News Portal

  • भक्तपुरकाे मल्लकालीन मठमा साधुको सामूहिक भाेज

    गिरीश गिरीभक्तपुर, २० फागुन
    ५८५ पटक
    भक्तपुर, २० फागुन

    भक्तपुर: शुक्रबार बिहानको घामसँगै सहरको भित्री बस्तीमा भर्खर चहलपहल सुरु भएको थियो। दत्तात्रयको ठीकपछाडि पुजारी मठभित्र म सोह्रौं शताब्दीका टुँडाल र काठका मूर्तिहरु हेरिरहेको थिएँ। आफू समाप्त हुने बेलासम्मै पनि सयौं वर्षदेखिका आकृतिलाई धानेर बसेका काठहरु। हामी एक हिसाबले मौन संवाद गरिरहेका थियौँ। आवाज भन्नु परबाट आइरहेको मधुरो रैथाने भुनभुन मात्र थियो।

    पूजारी मठका
    पूजारी मठमा सोह्रौँ शताब्दीका टुँडालहरु।

    त्यो शान्ति धेरैबेर टिकेन।

    एक्कासी चर्को स्वरमा तुराइको आवाज गुञ्जियो। घरि शंख त घरि न्याउली बाजा सम्झाउनेगरी। तामाबाट बन्ने नागबेली आकारको यो बाजा जोगीहरु प्रयोग गर्छन्।

    चार तल्लामाथिको सँझ्याबाट चिहाएँ। त्यो आवाज पछ्याउँदै साधुहरुको एउटा ठूलै हुल मठभित्र पस्दै गरेको देखियो।

    पूजारी मठको
    पूजारी मठको प्रवेशद्वार।

    अघिसम्म सियो खसेको पनि थाहा पाइने तलको कलात्मक चोकमा अचानक हल्लीखल्ली मच्चियो।

    ‘कता हो गुरुमहाराजहरु? हामी आइसकिम्,’ कोलाहलका बीच एकजना जोगीले चिच्याएरै बोले, ‘आगतम् स्वागतम् केही पनि छैन! स्वामी साधुहरु आएपछि आसन दिनुपर्छ। यसरी उभ्याउन त मिल्दैन।’

    त्यो गुनासो सुन्ने कसले? अघि सुनसान देखेर एक्लै माथि उक्लिएको मलाई भर्खर आएका संग्रहालयका कर्मचारीहरुले ‘टिकट लिनुभयो?’ भनेर सोध्दै थिए। यस्तो अवस्थामा जोगीको चर्को आवाजले तिनै एकाध कर्मचारीलाई मात्र तरंगित पारिरहेको थियो।

    पूजारी मठको चोक।

    मैले ती चर्को स्वरमा बोल्ने जोगीको परिचय सोधेँ।

    ‘वेदान्ताचार्य स्वामी गोकुलानन्द,’ उनले अगाडि भने, ‘म पशुपतिनाथ राजराजेश्वरी निर्मल अखडाको महन्थ हुँ।’

    बनारसबाट वेदान्त दर्शनमा स्नातकोत्तर गरेको जानकारी पनि उनले दिए। उनका अनुसार पशुपतिमा भने दैनिक श्रीयन्त्रको फूल र मूल मालाको सेवा गर्ने दायित्व उनको अखडाको छ। आफ्नो साथमा आएका जोगीहरु भारतको १३ वटा महत्वपूर्ण मठका प्रतिनिधिहरु भएको जानकारी पनि उनले दिए।

    ‘उहाँहरु शिवरात्रीको निम्ति पाल्नुभएका साधु सन्त हुनुहुन्छ,’ गोकुलाचार्यले भने, ‘आज भक्तपुरको कुटुमठमा महन्थको पदस्थापन समारोहका लागि हामी सबै उपस्थित भएका हौँ।’

    एक जोगी
    तुराइ बजाउँदै एक जोगी।

    गोकुलाचार्यले यति भन्नासाथ जोगीहरुको हुलतिर फर्किएर लय हाल्दै चिच्याए, ‘बोल शंकर भगवान कि!’ जवाफमा सबैले चर्को स्वरमै ‘जय’ भने। त्यसलाई पछ्याउँदै देवाधिदेवका नाममा धमाधम दुईचारवटा अन्य ‘जयघोष’ पनि गरिए।

    त्यो बिहान भक्तपुरस्थित दुई सय ७२ वर्ष पुरानो एउटा मठमा महन्थ फेरिँदै रहेछन्। यो सब त्यसैको तयारी थियो।

