News Portal

  • गृहमन्त्री अगाडी उभिएर मेयर प्रजापतिले भने: दरबारमा बस्नेले टहरामा बस्नेको दुःख बुझ्न सक्दैन

    भक्तपुर, २ माघ
    ३३८७ पटक
    भक्तपुर, २ माघ

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दरबारमा बस्नेले सडक र टहरामा बस्नेको दुःख बुझ्न नसक्ने बताएका छन् । विहीवार भक्तपुरको दरवार क्षेत्रमा आयोजित २२ औं रास्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोहलाई सम्वोधन गर्दै प्रमुख प्रजापतिले भूकम्प पीडितहरूको ब्यथा सरकारले बुझ्न नसकेको आरोप लगाएका हुन् ।

    सरकारका गृहमन्त्री राम बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मेयर प्रजापतिले भूकम्पमा भत्किएका जनताको घर अझैपनि बन्न नसकेको बताए । पुन:निर्माणमा राज्यले दिने अनुदान रकम कम भएकोले वृद्धि गर्नुपर्ने, अनुदान किस्ताबन्दीमा नभई एकमुस्ट दिनुपर्ने र अनुदान वितरणको समय बढाउनुपर्ने उनको माग छ । त्यतिमात्र होइन,घरवारविहीन सुकुम्वासीहरूको निम्ति नेपाल सरकारले नै घर निर्माण गरी उचित व्यवस्थापन गर्नुपर्नेतर्फ पनि प्रमुख प्रजापतिले ध्यानाकर्षण गराएका छन् ।

    पढ्नुस् उनको सम्बोधनको पूर्णपाठ

    ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ मूल नाराका साथ २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा हुन गइरहेको यो कार्यक्रमले हामी भक्तपुरबासीलगायत सम्पूर्ण देशबासीलाई भूकम्पबाट सुरक्षित हुने विषयमा थप सचेत बनाउने अपेक्षा गरेका छौं ।

    वि.स. १९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनास्वरुप हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवस मनाउँदै आएको हो । भूकम्प प्राकृतिक विपति हो । यसलाई कसैले रोक्न सक्दैन । समय समयमा भूकम्प आइरहन्छ तर त्यसबाट जोगिन पूर्वतयारी आवश्यक छ । वास्तवमा भूकम्पले भन्दा हामीले बनाएका कमजोर संरचनाले हाम्रो धनजनको क्षति हुने हो । हाम्रा हरेक संरचना बलियो, भरपर्दो र गुणस्तरीय हुनु आवश्यक छ । त्यसको लागि संघ, प्रदेश र स्थानीय सबै तहका सरकारहरु जिम्मेवार हुनुपर्छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई जनचेतना फैलाउने एक महत्वपूर्ण अभियानको रुपमा लिइनु पर्छ ।

    भक्तपुर कला र संस्कृतिले भरिएको प्राचीन नगर हो । देशको सानो नगरपालिकामध्ये एक भक्तपुर नगरमा मूर्त र अमूर्त गरी थुप्रै अनुपम सम्पदाहरू छन् । दरबार क्षेत्र, टौमढी क्षेत्र, दत्तात्रय क्षेत्र भक्तपुरका विशेष आकर्षणका सम्पदा केन्द्रहरू हुन् भने पुरानो बस्ती सिंगो नै सम्पदा बस्ती हो । लिच्छवीकाल र मल्लकालमा निर्मित कयांैसम्पदाहरू अहिले पनि जीवन्त छन् । संरक्षणको अभावमा कयौं सम्पदाहरु लोप भइसके भने कयौं लोपोन्मुख स्थितिमा छन् । भक्तपुर नगरपालिकाले सम्पदा क्षेत्रहरूको अध्ययन र अनुसन्धान गर्दै सम्पदाहरूलाई पुनःजीवन दिने कोसिस गरिरहेको छ ।

