News Portal

  • अपाङ्गता दिवसकाे अवसर पारेर ‘अटिजमलाई पहिचान दिलाउने’ सहसचिव पाण्डे सम्मानित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ मङ्सिर
    १५५६ पटक
    भक्तपुर, १८ मङ्सिर

    ‘कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितताः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ बिहीवार अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । यसै सन्दर्भमा ‘अटिजम’ लाई अपाङ्गताको पहिचान दिलाउन तथा सेवासुविधा सुनिश्चिततामा योगदान दिएवापत अटिजमको क्षेत्रमा क्रियाशील एक संस्थाले भक्तपुरकी पूर्व सिडिओ हुमकला पाण्डेलाई सम्मानित गरेको छ ।

    चाँगुनारायण नगरपालिका वडा नम्बर ९ स्थित विशेष स्कूल तथा पुनर्स्थापना केन्द्रद्वारा आयोजित एक विशेष भेटघाट एवं सम्मान कार्यक्रमका बीच सहसचिव हुमकला पाण्डे सम्मानित भएकी हुन् । पाण्डे महिला तथा बालबालिका मन्त्रालयमा अपाङ्गता हेर्ने शाखा प्रमुख रहँदा उनले ‘अटिजम’ लाई अपाङ्गताभित्र राख्न योगदान दिएको र अटिजमलाई सरकारले छुट्टै अपाङ्गताको रुपमा स्वीकार गरेको स्मरण गर्दै विशेष स्कूल तथा पुनर्स्थापना केन्द्रकी अध्यक्ष सविता उप्रेतीले पाण्डेलाई सम्मानित गर्न पाउँदा सन्तोष व्यक्त गरिन् । पाण्डे भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुँदा पनि उनले अपांगताको क्षेत्रमा उल्लेखनीय योगदान गरेको र आफ्नो संस्थालाई गरेको सहयोग अविस्मरणीय रहेको अध्यक्ष उप्रेतीको भनाइ छ । सहसचिव पाण्डे जागिरे मानसिकताको कर्मचारी नभई देश र समाजको बारेमा चिन्तनशील पाएको भन्दै उनले पाण्डे जस्तै कर्मचारी भए समाजले चाडै उन्नती गर्ने जिकिर समेत गरेकी थिइन् ।

    उक्त अवसरमा सहसचिव पाण्डेलाई चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र र विशेष स्कूल तथा पुनर्स्थापना केन्द्रका सल्लाहकार एवं पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कदर पत्रसहित सम्मानित गरेका थिए । कार्यक्रममा मेयर मिश्रले आफूलाई पाण्डे कुसल प्रशासक भएको अनुभव भएपनि कुसल सामाजिक अभियन्ता समेत रहेको थाहा पाउदा खुशी लागेको बताएका थिए । राजनीति र सत्ताको शक्तिले प्रशासन संयन्त्रलाई मुठ्ठीमा राख्न सकिन्छ भन्नेहरुका लागि सहसचिव पाण्डे अपवाद भएको र उनीबाट सबैले पाठ सिक्नुपर्ने भन्दै मेयर मिश्रले तठस्थता र जनतालाई केन्द्रमा राखेर निर्णय लिने पाण्डेको कार्यशैली प्रशंसनीय रहेको भन्दै प्रशंसा गरेका थिए । चाँगुनारायण नगरपालिकामा अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि योजनाबद्ध कार्यक्रम ल्याइने बताउदै मेयर मिश्रले आफ्नो नगरमा स्थापित विशेष स्कूल तथा पुनर्स्थापना केन्द्रलाई सक्दो सहयोग गर्ने आस्वासन समेत दिए ।

    कार्यक्रममा संस्थाका सल्लाहकार एवं पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शक्तिमा हुँदा समाजलाई केन्द्रमा राखेर निर्णय लिनुपर्नेमा जोड दिंदै राष्ट्रसेवकहरुबाट समाजले ठूलो आशा गर्ने कुरा आफू सेवानिवृत्त भएपछि अझ बढी महसुस भएको बताए । हेर्दा साना देखिएका कुराले समाजमा ठूलो महत्व राख्ने बताउदै उनले अपांगताको क्षेत्रमा राष्ट्रसेवकको हैसियतले सहसचिव पाण्डेले पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका थिए ।

