२ श्रावण २०७७काठमाडौँ । कोभिड–१९ का कारण ऋण तिर्न नसकेका ऋणीलाई विशेष सुविधासहित आज चालू आवको मौद्रिक नीति सार्वजनिक हुने भएको छ । बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकबाट पारित भएपछि राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्न लागेको गभर्नर महाप्रसाद अधिकारीले बताए ।
दिउँसो तीन बजे नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत मौद्रिक नीति जारी गरिने उनले जानकारी दिए ।
स्रोतका अनुसार मौद्रिक नीतिमा प्राथमिकताप्राप्त क्षेत्रअन्तर्गत कृषि, ऊर्जा, पर्यटनलगायतमा गरी कुल लगानीको २५ प्रतिशत अनिवार्य रूपमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था केही परिमार्जन गरिएको छ । ‘अब कृषिमा १२ देखि १५ प्रतिशत, ऊर्जामा १० प्रतिशत र बाँकी अन्यमा गरी परिमार्जन हुँदै छ,’ स्रोतले भन्यो, ‘कृषि कर्जाको नेतृत्व कृषि विकास बैंकले गर्नेछ ।’
यस्तै, बैंक तथा वित्तीय संस्थामा नगद लाभांश वितरणलाई निरुत्साहित गर्दै बोनस सेयर वितरणलाई प्रोत्साहन गर्न लागिएको छ । ‘आंशिक रूपमा सीमा तोकेरै नगद लाभांश वितरणमा कडाइ गरिनेछ,’ स्रोतले भन्यो ।
सेयर धितोमा प्रदान गरिने कर्जाको सीमा पनि हालको ६५ प्रतिशतबाट बढाइएको छ । डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउन आवश्यक व्यवस्था मिलाइने घोषणा पनि नीतिमा हुनेछ । कोभिडबाट प्रभावित ऋणीले साँवा र ब्याज भुक्तानीका लागि तीन महिनादेखि एक वर्षसम्म समयावधि पाउने भएका छन् ।