    ङातापोल (५ तले मन्दिर), भैरवनाथको मन्दिर, ५५ झ्याल दरबार, सुनढोकालगायत काष्ठकला, प्रष्टरकला र धातुकलाका उत्कृष्ट नमुनाहरू छन् । भूकम्पबाट क्षतिग्रस्त भैरवनाथको मन्दिर हालै जीर्णोद्धार सम्पन्न गरिसकेका छौं भने ङातापोल (५ तले मन्दिर) जीर्णोद्धार गर्दैछौं । बिग्रे–भत्केका सम्पदाहरूको संरक्षण र सम्बद्र्धन गर्दै भक्तपुर नगरपालिका ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ नारालाई सार्थक बनाउन क्रियाशील छ ।

    २०७२ सालको भूकम्पले अति प्रभावित जिल्लाहरूमध्ये भक्तपुर पनि एक हो । भक्तपर जिल्लाका चार नगरपालिकामध्ये भक्तपुर नगरपालिकामा मात्र आंशिक र पूर्ण गरी करिब ८ हजार घरमा क्षति पुगेको र २५२ जना नागरिकको ज्यान गएको थियो । क्षतिग्रस्त निजी घरहरुमध्ये पहिलो किस्ता लिने लाभग्राहीहरूको संख्या ५६३७, दोस्रो किस्ता लिने लाभग्राहीहरुको संख्या १८७४ र तेस्रो किस्ता लिने लाभग्राहीहरू १५७२ मात्रै छन् । भूकम्प गएको ४ वर्ष बितिसक्दा पनि धेरै घरहरु निर्माण गर्न बाँकी छन् । जग्गामा पीडितहरुको पूर्ण स्वामित्व कायम नहुनु,मोहियानी हक, गुठी जग्गा वा दर्ताविनाको जग्गामा घर बनाएर बस्नु, एउटै घरमा बहुस्वामित्व कायम हुनु, सरकारले किस्ताबन्दीमा अनुदान वितरण गर्नु र पहिलो किस्तावापत माटो पन्छाउन पनि नपुग्ने रु. ५० हजार मात्र दिनु पीडितहरुले घर बनाउन नसक्नुका प्रमुख कारणहरु हुन् ।

    पुनः निर्माणसंगै निजी घर निर्माणमा पनि मौलिकतालाई नगरपालिकाले जोड दि“दै आएको छ । मौलिकता नै हाम्रो पहिचान हो । पुरानो नगरभित्र मौलिक शैलीमा घर निर्माण गर्ने घरधनीहरुलाई घरको मोहडामा लाग्ने काठ, इटा र झिंगटीको लागि लाग्ने खर्चमध्ये ३५ प्रतिशत रकम नगरपालिकाले अनुदान दिई उत्साहित गर्दै आएका छौं । हजारौं घरहरु र सम्पदाहरु निर्माण गर्नु हाम्रो लागि ठूलो चुनौति हो । यद्यपिनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे(रोहित)ले कल्पना गर्नुभएको १०० वर्षपछिको भक्तपुर पुस्तक अनुसार आधार निर्माण गर्ने यो एक महत्वपूर्ण अवसरको रुपमा पनि हामीले लिएका छौं ।

    भूकम्पबाट भक्तपुर नगरभित्र रहेका ११५ भन्दा बढी सम्पदाहरुमा क्षति भएको थियो । नगरपालिकाले आफ्नो स्रोत र साधनको अधिकत्तम परिचालन गरी २०७६ मंसिर १ गतेसम्म ९१ वटा सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरिसकेको छ भने डेढ दर्जन सम्पदाहरू निर्माणाधीन छन् । हालसम्म सम्पदा पुनःनिर्माणमा नगरपालिकाले २५ करोड ४९ लाख ५२ हजार रुपैया“ खर्च गरिसकेको छ । सम्पदा पुनःनिर्माणमा कुनै विदेशीको सहयोग छैन ।

    भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप इन्जिनियरिड्ड कलेजमा नेपालमै पहिलो पटक भूकम्प प्रविधि विषयमा स्नातकोत्तर तहको अध्यापन गराई ख्वप इन्जिनियरिड्ड कलेज र ख्वप कलेज अफ इन्जिनियरिड्डका प्राविधिकहरुमार्फत भूकम्पले क्षति पु¥याएका सम्पदाहरुको विस्तृत इन्जिनियरिड्ड अध्ययन गराइरहेका छौं । उहा“हरुको अध्ययन प्रतिवेदनकै आधारमा भक्तपुर नगरपालिकाले सम्पदा पुनः निर्माण कार्यलाई तीब्रता दिइरहेको छ ।

    हामी ठेकेदारलाई भन्दा स्थानीय जनतालाई विश्वास गर्छौं । स्थानीय जनताबाट बनेका उपभोक्ता समितिहरूमार्फत नै भक्तपुरका सम्पदाहरू पुनःनिर्माण हुँदैछन् । उपभोक्तामार्फत काम हुँदा मौलिकताको संरक्षण हुने, सम्पदामाथिको अपनत्व कायम रहने, स्थानीय जनताले रोजगारी पाउने र निर्माण गुणस्तरीय हुने हाम्रो अनुभव छ ।

    भक्तपुरमा रहेका केही महत्वपूर्ण सम्पदाहरू अझै पुनःनिर्माण हुन सकेका छैनन् । दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालय रहेको भवन र लाल बैठक पुनःनिर्माण गर्न बाँकी छन् । ती भवनहरू मल्लकालीन समयमा एउटै दरबार थियो । राणाकालमा मात्रै टुक्राएर दुई अलग अलग भवन निर्माण भएको इतिहास छ । भक्तपुर नगरपालिकाले विगतका फोटाहरू, ऐतिहासिक तथ्य र प्रमाणहरूको आधारमा मल्लकालीन शैलीमै निर्माण गर्नुपर्ने अडानपछि २०७५÷४÷८ मा भक्तपुर नगरपालिका, संस्कृति मन्त्रालय र पुरातत्व विभागको संयुक्त बैठकले मल्लकालीन शैलीमै नगरपालिकाले बनाउने निर्णय ग¥यो । तर बजेट व्यवस्था नहुनु र पुरातत्व विभागले आवश्यक प्रक्रिया अगाडि नबढाउँदा कार्य सुरु हुन सकेको छैन । भनपा वडा नं. ९ स्थित पुजारी मठ, पहिले नगरपालिका कार्यालय रहेको थन्थु दरबारलगायत बजेट र प्राविधिक कारण पुनःनिर्माणमा ढिलाइ भइरहेको यथार्थ यहाँ प्रस्ट पार्न चाहन्छौं ।

    ‘दरबारमा बस्नेले सडक र टहरामा बस्नेको दुःख बुझ्दैनन्’ भन्ने जनताबीच व्यापक चर्चा छ । यसर्थ भूकम्प पीडितहरूलाई दिने अनुदान रकम वृद्धि गर्नुपर्ने, अनुदान किस्ताबन्दीमा नभई एकमुस्ट दिनुपर्ने, अनुदान वितरणको समय बढाउनुपर्ने र घरवारविहीन सुकुम्वासीहरूको निम्ति नेपाल सरकारले नै घर निर्माण गरी उचित व्यवस्थापन गर्नुपर्नेतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छौं ।
    विपद् व्यवस्थापनको लागि भक्तपुर नगरपालिकाले विपद व्यवस्थापन ऐन २०७४ पारित गरी नगर प्रमुखको अध्यक्षतामा विपद् व्यवस्थापन नगरसमिति गठन गरिसकेको छ । विपद व्यवस्थापन कोषको रुपमा रु. २० लाख नगरपालिकाले विनियोजन गरेको र अन्य क्षेत्रबाट प्राप्त रकम पनि त्यही कोषमा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । नगरपालिकाले नेपाली सेनासँग समन्वय गरी तीनवटा समूहलाई विपद व्यवस्थापन तालिम दिइसकेको छ ।

