News Portal

  • पञ्जरां पर्वलाई नेपालमा दान दिवसका रुपमा मनाउन माग

    भक्तपुर, ९ भदौ
    २००८ पटक
    भक्तपुर, ९ भदौ

    बौद्ध धर्ममा विशेष महत्वका साथ वर्णन गरिने पञ्जरां पर्व (पञ्च दान पर्व) लाई नेपालमा दान दिवसका रुपमा मनाइनु पर्नेमा जोड दिइएको छ ।

    सोमबार भक्तपुरको नपुखुस्थित चन्द्रायण सभाहलमा नेपाल परम्परागत बौद्धधर्म संघ, भक्तपुर शाखा, सम्यक महादान व्यवस्थापन समिति र नेवा: पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाद्वारा आयोजित ‘पन्च दान’ विषयक अन्तरक्रिया कार्यक्रममा पञ्जरां पर्व (पञ्चदान पर्व) लाई दिवसकै स्वरुप दिइनुपर्नेमा जोड दिइएको हो ।

    हरेक वर्ष गुंलागा त्रयोदशी (भाद्र कृष्ण त्रयोदशी) मा नेपाल मण्डलका बौद्ध धर्मावलम्बी नेवार समुदायले मनाउने यो पर्व हिन्दु धर्मावलम्बीले पनि महत्वपूर्ण पर्वको रुपमा मान्दै आएको र यसले दानलाई महत्व दिएकोले सर्वहिताए दान अभ्यासको प्रवर्दन गर्न यसलाई बृहतरुपले सम्पन्न गर्नुपर्ने विज्ञहरुको भनाइ छ ।

    कार्यक्रममा बौद्ध धर्म विज्ञ पुष्परत्न शाक्यले बुद्ध धर्ममा पञ्जरां ( पञ्चदान ) दिनाले प्राप्त हुने फल का बारेमा व्याख्या गर्दै दान गर्नाले लोभ नाश भई मनमा शान्ति प्राप्त हुने बताए । महायान बौद्ध सिद्धान्त अनुरुप बुद्ध बन्नको लागि आवश्यक गुण धर्ममा दान सर्वप्रथम आउने हुनाले बौद्ध चर्याको प्रथम अभ्यासको रुपमा यसको परम्परा बसि आएको उनले बताए ।

    अर्का विज्ञ शान्तरत्न बज्राचार्यले भक्तपुरमा पञ्चदानको हजार वर्ष अघिको प्राचिनता भएपनि राष्ट्रिय अन्तराष्ट्रिय रुपमा यसको प्रचार प्रसार हुन नसकेको भन्दै यसलाई राष्ट्रिय पर्वकै रुपमा मनाउनुपर्ने आवश्यकता औल्याए ।

    के हुन्छ पञ्जरां पर्वमा
    भक्तपुरमा आउने भाद्र ११ गते बुधवार पञ्जरां पर्वको दिन परेको छ । पाँच वटा दिपंकर बुद्धलाई भक्तपुरको सूर्यमढी टोलमा ल्याएर राखिन्छ । करिव २ घण्टा राखेर बिभिन्न टोलबाट आएका भक्तजनहरुले पुजा गरिसकेपछि त्यहाँबाट नजिकको टोल टोलमा घुमाउने चलन छ ।

    सूर्यमढीबाट भक्तपुर नगरको भित्रि भागको बिभिन्न टोलहरुमा घुमाउदै तःमार्हीमा पुर्याइने गरिन्छ । करिव २ घण्टा जति भक्तजनहरुलाई पुजा गराईन्छ । यतिबेलै तःमार्हीमा गुंलां पर्वमा बजाउने बाजाहरुको प्रदर्शनी गर्ने गरिन्छ । त्यस पछि साकोठाको तिन दोवाटोमा पाँच वटा दिपंकरहरु आ आफ्नो स्थान तिर लगे पछि पंञ्जरां पर्व सम्पन्न हुन्छ ।

