन् ।

    ‘चालक राउतले तिव्र गतिमा (प्रति घन्टा सय किमि भन्दा माथी) को गतिमा सवारी चलाउनु र रोकिराखेको ट्रयाक्टरको ट्रेलरमा नियोजित रुपमा ठोकाएको आशंका छ,’ प्रेस बिज्ञप्तिमा भनिएको छ, ‘घटना घटे लगत्तै चालक कुर्मीले प्रहरीलगायत सवन्धित निकायलाई कुनै जानकारी नदिएकाले पनि थप शंका उत्पन्न भएको छ, जबकी चालक कुर्मी दुर्घटनामा सामान्य घाइते भएका थिए ।’ भाई नरेशका अनुसार उक्त गाडीमा रहेका अंगरक्षकले सो दुर्घटना पछि चालक कुर्मीले अपत्यारिलो र असहज व्यवहार गरेको जानकारी दिएका छन् ।

    बारा बरमपुरीका स्थायी बासिन्दा चालक कुर्मी बिगत २३ बर्ष देखी निरन्तर बारा प्रजिअको सवारी चालकको रुपमा कार्यरत रहँदै आएका थिए । बाराको बरमपुरी गाउँ देखी कलैया, बिरगञ्जमा मात्रै होइन, उनै चालक कुर्मीले काठमाडौंको अनामनगरमा करोडौंको महलसमेत रहेको छ । ‘आफुलाई स्थायी सिडियो बताउँदै हिड्ने कुर्मीले बिचौलिया भएर गैरकानुनी काम गर्ने गरेको उनी निकट व्यक्तिहरुले हामीलाई भनिरहेका छन्’ प्रेस बिज्ञप्तिमा भनिएको छ । चालक कुर्मीले पैशा र उच्चपदस्थ ब्यक्तिको आडमा छानबिनलाई प्रभावित बनाउन खोजेको भट्टराई परिवारको आरोप छ ।

    ‘एउटा सामान्य चालकले यस्तो घटना गर्ला भनेर सामान्य मान्छेले पनि कल्पना गर्न सक्दैन तर जे जे चालक कुर्मीका वारेमा सुनिन थाल्यो, त्यसले त हामी मात्रै छक्क परेनौं, घटना नियोजित रहेको आशंका बढन थालेको छ’ भाई भट्टराईले भने, ‘नत्र हामी सामान्य दुर्घटना भनेर उपचारमा व्यस्त थियौं ।’ उनका अनुसार उक्त घटनालाई प्राकृतिक दुर्घटनाको रुपमा नलिई नियोजित देखिएकाले नेपाल सरकारसँग सत्य तथ्य छानबिनका लागि माग गर्नु परेको हो ।

    यस्तो छ पीडित परिवारले जारी गरेकाे विज्ञप्तिकाे पूर्ण पाठ 

    प्रेस विज्ञप्ति

    आदरणीय सञ्चारकर्मी मित्रहरु,

    गत २०७५ माघ १२ गते बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकाको पूर्व पश्चिम राजमार्गको पसाहा पूल नजिक भएको सवारी दुर्घटनाको बारेमा तपाईंहरु सबै जानकार नै हुनुहुन्छ ।

    उक्त घटनामा सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको घटनास्थलमै निधन भएको र प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई गम्भीर घाईते भई हालसम्म पनि अचेत अवस्थामा शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत हुनुहुन्छ ।

    तर, सो घटना दुर्घटना मात्र नभई नियोजित रुपमा गराइएको शंका गर्ने ठाउंहरु प्रसस्त मात्रामा देखिनु तथा प्रहरीले जुन रुपमा अनुसन्धान प्रकृयालाई गम्भीरता र जिम्मेवारी पूर्ण रुपमा अगाडी बढाउनुपर्ने थियो, घटना भएको तीन साता नाघिसक्दा पनि अनुसन्धान प्रभावकारी रुपमा अघि नबढ्नुले परिवार र आफन्तजनलाई झन पीडा दिएको छ।

    जिल्ला प्रशासन कार्यालय बारामा हलुका सवारी चालकको रुपमा कार्यरत जगत नारायण राउत कुर्मीले तीव्र (प्रतिघण्टा सय किमीभन्दामाथि) को गतिमा सवारी चलाउनु र रोकी राखेको ट्याक्टरको टेलरमा नियोजित रुपमा ठोक्काएको आशंका छ। सोही आशंकाका कारण मृतक पोखरेल र घाईते भट्टराई परिवारजनले जिल्ला प्रहरी कार्यालय बारा र काठमाडौंको महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा चालक कुर्मी विरुद्ध किटानी जाहेरी दिईसकेका छन्। तर यति गर्दा पनि प्रहरीले प्रभावकारी रुपमा अनुसन्धान प्रकृया अगाडी बढाएको देखिएन ।

    घटना लगत्तै चालक कुर्मीले प्रहरीलगायतका सम्बन्धित निकायलाई कुनै जानकारी नदिएकाले पनि थप शंका उत्पन्न भएको छ । जबकी चालक कुर्मी दुर्घटनामा सामान्य घाइते मात्र भएका थिए ।

    जिप्रका बारामा विगत २३ वर्षदेखि सवारी चालकको रुपमा रहेका कुर्मीको अकुत सम्पत्ति रहेको सुनिएको छ । सामान्य परिवारका कुर्मी कलैया, विरगंज र काठमाडौं स्थित अनामनगरमा करोडौंका घर जग्गा जोड्न सफल भएका छन् । आफूलाई स्थायी सिडियो बताउंदै हिड्ने कुर्मीले बिचौलियाको रुपमा गैरकानुनी रुपमा काम गर्ने गरेको उनी निकट व्यक्तिहरु बताउंछन् । नेपाल सरकारका पूर्व सीडीओ, सचिवदेखि अन्य उच्च पदस्थ बहालवाला पदाधिकारीले कुर्मी बचाउमा चासो देखाउनुले झन् घटनालाई थप रहस्यमयी बनाएको छ।

    सामान्य दुर्घटना सोचिएको यो घटना झनझन रहस्यमयी हुनु र मुलुककै बहालवाला र पूर्व सचिवसम्मको चासो बढ्नुले कतै घटनालाई सामसुम पार्न खोजिएको त होइन ? यो आशंका हामी परिवारजनमा परेको छ।

    उक्त दुर्घटनालाई सामान्य दुर्घटनाको रुपमा मात्रै नलिई नियोजित घटनाको रुपमा अर्थाउन सकिने देखिंदै गएको छ। तसर्थ, सो घटनाबारे सत्यतथ्य र निष्पक्ष छानविन गरि दोषीलाई कारबाहीको दायरामा ल्यान हामी परिवारजन सरकारसंग जोडदार माग गर्छौं।

    नरेश भटटराई
    मिति: २०७५।११।०४

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...