    ‘महन्थ फेर्ने बेलामा सकेसम्म साधुसन्त जम्मा भएर स्वस्तिवाचन गर्ने परम्परा छ,’ गोकुलाचार्यले जानकारी दिए, ‘केही महिनाअघि मात्र कोरोनाकै बीच दत्तात्रयका पीर महन्थ फेरिँदा पनि हामी यसैगरी आएका थियौं।’

    कुराकानी चल्दाचल्दै केही दौरासुरुवाल लगाएका र केही पाइन्ट सर्टमै सजिएका आकृतिहरु थपिए।

    ‘उहाँ पीर महन्थ राजीव गिरि हुनुहुन्छ,’ दौरासुरुवाल लगाएका तन्नेरीतर्फ औंल्याउँदै पाइन्ट सर्ट लगाएका भलाद्मीले परिचय गराए, ‘दत्तात्रय मठका महन्थ हुनुका साथै नेपालभरका महन्थहरुको पनि प्रमुख उहाँ नै हो।’

    दत्तात्रयका पीर महन्थ
    शोभायात्राका लागि तयार दत्तात्रयका पीर महन्थ दौरा सुरुवालमा।

    महन्थ र जोगीहरुले एकअर्कामा अभिवादन साटासाट गरे। सामूहिक तस्बिर खिचाए।

    ‘एकैछिन दत्तात्रयबाट पूजा र छडी आउँदैछ,’ पीर महन्थ गिरिले भने, ‘त्यसपछि हामी शोभायात्राका साथ अगाडि बढ्छौं।’

    पूजा र छडीका साथमा एउटा फराकिलो छाता पनि आइपुग्यो। गेरुवस्त्रकै एकजनाले पूजा बोके, अर्का साधुले छडी बोके र छाता खोलेर पीर महन्थलाई ओढाइयो। तुराइ बजाउने अघिका जोगी फेरि सक्रिय भए। शोभायात्रा अघि बढ्यो।

    शोभायात्रा
    शोभायात्रा अघि बढ्दै।

    दत्तात्रय मन्दिरलाई छेउ पार्दै हिँडिरहँदा गोकुलाचार्यले मलाई आफ्नो साथमा आएका जोगीहरु भारतको पञ्चदसनाम जुना अखडा, महानिर्वाणी अखडा, अग्नि अखाडा, आह्वान अखडा, दिगम्बर अखडा र पञ्चायती बडा अखाडा गरेर तेह्रवटा अखाडाका तपस्वीहरु रहेको जानकारी दिए। भारत वा नेपालमा कसैलाई मण्डलेश्वर दिनुपर्दा वा महन्थ बनाउनु पर्दा यसरी जोगीहरुको ओहोरदोहोर चल्ने परम्परा नै रहेको पनि उनले बताए।

    ‘जस्तो कि म उदासीन सम्प्रदायको हुँ,’ उनले थपे, ‘भारतभर छरिएका हाम्रो सम्प्रदायका गतिविधिमा भाग लिन म पनि उता गइरहनु पर्छ।’

    गोकुलाचार्यका अनुसार नेपालमा उदासीन बाहेक भारतका जुना अखडा, महानिर्वाणी र अन्नपूर्ण लगायतका अखडाहरु सक्रिय छन्।

    शिवरात्रिको बेला भारतका साधुसन्तहरु आउने परम्परा अहिले पनि जारी रहेको बताउने उनले पछिल्लो समय भने नेपालको राजनीतिक परिस्थितिबाट निराश भएर ठूल्ठूला साधुसन्तहरु यहाँ आउन छाडेको जानकारी दिए।

    उनले नेपाल धर्म निरपेक्ष राष्ट्र भएकोमा तितो पोखिरहेको भेउ पाउने बित्तिकै छेउमा उभिएका जोगीहरुको भीडले ‘हरहर महादेव’ भनेर चर्को नारा लगाउन थालिहाले।

    शोभायात्रा अघि बढ्दै क्वाठण्डौस्थित कुटुमठ पुग्यो।

    क्वाठन्डौँस्थि कुटुमठअगाडि पुगेको शोभायात्रा।
    क्वाठन्डौँस्थि कुटुमठअगाडि पुगेको शोभायात्रा।

    नेवारी भाषामा किल्ला भएको ठाउँलाई क्वाठण्डौ भनिँदो रहेछ। शहरकै सबैभन्दा उच्च भेगमा यो टोल रहेकाले यहाँ कुनैबेला किल्ला पनि भएको हुनसक्ने अनुमान स्थानीयको छ।

