News Portal

  • सामुदायिक विद्यालयमा नाम मात्रैको अंग्रेजी माध्यम !

    इभक्तपुर संवाददाता
    १६१९ पटक

    भक्तपुर । पुराना शिक्षकहरुसँग अंग्रेजी माध्यममा पढाउने क्षमता नै नहुँदा सामुदायिक विद्यालयमा नाममात्रैको अंग्रेजी माध्यम लागुभइरहेको सरोकारवालाहरुले बताएका छन् । तयारी बिनै विद्यालयमा अंग्रेजी माध्यम लाद्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव परेको उनीहरुले ठहर गरेका हुन् ।

    शिक्षा पत्रकार समूहले आयोजना गरेको विद्यालय तहमा माध्यम भाषासम्बन्धी अन्तक्र्रियामा सरोकारवालाहरुले सो कुरा बताएका हुन् । बाध्यतावश जबर्जस्तीरुपमा लागु गरिएको अंग्रेजी माध्यमले विद्यार्थीहरुको सिर्जनशीलता मारेको उनीहरुको गुनासो थियो ।

    कार्यक्रममा बोल्ने अधिकांश प्रधानाध्यापकहरुले अंग्रेजी माध्यम लागु गरिएपनि पुराना शिक्षकहरुले वास्तवमा अंग्रजीमा पढाउनै नसकेका अनुभव सुनाएका हुन् । प्रधानाध्यापकहरुले एकातिर अंग्रेजी माध्यमले पुराना शिक्षकहरुलाई सास्ती दिएको र अर्कोतर्फ विद्यार्थीहरुलाई घोकन्ते शिक्षातर्फ उन्मुख गराएको आरोप लगाएका हुन् ।

    कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षा शास्त्र केन्द्रीय विभागका डा. प्रेम फ्याकले अंग्रेजी माध्यमका बारेमा प्रस्तुति दिँदै अंग्रेजी माध्यम प्रतिको आकर्षण नेपालमा मात्रै नभइ संसारभरका विद्यालयमा व्याप्त रहेको बताए ।

    अक्फोर्ड विश्वविद्यालयले विश्वका ५५ देशमा गरेको अध्ययनमा ५२ दशमलव ७५ प्रतिशत सरकारी विद्यालयमा अंग्रेजीमाध्यम लागु भएको पाइएको भन्दै उनले ति देशहरुमा अंग्रेजी माध्यममा पढाउन सक्ने शिक्षकहरुको संख्या भने जम्मा १ दशमलव ८५ प्रतिशत मात्रै पाइएको बताए ।


    अभिभावकको चाहना अंग्रेजी मात्रै जानुन भन्ने हो कि अंग्रेजी पनि जानुन भन्ने हो पहिले प्रष्ट हुनुपर्ने भन्दै डा. फ्याकले विद्यार्थीले अंग्रेजी फरर बोल्न सक्नुलाई मात्रै दक्षता वा गुणस्तर मान्न नसकिने स्पष्ट पारे । ब्रिटिस काउन्सीलले गरेको एक अध्ययनलेसमेत अंग्रेजी माध्यमको लहडले अंग्रेजी भाषा शिक्षणलाई असर गरेको देखाएको उनले स्पष्ट पारे ।

    कार्यक्रममा बोल्दै चाँगुनारायण नगरपालिकाका चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले अभिभावकको अत्याधिक चाहनाले विद्यालयहरुले अंग्रेजी माध्यममा पठन–पाठन शुरु गरेपनि सोही अनुसार शिक्षक व्यवस्थापन गर्न नसक्दा त्यति प्रभावकारी हुन नसकेको बताए । मिश्रले अभिभावकको चाहना अंग्रेजी भएपनि शिक्षक र विद्यार्थीको क्षमतामा सुधार नआएसम्म त्यसलाई प्रभावकारी बनाउन नसकिने आफ्नो अनुभव सुनाए ।सबै शिक्षकमा समस्या छैन केहीमा समस्या देखिएका छन्, त्यसलाई कसरी सम्बोधन गर्ने भनेर नगरले तयारी गरिरहेकोसमेत मिश्रले जानकारी दिए ।

    अंग्रेजी माध्यमको लहडले विद्यार्थीहरुको न अंग्रेजी सुध्रीएको नत नेपाली र मातृभाषा नै सुध्रिएको उनको भनाइ थियो ।

    यस्तै, मध्यपुर नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अंग्रेजी भाषा मात्र भएपनि यसलाई गुणस्तरकै मानक मान्दा विद्यालयहरुमा समस्या देखिएका बताए । अभिभावककै चाहना भन्दै प्रारम्भिक बालविकास देखि नै बालबालिकालाई अंग्रेजी माध्यम लाद्नु उपयुक्त नभएको भन्दै उनले आवश्यकता र क्षमता अनुसार मात्रै अंग्रेजी माध्यम लागु गर्न विद्यालयहरुसुँग आग्रह गरे । माध्यम जुन भएपनि विषयवस्तुको शिक्षण सिकाइमा गुणस्तरीयता आउनुपर्नेमा नगरप्रमुख श्रेष्ठले जोड दिए ।


