News Portal

  • पञ्जरां पर्वलाई नेपालमा दान दिवसका रुपमा मनाउन माग

    भक्तपुर, ९ भदौ
    २१२९ पटक
    भक्तपुर, ९ भदौ

    बौद्ध धर्ममा विशेष महत्वका साथ वर्णन गरिने पञ्जरां पर्व (पञ्च दान पर्व) लाई नेपालमा दान दिवसका रुपमा मनाइनु पर्नेमा जोड दिइएको छ ।

    सोमबार भक्तपुरको नपुखुस्थित चन्द्रायण सभाहलमा नेपाल परम्परागत बौद्धधर्म संघ, भक्तपुर शाखा, सम्यक महादान व्यवस्थापन समिति र नेवा: पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाद्वारा आयोजित ‘पन्च दान’ विषयक अन्तरक्रिया कार्यक्रममा पञ्जरां पर्व (पञ्चदान पर्व) लाई दिवसकै स्वरुप दिइनुपर्नेमा जोड दिइएको हो ।

    हरेक वर्ष गुंलागा त्रयोदशी (भाद्र कृष्ण त्रयोदशी) मा नेपाल मण्डलका बौद्ध धर्मावलम्बी नेवार समुदायले मनाउने यो पर्व हिन्दु धर्मावलम्बीले पनि महत्वपूर्ण पर्वको रुपमा मान्दै आएको र यसले दानलाई महत्व दिएकोले सर्वहिताए दान अभ्यासको प्रवर्दन गर्न यसलाई बृहतरुपले सम्पन्न गर्नुपर्ने विज्ञहरुको भनाइ छ ।

    कार्यक्रममा बौद्ध धर्म विज्ञ पुष्परत्न शाक्यले बुद्ध धर्ममा पञ्जरां ( पञ्चदान ) दिनाले प्राप्त हुने फल का बारेमा व्याख्या गर्दै दान गर्नाले लोभ नाश भई मनमा शान्ति प्राप्त हुने बताए । महायान बौद्ध सिद्धान्त अनुरुप बुद्ध बन्नको लागि आवश्यक गुण धर्ममा दान सर्वप्रथम आउने हुनाले बौद्ध चर्याको प्रथम अभ्यासको रुपमा यसको परम्परा बसि आएको उनले बताए ।

    अर्का विज्ञ शान्तरत्न बज्राचार्यले भक्तपुरमा पञ्चदानको हजार वर्ष अघिको प्राचिनता भएपनि राष्ट्रिय अन्तराष्ट्रिय रुपमा यसको प्रचार प्रसार हुन नसकेको भन्दै यसलाई राष्ट्रिय पर्वकै रुपमा मनाउनुपर्ने आवश्यकता औल्याए ।

    के हुन्छ पञ्जरां पर्वमा
    भक्तपुरमा आउने भाद्र ११ गते बुधवार पञ्जरां पर्वको दिन परेको छ । पाँच वटा दिपंकर बुद्धलाई भक्तपुरको सूर्यमढी टोलमा ल्याएर राखिन्छ । करिव २ घण्टा राखेर बिभिन्न टोलबाट आएका भक्तजनहरुले पुजा गरिसकेपछि त्यहाँबाट नजिकको टोल टोलमा घुमाउने चलन छ ।

    सूर्यमढीबाट भक्तपुर नगरको भित्रि भागको बिभिन्न टोलहरुमा घुमाउदै तःमार्हीमा पुर्याइने गरिन्छ । करिव २ घण्टा जति भक्तजनहरुलाई पुजा गराईन्छ । यतिबेलै तःमार्हीमा गुंलां पर्वमा बजाउने बाजाहरुको प्रदर्शनी गर्ने गरिन्छ । त्यस पछि साकोठाको तिन दोवाटोमा पाँच वटा दिपंकरहरु आ आफ्नो स्थान तिर लगे पछि पंञ्जरां पर्व सम्पन्न हुन्छ ।

    पञ्च दान

    पञ्जरां पर्व गर्ने दिनमा आ आफ्नो नगरमा प्रतिस्थापित दीपंकर बुद्ध लगायत संघ प्रमुखलाई निमन्त्रणा गरी आ-आफ्नो गच्छे अनुसार दान दिने प्रचलन छ । यो दिन अन्न, गेडागुडी, फलफूल, औषधी र सियो धागो दान गरिन्छ । पिण्डपत्र दानको रुपमा पनि यस पर्वलाई लिइने गरिन्छ । पञ्च दानको अर्थ पाँच बस्तुको दान नभई पाँच दीपंकर बुद्धलाई गरिने दान भएको बताइन्छ । नेवार समुदायमा शाक्य र बज्राचार्यले यो दान ग्रहण गर्दछन । दीपंकर बुद्धको मान्यता गरी उनको मुर्ति राखेर दान प्रदान गर्ने प्रचलन रही आएको पाइन्छ ।

     ध्यान दिनुपर्ने कुराहरु
    कार्यक्रममा विज्ञहरुले दान लिने र दिनेले देहायाबमोजिम कुरामा ध्यान दिनुपर्ने बताए ।

    १, यो परम्परालाई सहि रुपमा सुसंस्कृत गर्नको लागि दान गर्ने समूहले पनि स्वच्छ र शुद्ध मनले दानको महत्व बुझी दान दिनुपर्छ ।

    २, दान लिने व्यक्तिले पनि शुद्धको शील सदाचारलाई अपनाई शीलवान भई दानगाथा पढी दान गहण गर्नु पर्दछ । यसका अलावा प्राप्त भएको दानलाई सहि रुपमा सदुपयोग पनि गर्नुपर्दछ ।

    ३, भक्तपुरमा विशेष गरेर दीपंकर बुद्धको नगर परिक्रमा गरिने हुनाले बाटो सफा सुग्घर हुनु आवश्यक देखिन्छ । यसको लागि सम्बन्धित सबैले ध्यान दिनुपर्ने देखिन्छ ।

    सरकारले के गर्ने
    स्थानीय, प्रदेश र संघीय सरकारले यो पर्वलाई महत्व दिनुपर्ने आवश्यकता औल्याउदै बक्ताहरुले निम्न ध्यानाकर्षण गराएका छन् ।

    १, भक्तपुरका दीपंकार बुद्धहरु १००० बर्ष भन्दा पनि बढी प्राचिनता रहेको हुनाले यसको सुरक्षा गर्नको लागि सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी छ ।

    २, नेपालको सास्कृतिक नगर भक्तपुरको मौलिक र प्राचिन पर्व र जात्राको रुपमा भए पनि यसको उचित प्रचार प्रसार भएको देखिदैन । त्यसैले यसको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार हुनु पर्दछ ।

    ३, यसलाई राष्ट्रिय पर्वको रुपमा प्रवर्धन गरिनु पर्दछ । यो दिनमा प्रत्येक घर घरमा बौद्ध झण्डा र बुद्ध मूर्ति राखेर एक राष्ट्रिय पर्वको रुपमा मनाउनु आवश्यक छ । किनकि यस प्रकारको दानपर्व संसारमै कतै पनि देखिदैन ।

    तपाइँलाई यो अनलाइन कस्तो लाग्छ ? राम्रो लागेमा BhaktapurPost फेसबुक पेज लाइक गर्नुहोला

    प्रतिकृया दिनुहोस्

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...