    यस्तो ठाउँमा मल्लकालमै बिसं १८०५ मा कुटुमठको स्थापना भएको इतिहास छ। मठको स्थापनासँगै यसको रेखदेखका निम्ति राम गिरिलाई महन्थ नियुक्त गरिएको जानकारी शिलालेखमा उल्लेखित पाइन्छ। उपत्यकाका मठहरुले उनीहरु मातहतका बहुमूल्य सम्पत्ति गुमाइसकेको अवस्थामा कुटुमठ भने अहिले पनि मल्लकालीन कलाकृति अनि सौन्दर्यका हिसाबले मुलुककै महत्वपूर्ण मठमा पर्नेगरेको भक्तपुरकै सम्पदाकर्मी रविन्द्र पुरी बताउँछन्।

    कुटुमठमा जोगीहरु।
    कुटुमठमा जोगीहरु।

    ‘अन्यत्र मठहरुमा अब नभेटिने महन्थको गद्दी यहाँ अहिले पनि छ,’ पुरी भन्छन्, ‘अनि त्यस गद्दीको वरपर मल्लकालीन भित्तेचित्रहरु अहिले पनि यहाँ कायम छ।’

    त्यसैगरी उतिबेलाका मठहरुमा स्थापना गरिने इसान कोणस्थित पाञ्चायन शैलीको शिवलिंग अझै सुरक्षित छ।

    त्यही सम्पन्न मठको बाह्रौं पुस्ताको महन्थका रुपमा शुक्रबार सीताराम गिरिको पदस्थापन हुन गइरहेको थियो।

    कुटुमठका नवनियुक्त महन्थ
    कुटुमठका नवनियुक्त महन्थ सीताराम गिरि।

    सीतारामका पिता सानु कृष्णबहादुर गिरिको ठीक तेह्र दिनअघि ९२ वर्षको उमेरमा निधन भएपछि परम्पराअनुसारै तोकिएकै अवधिमा यो उत्तराधिकार हस्तान्तरण भइरहेको रहेछ।

    महन्थ निवासमा शोभायात्रा पुगेको एकै छिनमा पीर महन्थ राजीवले नियमपूर्वक जल, टीका र चन्दनबाट अभिषेक गराउँदै आफ्नो दत्तात्रय अखडा अन्तर्गतको कुटुमठका नयाँ उत्तराधिकारीलाई जिम्मेवारी हस्तान्तरण गरिदिए। यो अवधिभर तल जम्मा भएका जोगीहरुले एक स्वरमा स्वस्तिवाचन गरिरहेका थिए।

    दत्तात्रयको छडी बोकेका एक जोगी।

    त्यसपछि नवनियुक्त महन्थ सीतारामले प्रत्येक जोगीलाई टीका लगाउँदै दक्षिणा राखिएको खाम र ओढ्ने प्रदान गरे।

    भारतबाट आएका जोगीहरुमा त्यो खाम भित्र खामिएको कति रुपैयाँ रहेछ भनेर हेर्ने कौतूहल देखिन्थ्यो। तिनैमध्येमा एकजना भने निष्पट्टै आँखा नदेख्ने जोगी पनि रहेछन्। उनले आफ्नो छेउमा भएका अर्का जोगीलाई त्यो खाम हेरेर पैसा बताइदिन अनुरोध गरे।

    ‘पाँच सय रुपैयाँ।’

    खामभित्रको दक्षिणा हेर्दै जोगीहरु।
    खामभित्रको दक्षिणा हेर्दै जोगीहरु।

    ती आँखा नदेख्ने जोगी को हुन् भनेर मैले जिज्ञासा राखेँ।

    ‘अरे सुनिए तो, ये अपने सुरदास बाबाका कहाँ से है?’ भारतमा पनि विभिन्न मठको महन्थ रहिसकेका गोकुलाचार्यले चर्को आवाजले सोधे, ‘इनको थोडा परिचय करा दिजिये।’

    ती रहेछन् मथुरास्थित अवधुत आश्रमका रमेशानन्द सरस्वती। उनी जन्मँदैदेखि निष्पट्टै नदेख्ने रहेछन्।

    ‘सुरुमा त जोगीहरुको पछि लागेर भजन कीर्तन गर्दै बिताएँ,’ अनुमानै लगाएर बुझ्नुपर्ने उत्तरप्रदेशको ग्रामीण लबजमा रमेशानन्दले भने, ‘२२ वर्ष अगाडि चाहिँ प्रभुको कृपाले मैले पनि जोगी बन्ने अवसर पाएको हुँ।’

    मथुरास्थित अवधुत आश्रमका रमेशानन्द सरस्वती। उनी जन्मँदैदेखि निष्पट्टै नदेख्ने रहेछन्।
    मथुरास्थित अवधुत आश्रमका रमेशानन्द सरस्वती। उनी जन्मँदैदेखि निष्पट्टै नदेख्ने रहेछन्।