    चाँगुनारायण नगरपालिका वडाध्यक्ष गणेश त्यातले सामुदायिक विद्यालयहरुमा पछिल्लो दिनमा देखिएको अंग्रेजीको भूतले शिक्षण सिकाइलाई नै कमजोर पार्न खोजेको बताए । रहर र बाध्याले भन्दापनि आवश्यकता र क्षमताका आधारमा मात्रै अंग्रेजी माध्यम लागु गर्नुपर्नेमा उनको जोड थियो ।

    यसैगरी भक्तपुर नगरपालिकाका वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले अंग्रेजी माध्यम लहडमा नभइ आवश्यकता र तयारीका साथ लागु हुनुपर्नेमा जोड दिँदै सबै विषय नभइ विज्ञान र गणित विषय मात्रै अंग्रेजीमा पढाउनु उपर्युक्त हुने बताए । अंग्रेजी माध्यमकै कारण विद्यार्थी बढ्छन भन्ने कुरा सही नभएको भन्दै उनले मुख्य कुरा गुणस्तरीय शिक्षा भएकोमा जोड दिए ।

    शिक्षक शिवराम बोहजूले नेपालको संविधानमा प्रारम्भिक शिक्षा र प्राथमिक तहमा मातृभाषाको माध्यमबाट पढाउनु पर्ने व्यवस्था भएपनि विद्यालयमा प्रारम्भिक बालविकास देखि नै अंग्रेजी माध्यम लागु गरिनु संविधान विपरित हर्कत भएको बताए । साना कक्षामा मातृभाषा हुनुपर्नेमा ठीक उल्टो सानोमा अंग्रेजी र ठूलो कक्षामा नेपाली माध्यम हुनु गलत भएको उनको भनाइ थियो ।

    वागीश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले भने अंग्रेजी माध्यम लागु भएपछि विद्यालयको राम्रो नतिजा आएको अनुभव सुनाए । अंग्रेजी माध्यमबाट पढाउनका लागि शिक्षकहरुको क्षमतामा प्रश्न उठाउँदै शिक्षक सेवा आयोगबाट उत्कृष्ट भएका शिक्षकले पनि अग्रेजी माध्यमबाट पढाउन मुस्किल भएकाले निमाविका शिक्षकलाई प्राविमा सार्नु परेको आफ्नो भोगाइ सुनाए ।

    कार्यक्रममा शिक्षाकर्मी टिका भट्टराईले अंग्रेजीले सिकाइलाई बिस्तारै घोकाइ चर्फ उन्मुख गराउँदै गएको बताउँदै भाषालाई गुणस्तरका रुपमा नभइ ज्ञान र संस्कृतिको धरोहरको रुपमा बुझ्नुपर्ने स्पष्ट पारे । अभिभावकको चाहना भन्दै तयारी विना भटाभट विद्यालयहरुले अंग्रेजी माध्यम शुरु गर्दा शिक्षक र विद्यार्थीमाथि अन्याय भइरहेको उनको आरोप थियो ।

    अभिभावकहरुको चाहना छोराछोरीले अंग्रेजीमात्र राम्रो जानोस नभइ सबै विषय जानोस भन्ने तर्फ रहेकामा जोड दिँदै भट्टराईले शिक्षकहरुले विद्यार्थीलाई कमजोर भाषाबाट पढाउँदा शिक्षण पनि कमजोर बनेको बताए ।

    शिक्षा पत्रकार समूहकी अध्यक्ष रोश्ना सुब्बाले भक्तपुरमा अंग्रेजी माध्यम लागू गरिएका ६ विद्यालयको अवस्थाका बारेमा गरिएको अध्ययन प्रस्तुत गर्दै लहड र बाध्यताका कारण शुरु गरिएको अंग्रेजी माध्यमको अवस्था दयनीय रहेको बताइन् ।

    कतै शिक्षकहरुले पढाउन सकिरहेका छैनन् भने कतै विद्यार्थीहरुले नबुझीकनै पढ्न बाध्य भइरहेका छन् भन्दै उनले अध्ययनमा कतै अंग्रेजी माध्यमको पुस्तक विद्यालयहरुले नेपालीमा उल्था गरेर पढाएकोसमेत पाइएको बताइन् ।

    अंग्रेजी माध्यमको शिक्षण सिकाइलाई कसरी व्यवस्थापन गर्ने, प्रभावकारी कसर िबनाउन सकिन्छ र समस्याहरुलाई कसरी सम्बोधन गर्ने भनेर समूहले प्रदेशगत रुपमै छलफल चलाएको उनको भनाइ थियो ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...