News Portal

  • चुनाव हारेपनि प्रतिवद्धताप्रति नेकपा प्रतिवद्ध : नगरकोटको सडकमा मन्त्रीसहितको अनुगमन

    भक्तपुर, १४ पुस
    १४०४ पटक
    भक्तपुर, १४ पुस

    ६ वर्षदेखि बन्न नसकेर थला परेको कमलविनायकको भत्केकोपाटीदेखि नगरकोट जोड्ने सडक मन्त्रीको आँखामा परेको छ । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ्ग नेतृत्वको एक विशेष टोलीले सोमबार विहानै यस सडकको स्थलगत अनुगमन सम्पन्न गरेको हो ।

    तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टाराईको मन्त्री मण्डलमा अर्थमन्त्री रहेका वर्षमान पुनले योजना पारिदिएपछि कमलविनायकको भत्केकोपाटीदेखि नगरकोट जोड्ने सडक बनाउन शुरु भए पनि सम्पन्न हुन नसक्दा स्थानीय मात्र होइन, पर्यटकीय क्षेत्र नगरकोट भ्रमण गर्ने सबै सास्ती भोग्न बाध्य छन् । दुई वर्षमा काम सक्ने जिम्मा लिएको सडक निर्माण कम्पनीले ६ वर्षमा पनि काम नसक्दा निर्माण कम्पनीसंगै सरकारको समेत आलोचना हुँदै आएको छ ।

    थपिएको समयमा सम्पन्न नगरे सह्य नहुने चेतावनी
    सोमबार आफ्नो मन्त्रलयका सचिव र सडक बिभागका महानिर्देशकसहितको विशेष सरकारी टोलीको नेतृत्व गर्दै अनुगमन गर्न आइपुगेका सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ्गसंग नेकपाका एक दर्जन नेताहरु, जिल्लाका सीडीओ र एसपी समेत सहभागी रहेका थिए । नेकपा केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेत, पार्टीका जिल्ला सहइन्चार्ज एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, जिसस प्रमुखसमेत रहेका नेकपा प्रदेश सदस्य नवराज गेलाल, नेकपाका भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजा, सचिव डीपी ढकाल लगायत नेताहरुले सडकको अवस्थाबारे मन्त्रीलाई अवगत गराएका थिए ।

    उक्त अवसरमा निर्माण कम्पनीलाई विशेष निर्देशन दिंदै मन्त्री नेम्बाङ्गले अब काम नगर्ने कुनै पनि बहाना स्वीकार नहुने चेतावनी दिए । जनताले ज्यादै नै सास्ती पाइसकेको गुनासो आएको बताउदै उनले काम नगरेर बहाना मात्र गर्ने निर्माण कम्पनीलाई आफ्नो कार्यकालमा उन्मुक्ति नहुने उद्घोष समेत गरे । ” हिजोको जस्तो अब चल्दैन । नयाँ परिस्थितिमा नयाँ ढंगले काम गर्नुस । कुनै पनि बहानामा काम रोक्ने र थपिएको समयमा सम्पन्न नगर्ने परिपाटी अब सह्य हुँदैन ।” निर्माण कम्पनीका प्रतिनिधिलाई मन्त्रीले आदेश दिए ।

    यस कारण समयमा सकिएन सडक निर्माण

    भारततीय एक्जिम बैंकको ऋण सहयोगमा सडक सुधार आयोजना अन्तर्गत तत्कालिन बाबुराम भट्टराइ नेतृत्वको सरकारको पालामा योजना स्वीकृत भएको करीब १६ किमीको यो सडक खण्ड चौडा गरी कालोपत्रे गर्न भारतीय कम्पनी एआइसीपिएल र नेपाली कम्पनी एससीपिएल (शैलुङ कन्स्ट्रक्सन) काठमाडौंले संयुक्त ठेक्का पारेको  थियो । ०७१ असार मसान्तमै निर्माण सम्पन्न गरिने गरी ठेक्का स्वीकार गरेपनि यी दुई कम्पनीले काम सम्पन्न गर्न सकेनन ।