    रमेशानन्दलाई अघि खाम भित्रको पैसा हेरिदिने साथी स्वामी ब्रिजेश गिरिले नै डोर्‍याएर शिवरात्रीको लागि पशुपति ल्याइदिएका रहेछन्।

    ‘पहिलोपटक पशुपतिनाथको चरणमा आएको हुँ,’ उनले भने, ‘रमाइलो लागिरहेको छ।’

    हरिद्वारका साथी स्वामी ब्रिजेशकै सल्लाहमा यता आएको बताउने रमेशानन्दले गोरखपुरसम्म रेलबाट र त्यसपछि बसमा गरेर तीन दिनमा काठमाडौंसम्मको यात्रा तय गरेका रहेछन्।

    ‘यहाँ आएदेखि आनन्द लागेको हिसाबले यो ठाउँ निकै सुन्दर हुनुपर्छ,’ चिम्म आँखालाई चिमचिम पार्दै उनी भनिरहेका थिए, ‘वरपर बोलेकाहरुको आवाज सुन्दा यहाँ राम्रो मानिसहरु बस्दारहेछन् जस्तो पनि लागिरहेको छ।’

    स्वामी रमेशानन्दसँग कुरा गर्दागर्दै जोगीहरुलाई भोजनको निम्तो आइपुग्यो।

    ‘स्वामी महाराजहरुका लागि भण्डारा लागिसकेको छ,’ एकजनाले चिच्याएर बोलाए।

    एक तल्लामाथि गद्दी बैठकजस्तो कक्ष रहेछ। त्यहीँ जोगीहरु दोहोरो लाइनमा बसे।

    महन्थको गद्दीबैठकमा भोजनका लागि जम्मा भएका जोगीहरु।
    महन्थको गद्दीबैठकमा भोजनका लागि जम्मा भएका जोगीहरु।

    यसरी भोजन गर्न बसेपछि भजन गाउनुपर्ने चलन रहेछ। जोगीहरु अनेक ताल र सुरमा लेघ्रो तान्दै गाउन थाले। धमाधम पस्किएका खिर र हलुवाका बास्ना पनि ती स्वरसँग मिसिँदै फैलिरहेको थियो। त्यहाँ ती जोगीले सुनाइरहेका भजनहरु बजारमा पाइने संगीतकारका रेडिमेड भजनभन्दा बेग्लै थिए। दुर देहातका मठ मन्दिरमा सुनिने ‘लोकल’ पाराका।

    हामीबीच अघिदेखि नै पशुपति परिसरमा हुर्किएकी संगीत साधिका सरिता मिश्र पनि थिइन्।

    मिश्रले आत्मतत्त्वको प्रधानता रहने साधुहरुको संगीत साधना र बजारलाई ध्यानमा राखेर तयार पारिने संगीतकर्मीको साधनामा धेरै ठूलो अन्तर रहने स्पष्ट पारिन्।

    सुरुमा त म पशुपति क्षेत्रबारे जानकार मिश्रबाट त्यताको ताजा हालखबर नै बुझ्न चाहन्थेँ।

    प्रत्येक वर्षझैँ यसपाला पनि शिवरात्रीका निम्ति भित्रिने जोगीहरुको उल्लेख्य संख्यामा आगमन सुरु भइसकेको जानकारी उनले दिइन्।

    ‘मुख्य मेला त एकादशीबाट सुरु हुने हो,’ मिश्रले भनिन्, ‘तर, शिवरात्रीमा ठाउँ ओगट्नेदेखि लिएर साधना गर्ने हिसाबले वातावरण बनाउन फागुन लाग्नेबित्तिकै भारततिरबाट जोगीहरु आउन थालिहाल्छन्।’

    उनका अनुसार अहिले नै पनि यसरी आउने जोगीहरुको संख्या पशुपति क्षेत्रमा पाँच सय नाघिसकेको छ।

    ‘अझै नागाहरुको टोली आउन बाँकी नै छ,’ उनले भनिन्, ‘त्यसपछि पशुपति क्षेत्र झनै रमाइलो देखिनेछ।’

    संगीत साधिका सरिता मिश्र
    संगीत साधिका सरिता मिश्र जोगीहरुसँग।

    यहाँ भित्रिने बाबाहरु भारतको जुनसुकै भागबाट आएको भए पनि उनीहरु सबैभन्दा पहिले उताको ताल्लुकातवाला अखडा कता छ भनेर खोजी गर्छन्। जस्तो कि, जुना अखडाबाट आएकाहरु यहाँ पनि जुना अखडा नै खोजेर बस्छन्। निर्मल अखडावाला पनि त्यसैमा जान्छन्। दशनामी दशनामीमा र नागाहरु नागाकै अखडामा जान्छन्।

