News Portal

  • सम्पादकीय : आइसोलेसन सेन्टरको विरोध बन्द गरौँ,भक्तपुरले शरणलाई मरण दिएको इतिहास छैन

    संजीप शुभचिन्तक भक्तपुर, २८ माघ
    १२७४ पटक
    भक्तपुर, २८ माघ

    बिक्रम सम्बत १८२६ कात्तिक सम्म भक्तपुर बेग्लै राज्य थियो । सोही वर्ष मङ्सिर १ गते यो तत्कालिन गोर्खा राज्यको एकीकरणमा परेको थियो । गोर्खाली राजा पृथ्वी नारायण शाहले भक्तपुरका तत्कालिन राजा रणजीत मल्ल आफ्नै मित बुबा भएकोले आक्रमण गरेका थिएनन तर कान्तिपुरका राजा जयप्रकाश मल्ल र पाटनका तेजनरसिंह मल्ललाई शरण दिएपछि गोर्खा र भक्तपुरको सम्बन्ध बिग्रिएको इतिहासमा उल्लेख छ । शरण दिएकालाइ मरण हुन नदिने दृढ संकल्प लिएपछि अन्तत: युद्ध भएको र भक्तपुरले आफ्नो राज्य गुमाएको इतिहास पढ्न पाइन्छ । आफ्नो राज्य गुमाउनु पर्दा समेत शरण दिने संकल्पबाट बिचलित नभएको तत्कालिन सत्ताको चरित्र यतिबेला एकादेशको कथा झैँ बन्न पुगेको देखिन्छ ।

    यतिबेला राज्यमाथि अरुलाई होइन, आफ्नै नागरिकलाई नै उद्धार गर्न नसकेको भन्दै आलोचना भैरहेको छ । चीनको वुहान र हुवेइ क्षेत्रमा महामारीकै रुपमा फैलिएको नोभेल कोरोना भाइरसका कारण त्यहाँ फसिरहेका खासगरी नेपाली विद्यार्थीहरुको बिलौना ह्दयविदारक छ । तिनका बाआमा र आफन्तहरुले मात्र होइन, मुटु भएका जोकोही मान्छेहरुले मुटु छियाछिया हुनेगरी उनीहरुको दुख महसुस गर्न सक्छन । तर, यस्तो अवस्थामा पनि भक्तपुर उनीहरुलाई आफ्नो ठाउमा राख्न नल्याउन आवाज उठाउछ भने भक्तपुरले मानवताको मूल्यमान्यता विर्सिएको देखिनु स्वभाविकै हुन्छ । यस्तो अवस्थामा भक्तपुर एउटा भिलेनको भूमिका निभाइरहेको प्रतित हुन्छ जो आफ्नो स्वार्थका लागि अर्काको स्वार्थलाई आत्मसाथ गर्न सकिरहेको छैन ।

    सरकारले चीन बाट नेपाल फर्कने इच्छा राखेका १८० जनालाई भक्तपुरको चाँगुनारायण नगरपालिकामा पर्ने खरिपाटी स्थित विद्युत प्राधिकरणको तालिम केन्द्र र सूर्वाविनायकस्थित सैनिक ब्यारेकमा ‘आइसोलेसन सेन्टर’ बनाएर राख्ने योजना सार्वजनिक गरेको छ । पहिलो दिनबाट नै खरिपाटीमा उनीहरुलाई ल्याइन नहुने भन्दै विरोध प्रदर्शन भएको थियो । चाँगुनारायण नगरपालिकाको नगर सभाले समेत उनीहरुलाई अन्यत्र राख्न सरकार संग अनुरोध गर्ने निर्णय नै गरेको छ । भक्तपुरका कुनैपनि राजनीतिक दल अथवा संघसस्थाले सरकारी निर्णयलाई स्वीकार गरेको देखिएको छैन । सिधा सिधा भन्ने हो भने चीनबाट नेपाली ल्याएर राखे भक्तपुरमा कोरोना भाइरसको संक्रमण फैलन्छ भन्ने आम सोचाइले भक्तपुर त्रसित बनेको देखिन्छ । जनतालाई कोरोना भाइरसबारे सुसूचित गर्नु र उद्धार गर्न लागिएका नेपाली भाइरस संक्रमित होइनन भन्ने बुझाउनुको साटो उल्टै उनीहरुलाई ल्याउनु हुदैन भन्ने मानसिकताले प्रेरित स्थानीय सरकार र राजनीतिक दलहरुका व्यवहारका कारण भक्तपुरका स्थानीय भ्रमित र त्रसित बन्नु स्वाभाविकै हो ।