    निर्माण कम्पनीले नाकाबन्दी, भूकम्प लगायत कारण देखाए पनि आफूले पाउनुपर्ने पैसा नपाउदा काम प्रभावित भएको निर्माण कम्पनीका प्रतिनिधि सुदन गौलीले सुनाए । गौलीका अनुसार सडक बिस्तारमा केहि स्थानीयको समेत असहयोग हुँदा काममा केहि समय ढिलाई भएको थियो । अहिले पनि आफ्ना कम्पनीका कामदारमाथि आक्रमण हुने गरेको उनको आरोप छ । करीब ५० प्रतिशत मात्रै काम सकेर फरार रहेको कम्पनी मङ्सिरबाट मात्र पुन: देखिनेगरी काममा जुटेको हो ।

    यसरी निर्माणले पुन: गति लियो
    गत मंसिर १४ गते निर्धारित उपनिर्वाचनको माहोल चाँगुनारायणमा निकै तातेको थियो । .सत्तारुढ दल नेकपाले उक्त सडक ३ महिनामा निर्माण सम्पन्न गर्ने आफ्नो चुनावी प्रतिवद्धता प्रस्तुत गर्यो । जनता आस्वासन भन्दा पनि परिणाम चाहन्थे तर निर्माण कम्पनी गायब थियो । यसले गर्दा स्थानीय नेकपाका नेताहरु चिन्तित थिए । चुनावी कार्यक्रम सम्बोधन गर्न नेकपाले आफ्ना प्रभावशाली केन्द्रीय नेताहरुलाई नै उक्त सडक हुँदै चाँगु क्षेत्रमा ओराल्यो । आफ्नै आखाँले सडकको दुर्गती देखेपछि र स्थानीय नेताकार्यकर्ताको आग्रहपछि केन्द्रीय नेताहरुले समेत पर्याप्त पहल गरेका र गायब भएको कम्पनी पुन : काम गर्न आएको नेकपाका जिल्ला कमिटी सदस्य युवराज आचार्यको जिकिर छ ।

    नेकपालाई प्रतिष्ठाको विषय

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गत उपनिर्वाचनमा यस क्षेत्रबाट हार ब्योहोर्न बाध्य भयो । गजबको कुरा त के भने नेकपाका उम्मेदवार डीपी ढकाल यो सडक आयोजनाका पहलकर्ता नै थिए । उनी तत्कालिन अर्थमन्त्री वर्षमान पुनको प्रमुख स्वकीय सचिव रहेका बेलामा यो आयोजनाले स्वीकृती पाएको थियो । तर उनले त्यसको जस लिन नपाइ समयमै सडक नबनाएको अपजस उनको पार्टीले पायो । जसलाई उनको हारको एक कारण समेत मानिंदै आएको छ । किनभने चुनावको बेला प्रतिस्पर्धी पार्टी र उम्मेदवारले केन्द्रीय सरकार र स्थानीय सरकारमा समेत नेकपाको नेतृत्व रहँदा बाटोको बेहाल बनेको र उक्त बाटोका ठेकेदार शारदा प्रसाद अधिकारी नेकपा अध्यक्ष प्रचण्डका घरबेटी भएको कुराको निकै नै प्रचार गरेका थिए ।

    चुनाव सकिएको ३ महिना भित्र सडक निर्माण सम्पन्न गर्ने नेकपाको प्रतिवद्धताप्रति जनताले समेत प्रश्न उठाए, प्रदेश सभामा पराजय त्यसको प्रमाण पनि हो । त्यसपछि नेकपाको लागि सडक निर्माण प्रतिष्ठाको विषय समेत भएको एक स्थानीयले बताए । चुनावी माहोल तात्नु अघि नेकपाका नेताहरु यस सडकको निर्माण सम्पन्न गर्ने कुरामा यति संवेदनशील नभएको स्थानीयको आरोप छ ।आफ्नै पहलमा योजना परेको कमलविनायक नगरकोट सडकको जस लिन नपाउदै अपजस बोक्न बाध्य बनेपछि नेता ढकाल पनि यो सडकको निर्माण सम्पन्न गर्न लागिपरेका छन् ।