    यसरी बसोबासको निधो गरिसकेपछि उनीहरु त्यसै अखडामा आयोजित गतिविधिमा केन्द्रित भएर व्यस्त हुन्छन्।

    मिश्रका अनुसार यी फरक फरक जोगीका साधना पनि बेग्लाबेग्लै हुन्छन्।

    ‘मन्त्र साधना, माला साधना, यज्ञ साधना,’ मिश्रले थपिन्, ‘अझ कोही कोही त मौन साधना गर्ने मौनीबाबा पनि हुन्छन्।’

    यसरी शिवरात्रिका निम्ति पशुपतिनाथको आँगनमा आइसकेपछि यी जोगीहरु हत्तपत्त अन्यत्र जाँदैनन्। तर, यदाकदा उपत्यकामा आयोजना हुने साधुसन्तहरुको जमघट वा महन्थले आयोजना गर्ने यस्ता सरोकारवाला समारोहहरु छन् भने त्यसमा उपस्थिति जनाउने गर्छन्।

    ‘यो एक किसिमको माहोल हो,’ मिश्रले भनिन्, ‘शिवरात्रीका बेला यस्तो माहोल उपत्यकामा वर्षौंदेखि लाग्दै आएको छ।’

    यसरी समारोहमा सरिक हुन गएका बेला आयोजकले यी जोगीहरुलाई उपयुक्त भोजनपानीको प्रबन्धदेखि लिएर दक्षिणासम्म चढाउने गर्छन्। यो सबले पनि जोगीहरुमा रमाइलो थपिन्छ। यसरी सिंगो उपत्यका शिवरात्रीको समयमा एउटा जोगीमय वातावरणमा डुबिरहेको हुन्छ।

    कुटुमठले तयार पारेको विभिन्न परिकारले थाल भरिँदै गएपछि बिस्तारै भजन मत्थर हुँदै गयो।

    भोजन गर्दै जोगीहरु।
    भोजन गर्दै जोगीहरु।

    यसरी जोगीहरुले भोजन गरिरहेकै बेला अचानक माथिल्लो तल्लाबाट ओर्लँदै गरेकी एकजना विदेशी महिला त्यहाँ देखापरिन्।

    ‘आइ वान्ट टु टेक फोटो,’ उनले हातको क्यामरा देखाउँदै भनिन्। हामी छेउ लाग्यौं।

    ‘घुम्न आउनुभएको हो?’ मैले जिज्ञासा राखेँ।

    ‘होइन म यसै घरमा बस्ने मानिस हुँ,’ उनले अचम्म लाग्नेगरी जवाफ दिइन्, ‘त्यो पनि बितेको चालीस वर्षदेखि।’

    म झनै चकित परेँ र परिचय मागेँ।

    ‘लुडमिला हागमुलर,’ उनले आफ्नो नाम बताइन्।

    उनी जर्मनीको बभेरियाकी रहिछन्। मैले उनको छेवैमा पर्ने म्युनिखका अनुभव बताएँ। उनी दंग परिन्।

    ‘त्यो चित्र देखिरहनुभएको छ?’ उनले एक तल्ला माथि रहेको भित्तो देखाउँदै भनिन्, ‘हामी चालीस वर्षपहिले आउँदा यो घर त्यस्तो देखिन्थ्यो।’

    चित्र राम्ररी हेर्न म सिँढीका केही खुड्किला उक्लिएँ। त्यो चित्र भन्दा पनि त्यति पुरानो घरको माथिल्लो तल्लालाई चिटिक्क अवस्थाको देखेर झनै चकित भएँ।

    ‘आहा कति राम्रोसँग जिर्णोद्धार गर्नुभएछ,’ मैले भनेँ, ‘लोभलाग्दो घर।’

    उनले आफ्नो श्रीमान् यो मामलाको विशेषज्ञ नै रहेको जानकारी दिइन्।

    ‘को हुनुहुन्छ उहाँ?’