    भक्तपुरलाई कोरोना भाइरस र उद्धार गर्ने भनिएका नेपालीको अवस्था बारे अवगत गराउने प्रयास कहीं कतैबाट भएको देखिएको छैन । त्यहाँ फसिरहेका नेपालीमा भक्तपुरले आफ्नै छोराछोरी वा दाजुभाइ दिदीबहिनीको अनुहार देख्न सक्ने बातावरण कोहि कसैले बनाउन खोजेको पनि देखिंदैन । चीनमा रहेका भक्तपुरकै विद्यार्थीसमेत भक्तपुरको विरोध अनलाइनबाट देख्न पढ्न बाध्य छन् । राष्ट्रिय मानवअधिकार आयोगले समेत चीनको वुहानमा रहेका नेपालीलाई छिटो स्वेदश फर्काउन सरकारलाई निर्देशन दिएको छ । त्यहाँ रहेका नेपालीमा भाइरसको संक्रमण हुने जोखिम बढेको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो । यस्तो अवस्थामा भक्तपुर कसरी मानवता बिरोधी बन्न सक्छ ? तैपनि समाचारका प्रत्येक शब्दमा भक्तपुरले गर्दा नै उद्धार हुन नसकेको झैँ चित्र प्रस्तुत गरिंदा चीनमा रहेका नागरिक र तिनका आफन्तजनमा भक्तपुरप्रति एउटा भिलेनको प्रतिमूर्ती जबर्जस्ती स्थापित गर्ने प्रयास भैरहेको छ ।

    राज्यले भरोसा दिन सक्यो भने भक्तपुरले पनि राज्यलाई भर दिने कुरामा द्विविधा गर्नुहुदैन । तर, राज्यले त्यो भरोसा दिलाउन सकेको छैन । चीनबाट उद्धार गरिने नेपाली विरामी होइनन र उनीहरुलाई यहाँ ल्याउदा भाइरस फ़ैलदैन भन्ने कुराको विस्वास दिलाउन नसक्नुले सरकार आफै समेत यस विषयमा विस्वस्त हुन नसकेको पो हो कि भन्ने भान हुन्छ । यदी ल्याउदा खतरा छ भने नलुकाई भनिदिए हुन्छ । मित्रराष्ट्र पाकिस्तानले यस अघि नै आफ्ना नागरिक फिर्ता नल्याउने भनिसकेको छ । होइन, खतरा हुन्न्ना भने कन्भिन्स गर्न किन खोजिरहेको देखिदैन ? राज्य संचालक हुनुको नाताले सरकार आलोचना गर्न लायक भएको छ । १ हजार बढीको ज्यान गैसक्दा पनि र चीनलाई संक्रमण नियन्त्रमा चुनौती भैरहदा पनि आफ्ना नागरिक ल्याउछु भन्दै अलपत्र छाडीराख्ने काम सरकारको सुस्तताको अर्को उदाहरण बनेको छ । तर, सरकारलाई मात्र दोष थुपारेर हामी पानी माथिको ओभानो हुन सक्दैनौ । अख्तियारको अनुसन्धानको विषयलाई लिएर संसद नै अवरुद्ध गर्नसक्ने प्रमुख प्रतिपक्ष दलको यस विषयमा भएको पहलकदमी पनि आलोचनामुक्त छैन । नेपाली संचारजगतले समेत कोरोना भाइरसबाट सतर्क बनाउनु साटो आतंकित पार्ने समाचारलाई प्राथमिकतामा राख्नु हुँदैन भने राजनीतिक विषयमा मात्र जुर्मुराउने नागरिक समाजले यस विषयमा आफ्नो धारणा बाहिर ल्याउनु जरुरी छ । भक्तपुर ‘आइसोलेसन सेन्टर’ का लागि ठिक कि बेठिक भन्ने कुरा विज्ञ समुदायले सुसूचित गरिदिनुपर्दछ।

    भक्तपुरमा ‘आइसोलेसन सेन्टर’ राख्न नदिनेसम्मको नारा–जुलुसले मानवीय संवेदनामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ । यहाँका राजनीतिक दलहरु भोटको राजनीति बाट माथि उठ्न नसकेको आभाष भैरहेको छ भने स्थानीय आस्वस्त हुन नसकिरहेको देखिन्छ । नागरिकका लागि राज्य भन्दा माथि कोहि हुन सक्दैन । राज्य संचालक हुनुको नाताले सरकारले आफ्नो नागरिकप्रति देखाउनुपर्ने विवेक र अपनत्व प्रदर्शन गरोस् । आफ्ना नागरिकको सुरक्षाको ग्यारेन्टी सरकारले अविलम्ब गरोस्, मानवताको सवालमा भक्तपुर भावसून्य हुनै सक्दैन ।आइसोलेसन सेन्टरको विरोध बन्द गरौँ । भक्तपुरले राज्य नै गुमाएको इतिहास छ तर शरणलाई मरण दिएको इतिहास छैन ।

    प्रतिकृया दिनुहोस्

    मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउन मन्त्री भुसालको निर्देशन

    उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवस्यक पर्ने जग्गा अधिग्रहण...

    शिरमा देश र मनमा मधेश : प्रदेश प्रमुख अहिराजका १२ काम

    rajesh ahiraj

    प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले शिरमा देश र मनमा मधेश राखेर काम गरिरहेको...

    अपि पावर कम्पनी लिमिटेडको शेयर आजदेखि लिलाममा

    अपि पावर कम्पनी लिमिटेड ले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सेयर आज साउन १३ गतेदेखि...

    Chinese Democracy Develops Living Standard

    The definition of democracy It is said that democracy is the system of governance for...

    महन्थको राजनीती धरापमा

      निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ ।...