    त्यसैगरी सम्मानित भएकी हाल गृह मन्त्रालयकी सहसचिव हुमकला पाण्डेले संस्थाले गरेको सम्मानबाट सामाजिक क्षेत्रमा काम गर्न थप प्रेरणा मिलेको बताइन् । कार्यसम्पादन निस्वार्थ र इमान्दारीतापूर्वक गर्दा सबैको माया र हौसला पाइने आफ्नो अनुभव शेयर गर्दै पाण्डेले आफू समाजकै एक सदस्य भएकोले आफ्नो सेवालाई समाजको अधिकत्तम हितका लागि प्रयोग गर्ने प्रतिवद्धता प्रकट गरिन् । उनले तत्कालिन अवस्थामा अटिजमलाई अपाङ्गता अन्तर्गत राख्न आफूले गरेको पहल सबैको सहयोगले सार्थक भएको भन्दै अपाङ्गता भएका ब्यक्तिहरुको अधिकारका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता समेत औल्याएकी थिइन् । विशेष स्कूल तथा पुनर्स्थापना केन्द्रले अटिजम भएका ब्यक्तिहररुको हकहित र अधिकारको संरक्षण गर्दै उनीहरुको लागि उचित अवसर प्रदान गर्न सक्ने समेत उनले विश्वास व्यक्त गरिन् । उक्त अवसरमा शिक्षाविद एवं भक्तपुर नागरिक समाजका अध्यक्ष प्राडा उत्तमकृष्ण कर्माचार्य, समाजसेवी एवं आफन्त नेपालका निर्देशक इन्द्र भट्टराइ, सामाजिक अभियन्ता एवं पातन्जल याेगका नवराज काफ्ले, संचारकर्मी संदिप क्षेत्री लगायतको उपस्थिति रहेको थियो भने संस्थाका उपाध्यक्ष डा. रिमी बाराकाेटी र कर्मचारी कुबेर उप्रेतीलाई समेत सम्मान पत्र प्रदान गरिएको थियो ।

    विशेष स्कूल तथा पुनर्स्थापना केन्द्रबारे
    अटिजम भएका बालबालिकाको फरक क्षमता र बौद्धिक अवस्था अनुकुल शिक्षा प्रदान गर्ने र समाजमा पुनर्स्थापना गर्ने मूख्य उदेश्यसहित विशेष स्कूल तथा पुनर्स्थापना केन्द्रको स्थापना भएको बताइएको छ । अध्यक्ष सविता उप्रेतीका अनुसार यसको मूख्य कार्यालय काठमाडौमा रहेको छ भने यसको शाखा भर्खरै चाँगु ९ मा खोलिएको हो ।

    यहाँ सुविधासम्पन्न ३ तले भवन बनाइने गरी पाँच करोडको डीपीआर तयार गरिएको छ । जसमध्ये एक तलाको निर्माण सम्पन्न भैसकेको देखिन्छ । रेडक्रसको आर्थिक सहयोगमा निर्मित भवन र उक्त भवनको जग्गा विशेष स्कूल तथा पुनर्स्थापना केन्द्रको नाममा रहेको छ ।

    हाल काठमाडौस्थित विद्यालयमा पैतालिस जना विद्यार्थी रहेका छन् भने चाँगुस्थित शाखा निर्माण सम्पन्न भएपछि मात्र संचालनमा आउने बताइएको छ ।

    अटिजम के हो
    अटिजम एक प्रकारको न्युरो डेभलपमेन्ट डिसअर्डर हो। अर्थात, मस्तिष्क र स्नायूहरुको स्वाभाविक विकासक्रममा हुने अस्वाभाविक अवस्थाको रुप नै अटिजम हो । यसमा बालबालिकाहरु सामान्य बालबालिकासरह नभई अस्वभाविक गतिविधि देखाउने गर्छन्। अर्थात्, बच्चाको उमेरअनुसार हुनुपर्ने विकास हुँदैन ।

    अटिजम एकैनासको नभई फरक फरक देखिएको छ । डा. सुनिता मलेकू अमात्यका अनुसार बालबालिका जन्मेर लगभग दुई अढाई वर्षसम्म प्रष्टरुपमा यसका लक्षणहरु चिन्न गाह्रो हुन्छ । शारीरिकरुपमा धेरैजसो स्फुर्त देखिने यी बालबालिकाको भाषा विकास नभएको अभिभावकहरुले याद गर्ने गर्दछन् र यसै कारणले डाक्टर कहाँ लाने गर्छन् । अनुभव र तालिमप्राप्त डाक्टरले मात्र अटिजमको सही पहिचान गर्न सक्षम हुने हुँदा धेरै प्रतिशत बालबालिकाको ५ देखि ६ वर्षको उमेरमा गएरमात्र पहिचान हुने गरेको अवस्था छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...