    ‘गोत्स हाग्मुलर।’

    म एकछिन छाँगोबाट खसेझैँ भएँ।

    केही वर्षअघि मात्र मैले ललितपुरको भाइदेगा मन्दिरबारे रिपोर्ट तयार पारेको थिएँ। ९० सालको भुइँचालोले भत्काएपछि मल्लकालमै पनि जनस्तरबाट बनेको त्यस मन्दिरको पुनःनिर्माण गरिएको थिएन। राणाहरुले मल्ल राजाहरुले तयार पारेका मन्दिर मात्र बनाए। यसरी त्यत्तिकै रहन पुगेको भाइदेगा मन्दिरले यतिबेला ललितपुर दरबार क्षेत्रमा झण्डै शताब्दीपछि पुनः आकार लिइरहेको छ। त्यो मन्दिर उतिबेला कस्तो थियो भनेर अध्ययन गर्ने बेलामा महत्वपूर्ण जानकारी दिने विज्ञ समूहमा गोत्स हागमुलरको बारेमा पनि मैले समाचारमा उल्लेख गरेको थिएँ।

    ओहो! त्यस्ता महत्वपूर्ण व्यक्ति चालीस वर्षदेखि कुटुमठमै बसिरहेका रहेछन्।

    ‘मेरा श्रीमानले पाटन संग्रहालयदेखि लिएर केशर महलको गार्डेन अफ ड्रिम्स पनि बनाएका हुन्,’ श्रीमती भने मलाई थप जानकारी दिइरहेकी थिइन्, ‘हामी बयालीस वर्षपहिले सिंगो भक्तपुरलाई व्यवस्थित पार्ने परियोजना अन्तर्गत नेपाल आएका थियौं।’

    मैले पनि गोत्सका बारेमा पढेका थुप्रै समाचारहरु सम्झन थालेँ।

    सन् १९७९ मा ‘भक्तपुर रिस्टोरेसन प्रोजेक्ट’का लागि यता आएका उनी पछि जर्मन सहयोगमा यस सहरको सरसफाइ प्रणाली तयार पार्न सक्रिय भए। उनले गरेको सबैभन्दा महत्वपूर्ण योगदान चाहिँ पाटन संग्रहालयको निर्माण थियो जुन आजभन्दा २४ वर्ष पहिले तयार पारिएको थियो। त्यो अहिले नेपालकै महत्वपूर्ण पर्यटकीय केन्द्र बनिसकेको छ।

    ‘नेपाल आएकै बेलादेखि यो घरमा हाम्रो मन बस्यो,’ उता श्रीमती पनि बोलिरहेकै थिइन्, ‘यसैमा हामी बस्न सुरु गर्‍यौँ।’

    यो घरको खोजी कसरी भयो?

    ‘त्योबेला मेरो श्रीमानको बसोबासका लागि भक्तपुरमा भएका सबै विकल्पहरु खुला थिए,’ उनले भनिन्, ‘यो कुटुमठका महन्थहरु बसोबास गर्दै आएको घर चाहिँ सबैभन्दा राम्रो लाग्यो।’

    मेरो नजर त्यस घरका कुनाकाप्चासम्म फैलन थाल्यो। भक्तपुरे मौलिकतालाई अझ सुगन्धित पार्नेगरी असाध्यै ब्यवस्थित र सफा पारिएको थियो। त्यहाँका एक एक संरचना काठमा कुँदिने नेवारी वास्तुशिल्पका अद्भूत नमूना थिए। नब्बे सालको भुइँचालोले पनि यस कुटुमठको दक्षिणवर्ती एउटा सानो क्षेत्रलाई नोक्सान गर्नुबाहेक खासै क्षति पुर्‍याएको थिएन। त्यसरी जोगिएको यो बहुमूल्य घरलाई हागमुलर दम्पत्तिले सम्हाल्ने र टल्काउने दुवैथोक गरेका रहेछन्।

    कुटुमठ।
    कुटुमठ।

    अलिक माथि त बार्दलीजस्तो ठाउँलाई चिटिक्कको बाथरुमै बनाइएको देखियो।

    ‘ओहो त्यो त सावर एरिया पो हो क्यारे? कस्तो अचम्म!’

    जवाफमा श्रीमती हागमुलरले मलाई अझ माथि उक्लन आमन्त्रण गरिन्।

    हाम्रो मौलिकतालाई सजाएर र सफा राखेर त्यसको आनन्द लिन विदेशीले पो जानेका रहेछन्। यस घरको प्रत्येक कुनामा त्यो झल्किँदै थियो।

    कस्तो दुर्भाग्य! हामी भने आफ्ना यिनै मौलिकतालाई त्याग्दै छौं। अनि हागमुलर दम्पत्तिले युरोपतिरै छाडेर आएका संरचनाको स्तरहीन तरिकाले नक्कल गरेर आफूलाई आधुनिक ठान्न थालेका छौं।

    घरको माथिल्लो तल्लामा पुगेपछि शानदार कौसी देखियो।

    त्यो कौसीमा टेबुल कुर्सी लगाएर यी दम्पत्ति नास्ता गरिरहेका रहेछन्। नास्ताकै बीच श्रीमती तल ओर्लिएर फोटो खिच्न गएकी रहिछन्।