    पञ्च दान

    पञ्जरां पर्व गर्ने दिनमा आ आफ्नो नगरमा प्रतिस्थापित दीपंकर बुद्ध लगायत संघ प्रमुखलाई निमन्त्रणा गरी आ-आफ्नो गच्छे अनुसार दान दिने प्रचलन छ । यो दिन अन्न, गेडागुडी, फलफूल, औषधी र सियो धागो दान गरिन्छ । पिण्डपत्र दानको रुपमा पनि यस पर्वलाई लिइने गरिन्छ । पञ्च दानको अर्थ पाँच बस्तुको दान नभई पाँच दीपंकर बुद्धलाई गरिने दान भएको बताइन्छ । नेवार समुदायमा शाक्य र बज्राचार्यले यो दान ग्रहण गर्दछन । दीपंकर बुद्धको मान्यता गरी उनको मुर्ति राखेर दान प्रदान गर्ने प्रचलन रही आएको पाइन्छ ।

     ध्यान दिनुपर्ने कुराहरु
    कार्यक्रममा विज्ञहरुले दान लिने र दिनेले देहायाबमोजिम कुरामा ध्यान दिनुपर्ने बताए ।

    १, यो परम्परालाई सहि रुपमा सुसंस्कृत गर्नको लागि दान गर्ने समूहले पनि स्वच्छ र शुद्ध मनले दानको महत्व बुझी दान दिनुपर्छ ।

    २, दान लिने व्यक्तिले पनि शुद्धको शील सदाचारलाई अपनाई शीलवान भई दानगाथा पढी दान गहण गर्नु पर्दछ । यसका अलावा प्राप्त भएको दानलाई सहि रुपमा सदुपयोग पनि गर्नुपर्दछ ।

    ३, भक्तपुरमा विशेष गरेर दीपंकर बुद्धको नगर परिक्रमा गरिने हुनाले बाटो सफा सुग्घर हुनु आवश्यक देखिन्छ । यसको लागि सम्बन्धित सबैले ध्यान दिनुपर्ने देखिन्छ ।

    सरकारले के गर्ने
    स्थानीय, प्रदेश र संघीय सरकारले यो पर्वलाई महत्व दिनुपर्ने आवश्यकता औल्याउदै बक्ताहरुले निम्न ध्यानाकर्षण गराएका छन् ।

    १, भक्तपुरका दीपंकार बुद्धहरु १००० बर्ष भन्दा पनि बढी प्राचिनता रहेको हुनाले यसको सुरक्षा गर्नको लागि सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी छ ।

    २, नेपालको सास्कृतिक नगर भक्तपुरको मौलिक र प्राचिन पर्व र जात्राको रुपमा भए पनि यसको उचित प्रचार प्रसार भएको देखिदैन । त्यसैले यसको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार हुनु पर्दछ ।

    ३, यसलाई राष्ट्रिय पर्वको रुपमा प्रवर्धन गरिनु पर्दछ । यो दिनमा प्रत्येक घर घरमा बौद्ध झण्डा र बुद्ध मूर्ति राखेर एक राष्ट्रिय पर्वको रुपमा मनाउनु आवश्यक छ । किनकि यस प्रकारको दानपर्व संसारमै कतै पनि देखिदैन ।

    तपाइँलाई यो अनलाइन कस्तो लाग्छ ? राम्रो लागेमा BhaktapurPost फेसबुक पेज लाइक गर्नुहोला

    प्रतिकृया दिनुहोस्

    खसीबोका चोरेर मासु बेच्ने गिरोह भक्तपुरमा समातियो

    भक्तपुरका विभिन्न ठाउँबाट घरको गोठमा बाँधिएका खसीबोका चोरीएको गुनासोले गर्दा सक्रिय प्रहरीले चोरीमा संलग्न दुई...

    प्रधानमन्त्री प्रचण्ड शनिवार सूर्यविनायक आउने

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुर आउने भएका छन् । शनिवार दिउँसो उनी भक्तपुरको सूर्यविनायक आउने...

    गृहमा रविले नसकेको रेकर्ड राख्न श्रेष्ठ सफल : पहिलो निर्णयले नै जोगियो देशको दैनिक पाँच लाख

    गृह मन्त्रालय सम्हाल्न पुगेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा गृहमन्त्री र गृहसचिवले खर्च गर्न पाउने...

    अरनिको हाइवेस्थित पलासेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको निधन

    भक्तपुरको अरनिको हाइवेस्थित सूर्यविनायक ९ पलासेचोकमा सवारी दुर्घटना हुँदा एक मोटरसाइकल चालकको ज्यान गएको छ...

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...