    नगरभित्र १२२ जना तालिमप्राप्त विपद व्यवस्थापन उद्धारकर्ताहरू तयारी अवस्थामा छन् । त्यसबाहेक विभिन्न संस्थासित समन्वय गरी विपद् व्यवस्थापन र क्षति न्युनीकरणसम्बन्धी कार्यहरु पनि गर्दै आएका छौं । भूकम्पबाट क्षति न्युनीकरण गर्न नेपाल सरकार, नगरपालिका र भवन विभागको भवन निर्माण मापदण्डलाई कडाइका साथ लागु गर्दै आएका छौं ।

    उपस्थित जनसमुदाय,
    नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख विदेशी पर्यटक भित्र्याउने योजना सार्वजनिक ग¥यो । त्यसलाई सहयोग पु¥याउने उद्देश्यले भक्तपुर नगरपालिकाले विभिन्न पर्यटन केन्द्रित गतिविधि गर्दैछ । भक्तपुर आउने र यही बास बस्ने पर्यटकहरूको लागि टोल–टोलमा रहेका पाटी–पौवाहरूमा भजन गाउने, चोक–चोकमा सांस्कृतिक प्रदर्शन गर्नेजस्ता तयारी सुरु गरेको छ ।
    आर्थिक वर्ष २०७५÷७६ मा भक्तपुरमा जम्मा २ लाख ५३ हजार ८६३ जनाले भक्तपुर भ्रमण गरेका थिए भने आ.व. २०७६÷७७ को साउनदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा जम्मा १ लाख ३३ हजार ६३२ जना पर्यटकहरूले भक्तपुर भ्रमण गरेको रेकर्ड छ ।

    भक्तपुर आउने पर्यटकहरूले कुनै किसिमको असहजता महसुस गर्न नपरुन् भन्ने उद्देश्यले ठाउँ ठाउँमा पर्यटक सूचना केन्द्र निर्माण, तालिम प्राप्त स्थानीय पथप्रदर्शकहरूको व्यवस्था, महत्वपूर्ण सम्पदा क्षेत्रहरूमा गाडी निषेध, चिनियाँ र जापानी भाषाको कक्षा संचालन र मूल सडकमा ढुंगा छपाई तथा आवश्यक शौचालयको बन्दोबस्त पनि नगरपालिकाले गरेको छ ।

    पर्यटकहरूको लागि सुरक्षा अति महत्वपूर्ण हुने हुँदा प्रमुख ठाउँहरूमा सीसी क्यामेराको बन्दोबस्त, प्रहरीसँग समन्वय गरी समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई पनि सक्रिय बनाउने हाम्रो प्रयास हुँदै आएको छ । पर्यटकहरूको बसाइ लम्ब्याउने र मनोरञ्जन लिन सक्ने गरी सिद्धपोखरीमा नौका बिहार, सम्पदा क्षेत्रमा बत्ती व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्य गर्दै आएका छौं ।

    भ्रमण वर्षकै अवसर पारेर भक्तपुर नगरपालिकाले २०७६ चैत ४ गतेदेखि ८ गतेसम्म ५ दिने भक्तपुर महोत्सव गर्ने घोषणा गरिसकेको पनि यहाँ जानकारी गराउन चाहन्छौं । महोत्सवमा हस्तकलाको जीवन्त प्रदर्शनी, व्यापार मेला, नौका बिहार, शैक्षिक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, वाद्यवादन प्रतियोगिता गर्ने तयारी छ भने नेवारी परम्परागत जीवनशैली प्रदर्शनी, माटाका भाँडाको सीप प्रदर्शनीलगायत प्रदर्शन गरी महोत्सव भव्य बनाउने कोशिश भइरहेको छ ।

    उक्त महोत्सव भव्य रुपमा सम्पन्न गर्न नगर प्रमुखको अध्यक्षतामा १६१ सदस्यीय महोत्सव मूल समारोह समिति गठन गरी तयारी अगाडि बढाइसकेको छ भने सन् २०२० भरि नै महोत्सवमय बनाउने उद्देश्यले मासिक रुपमा विभिन्न गतिविधिहरू गर्ने व्यवस्था मिलाउँदैछौं ।
    अन्तमा, २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन विभिन्न संस्थाबाट पाल्नु भएका सम्पूर्ण सहभागीहरुलाई भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद दिन्छु ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...