    मेयर र सांसदको चिन्ता

    भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुख सोम मिश्र लाई सडकको दुर्दशाले दुखी बनाएको छ । केन्द्रीय बजेटमा बन्दै गरेको सडक भएपनि कतिपयले नबुझेर नगरपालिकालाई काम नगरेको भन्दै सराप्ने गरेको उनले सुनाए । आफूले पटक पटक समबन्धीत ठाउँमा गुहार माग्दै सडकलाई यहाँ सम्म ल्याएको उनको दावी छ । चाँगुनारायण नगरपालिकाको तर्फबाट सडक निर्माणमा सरकारको ध्यानाकर्षण गराउन संसद्को विकास समिति लगायत धेरै ठाउँमा पत्र समेत पठाउनुपरेको उनको भनाइ छ । उक्त सडकको विषयमा उक्त क्षेत्रका निर्वाचित संघीय सांसद एवं नेमकिपाका सचिव प्रेम सुवालले पटक पटक सरकारको विरोध प्रदर्शनको नेतृत्व नै गर्दै आइरहेका थिए ।

    निर्वाचन क्षेत्र नम्बर १ का जनप्रतिनिधि मात्र होइन, भक्तपुर २ का संघीय सांसद एवं नेकपा केन्द्रीय सदस्य महेश बस्नेत पनि यस सडक निर्माणको विषयमा अग्रसर देखिएका छन् । पूर्वमन्त्री समेत रहेका बस्नेतले राजनीतिक र प्रशासनिक सहजीकरण गर्दै आएका उनका स्वकीय सचिव दिनेश थापाको दावी छ । बस्नेतकै पहलमा गत असारको दोश्रो साता संसदको विकास तथा प्रविधि समितिले यो सडक ठेकेदारको लापारबाहीले अलपत्र भएको भन्दै सरकारलाई आवश्यक निर्देशन दिएको थियो  । चौथो पटक ठेकेदारलाई समय थपेर काम सक्न अन्तिम मौका दिइएको भन्दै यसमा बस्नेत लगायतका नेकपा नेताहरु लागिपरेको थापाले बताए ।

    स्थानीय उत्साहित

    सोमबार सम्बन्धीत मन्त्री, सचिव र डीजीलाई लिएर सांसद बस्नेत, मेयर मिश्र, नेकपाका जिल्ला अध्यक्ष देउजा र ढकाल लगायतको सडक अनुगमनले स्थानीय उत्साहित बनेका छन । वर्षौ सम्म सडक नबन्दा वर्षामा हिलाम्मे र हिउदमा धुलाम्मे हुनेगरेको सडकमा अब भने सहज आवागमन हुने उनीहरुले बिस्वास व्यक्त गरे । नेपाल भ्रमण बर्ष सन् २०२० को लागि कमलविनायक नगरकोट सडक निर्माण केहि महिनामै सम्पन्न गर्नुको विकल्प नभएको भन्दै स्थानीयले अनुगमन र निर्देशन प्रति आभार प्रकट गरेका थिए । अनुगमनका क्रममा स्थानीय युवा, बुद्धिजीवी, पर्यटन व्यवसायी र जनसमुदायले चासो देखाएका थिए । करीब ३३ करोड लागत रहेको १६ किलोमिटर लम्बाईको उक्त सडक निर्माणको सम्पूर्ण कार्य यसै वर्ष भित्र सम्पन्न हुने निर्माण कम्पनीले भक्तपुर पोस्टलाई जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...