    टेबलमा गोत्स हागमुलरलाई देख्नेबित्तिकै मेरा दुवै हात श्रद्धापूर्वक आफैँ उठे। नमस्ते।

    हाग्मुलर दम्पती नास्ता गर्दै।
    हाग्मुलर दम्पती नास्ता गर्दै।

    ‘म संस्कृतिमा रुचि राख्ने पत्रकार हुँ। त्यसै सिलसिलामा यता आएको थिएँ। तपाईँहरुसँग भेट्नु चाहिँ मेरो सौभाग्य भयो,’ मैले जानेसम्मको अंग्रेजी प्रयोग गरेर एकै सासमा सिध्याएँ।

    ‘गुड गुड’, उनी हाँस्दै बोले।

    ‘मे आइ ह्याभ अपरच्युनिटी टु टेक अ फोटोग्राफ अफ यु टु?’ मैले उनीहरुको तस्बिर खिच्ने अनुमति मागेँ।

    ‘स्योर स्योर गो अहेड।’

    तस्बिर लिइसकेपछि मैले फेरि अर्को प्रश्न राखेँ।

    ‘हाउ आर यु किपिंग योरसेल्फ बिजी नाउ अ डेज सर?’ मैले उनी अचेल केमा ब्यस्त छन् भनेर जान्न खोजेँ।

    ‘आइ डन्ट किप माइसेल्फ बिजी। आइ एम जस्ट इन्जोइंग माई रिटायरमेन्ट।’

    (म आफूलाई व्यस्त राखिरहेको छैन। म त अवकाश जीवनको आनन्द पो लिइरहेको छु।)

    सन् २००९ बाट अवकाश जीवन सुरु गरेका हाग्मुलर यतिबेला जीवनी लेखनमा सक्रिय रहेछन्। उनका अनुसार उक्त पुस्तकले सम्पदा संरक्षणका मामलामा अध्ययन गर्न चाहनेहरुका लागि थुप्रै जानकारी समेट्ने छ।

    गोत्स अष्ट्रियन हुन्। भियनाको कलेजमा विज्ञानको अध्ययन गर्दाकै बखत उनले आफू पिता जस्तै गणितीय इन्जिनियरमा सीमित नरहेर संरचनाहरुको सुन्दरतालाई त्योभन्दा फराकिलो दायरामा खोज्ने अठोट गरेका थिए। ‘पढाइपछि त्यही अठोटले मलाई यो सुन्दर सहरमा ल्याएको थियो’, उनले भने।

    नास्ताको टेबलमा बसेको यो दम्पत्तिलाई धेरै बेर बिथोल्न उचित लागेन र म बिदा लिएर फेरि तल ओर्लिएँ।

    लहरै बसेका जोगीहरुको थालमा सरिता मिश्र दही हाल्दै थिइन्।

    भोजन गर्दै जोगीहरु।
    भोजन गर्दै जोगीहरु।

    एकैछिनमा हामी फेरि छेउमा बसेर कुरा गर्न थाल्यौं।

    ‘तपाइ केटाकेटी हुँदा यसरी शिवरात्रीको बेला आउने साधु महात्माहरुको माहोल झनै रमाइलो थियो होला?’ मैले सोधेँ, ‘कस्तो थियो?’

    संगीतकर्मी मिश्रले बाल्यकालमा संगीतको साधनामा लागेका ठूल्ठूला साधुहरु पशुपतिमा जमघट हुनेगरेका र तिमध्ये कतिपय आफ्नो घरमा पनि आउने गरेको सम्झना गरिन्।

    ‘त्यस्ता साधुहरु बजारमा गाउँदैन थिए,’ उनले भनिन्, ‘भगवानमै समर्पित प्रस्तुतिबाटै आफुहरुलाई सिद्धि प्राप्त हुन्छ भन्ने मान्यता राख्थे।’

    एउटा डमरुका भरमा रातभर गाउने एकजना बाबा अहिले पनि उनको मस्तिष्कमा रहेछन्।

    ‘ती बाबा को थिए र कहाँबाट आएका थिए भन्ने सम्झना छैन,’ उनले थपिन्, ‘बडेमानको डमरुबाटै भएभरका सबै तालहरु बजाएर सुनाउने उनीजस्तो शास्त्रीय संगीतको धुरन्धर मैले अर्को कसैलाई देखिँन।’

    बाल्यकालमा त्यस डमरुको आवाज सुनेर केवल रमाएको उनलाई अहिले सम्झँदा त्यो चमत्कारिक क्षण थियो जस्तो लाग्छ।

    उनका अनुसार त्यो स्तरको प्रस्तुति अत्यन्त ठूलो साधनाबाट मात्र सम्भव हुन्छ।

    ‘कालान्तरमा शिवरात्रीका बेला आएकै अर्का साधुबाट हामीले संगीत सिक्ने मौका पायौं,’ उनले थपिन्, ‘ती थिए ग्वालियरका स्वामी पटवर्धनजी।’

    करिब १८ वर्षअघि ब्रम्हलीन भएका स्वामी पटवर्धन बाँचुन्जेल शिवरात्रीका बेला पशुपति आउने गरेको मिश्रले बताइन्।

    मृगस्थलीमा शास्त्रीय साधना गर्ने उनी र दिवंगत तबलावादक अतुल गौतमलगायत अधिकांशले उनै स्वामीबाट संगीत सिकेका रहेछन्।

    मिश्रका अनुसार संगीत साधनामै लागेका हरिद्वारका गुरु रामेश्वरानन्द जस्ता साधुहरु शिवरात्रीका बेला पछिसम्म पनि आइरहेकै थिए। अहिले केहि वर्षयता उनी पनि देखिन छाडेका छन्।

    ‘कता हराए कि समाधि लिए, अत्तोपत्तो छैन,’ उनका आँखामा भावहरु दौडिन थाले, ‘जोगीहरुको त ठेगानै हुन्न।’

    हाम्रा कुराकानी चल्दाचल्दै भोजन सम्पन्न गरेका बाबाहरुले थालमा पानी राख्दै हरहर महादेव भन्न थालिसकेका थिए।

    जोगीहरुको खानपिन सकिनासाथ अब नवनियुक्त महन्थ सिताराम गिरिको शोभायात्रा निस्कने तयारी चल्दै थियो। ठ्याक्कै अघि दत्तात्रयका पीर महन्थ राजीव गिरिकै शैलीमा।

    कुटुमठका नवनियुक्त महन्थ सीताराम गिरिको शोभायात्रा।
    कुटुमठका नवनियुक्त महन्थ सीताराम गिरिको शोभायात्रा।

    त्यसैले भोजनमा बसेका जोगीहरु सबैले खाइसकेपछि अन्तिममा एकसाथ ‘पंगतको हरिहर’ गर्न थाले। जोगीहरुले यसरी लाम लागेर खाने परम्परालाई पंगत भनिन्छ।

    ‘हरहर महादेव… हरहर महादेव… ’

    यसरी नियमपूर्वक भोजन गरिसकेपछि मात्रै बल्ल छुट्टिने यो प्रचलन मैले केटाकेटी छँदा सिम्रौनगढमा पनि देखे–भोगेको थिएँ। मेरो मावल हजुरबुवा सिम्रौनगढ मठको महन्थ हुनुहुन्थ्यो। मैले धेरैपटक जोगीहरुको भण्डारामै गएर उनीहरुको नियम पालना गर्दै यसरी नै खाएको थिएँ।

    त्यस दिन भक्तपुरबाट फर्कँदै गर्दा बाटोभरि तिनै मिठा सम्झनाहरु आँखामा नाचिरहे।

    (प्रस्तुत फिचर गिरीश गिरीले देशसंचारका लागि तयार पारेका हुन् ।)

    तस्बिरहरु : गिरीश गिरी

    प्रतिकृया दिनुहोस्

    नेपाल – भारत साहित्य दोस्रो महोत्सवको लागि बैठक सम्पन्न

    काठमाडौं । नेपाल -भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव...

    महिला सशक्तीकरणमा लायन्स

    काठमाडौं, सामाजिक क्षेत्रमा विविध कार्य गर्दै आइरहेको लायन्स अफ काठमाडौं, ब्राइटस्टारको प्रायोजनमा महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत...

    बिग्रेको बाटोका कारण बाल्कोटमा ट्र्याक्टर चालकको ज्यान गयो : प्रहरी

    भक्तपुरको सूर्यविनायक- २ बालकोटस्थित महेन्द्र शान्ति स्कूलबाट चारदोबाटो तर्फ आउदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको...

    पाप पखाल्ने इन्द्रदह

    नेपाल भाषामा ‘येँ’ भन्नाले काठमाडौँ भन्ने बुझिन्छ , ‘किँ’ को अर्थ किला र दह अर्थात्...

    मानवीय आस्थामा नयाँ कार्यसमिति

    भक्तपुरमा क्रियाशील गैरसरकारी संस्था मानवीय आस्था नेपालको छैठौं साधारण सभा सम्पन्न भएको छ । आइतबार...