News Portal

  • चाँगुनारायणका १७० युवा भित्राउदै माओवादी केन्द्रले दियो सेना बन्न निर्देशन

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, २० भदौ २०७८
    १६४९ पटक
    भक्तपुर, २० भदौ २०७८

    नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले देशलाई समाजबाद तर्फ लैजाने जिम्मेवारी माओवादीको भएको भनेका छन् । उनले नयाँ समाजवादी क्रान्तिको नेतृत्व आफ्नो पार्टीले गर्ने समेत दावी गरे ।

    शनिवार चाँगुनारायण नगरपालिकाको वाइसिएल भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई कमलविनायकमा सम्बोधन गर्दै जिल्ला इन्चार्ज प्रजापतिले समाजवादी क्रान्तिका लागि वाइसिएलका युवाहरु पार्टीका शक्तिशाली सेना बन्नुपर्ने समेत बताए । माओवादीले नै २३९ वर्षको केन्द्रीकृत सामन्ती सत्ताको अन्त्य गरी देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको बताउदै अबको कार्यभार समाजवाद भएको र त्यो प्राप्तिका लागि वाइसिएल सेनाको रुपमा परिचालित हुनुपर्ने जिकिर गरे ।

    ”भौतिक रुपमा हेर्दा अहिले वाइसिएल संग बन्दुक छैन, कुनै गोलाबारुद छैन तर आवश्यक पर्दा ती सबै प्राप्त गर्नसक्ने समाजवादी सेना हो यो ।” उनले भने । वाइसिएल नेपाली क्रान्तिमा मात्र नभई विश्व कम्युनिष्ट आन्दोलनमा नै योगदान दिनसक्ने युवा संगठन भएको समेत उनले दावी गरेका छन् ।

    कार्यक्रममा नेकपा(माओवादी केन्द्र) भक्तपुर जिल्ला समन्वय समितिका संयोजक डिपी ढकालले महाकाली बेच्ने र प्रधानमन्त्री हुँदा भारतीय खुफिया एजेन्टलाई बालुवाटार बोलाएर तेल घस्ने नेतालाई राजनेताको रुपमा प्रचार गरिएको भन्दै वाइसिएलले नक्कली राष्ट्रवादीहरुको मुकुण्डो उतार्नुपर्ने बताए । देशको सच्चा राष्ट्रवादी माओवादी केन्द्र भएको भन्दै उनले राष्ट्रियताको लागि बलिदानी गरेर आएको पार्टी भएकोले नक्कली राष्ट्रवाद बिरुद्ध लड्नु पनि आफूहरुको दायित्व भएको भनेका थिए ।

    मदन भण्डारीको मृत्यु भजाएर एक पटक पहिलो पार्टी बनेको एमालेलाई माओवादी गठबन्धनले दोश्रो पटक पहिलो पार्टी बनाइदिएको तर, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई त्यो नपचेको उनले आरोप लगाए । माओवादी केन्द्र र आफ्ना अध्यक्ष प्रचण्डको अवमुल्यन गर्दा ओली बालुवाटारबाट बार्दलीमा पुग्नुपरेको बताउदै नेता ढकालले माओवादी केन्द्र वर्तमान राजनीतिमा बाघ भएको र बाघलाई कसैले पनि जिस्काउन नहुने जिकिर गरे ।

    अध्यक्ष ढकालले भक्तपुरमा बिकासको लागि माओवादीले ल्याएको बजेटमा शिलान्यास र उद्घाटन गरी जनतालाई भ्रमित पार्ने कार्य भैरहेको समेत खुलासा गरे ।डोलेश्वरको बाटो देखि नगरकोटको बाटो सम्म आफूहरुले बजेट हालिदिएको उनले खुलासा गरेका हुन् । त्यतिमात्र होइन, चाँगुनारायण नगरपालिकामै माओवादीले बनाएको बाटोमा एमालेले आफ्ना नेताको नाम राखी स्व हरी गुरु मार्ग नामाकरण गरिदिएको उनले खुलासा गरे ।

    निर्वाचनमा पराजित भएपनि आफूहरुले चाँगुनारायण १ स्थित इञ्जिनियरिङ्ग कलेजलाई नगरपालिकाको सम्पत्ति बनाइदिएको बताउदै नेता ढकालले नगरकोट, झौखेल लगायतको लो भोल्टेज तथा बिजुलीको समस्या समाधान त्यसैगरी सुडाल,छालिङ्ग लगायतको खानेपानी समस्या समाधान गरेको दावी गरे । उनले आफूहरुले पहिरो नियन्त्रणका लागि चाँगुमा सर्वाधिक बजेट पार्न पहल गरेको र बाटोघाटो मात्र नभई स्वास्थ्य शिक्षा र स्थानीयको जनजिविकासंग जोडिएका विषयमा महत्वका साथ् कामहरु गरिरहेको भएपनि प्रचारप्रसार हुन् नसक्दा काम गर्ने कालु मकै खाने भालु जस्तो हुनपुगेको गुनासो गरे ।

    माओवादी केन्द्र आकारमा सानो भएपनि देश आफ्नै पार्टीका कारण प्राप्त परिवर्तन र संविधान अनुसार चलिरहेकोले निराश नबन्न र उच्च मनोबलका साथ् आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार खडा गर्न उनले पार्टी कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

    उक्त अवसरमा बागमती प्रदेश सांसद एवं प्रदेश सदस्य प्रतिमा श्रेष्ठले माओवादी केन्द्रका कारण संघीयता र गणतन्त्र स्थापना भएको र त्यसकै फलस्वरूप देशमा विकासनिर्माणले तीब्रता पाएको बताइन । पहिले कहिल्यै नभएको विकासनिर्माण देशको संघीय प्रशासनिक संरचनाका कारण सम्भव भएको भन्दै उनले यो सबै माओवादी केन्द्रको देन भएको दावी गरिन् ।

    कार्यक्रममा पार्टीका भक्तपुर सह इन्चार्ज देवेन्द्र श्रेष्ठ दिवाकर, चाँगुनारायण नगर इन्चार्ज रामशरण दाहाल, सहइन्चार्ज रामलाल नेम्हेफुकी, अध्यक्ष नरेश खड्का, वाइसिएल केन्द्रीय सदस्य कसम गुरुङ्ग, दिनेश थपलिया आक्रोश, नरेश वाइवा, राजु कुटु, अखिल क्रान्तिकारीका भक्तपुर अध्यक्ष बिराज थापा, महिला नेत्री चन्डिका लामिछाने त्यसैगरी वाइसिएलका जिल्ला र अन्य नगर स्तरीय नेताहरु अतिथिको रुपमा उपस्थित रहेका थिए ।

    वाइसिएल चाँगुनारायण नगर अध्यक्ष लक्ष्मण दुलालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन दिलकुमार बालाले गरेका थिए भने स्वागत मन्तब्य वाइसिएल चाँगुनारायण नगर इन्चार्ज बिनोद लामिछानेले राखेका थिए ।

    कार्यक्रममा करिव १७० जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

    उक्त भेलाबाट युवा नेता लक्ष्मण दुलालको नेतृत्वमा ४१ सदस्यीय वाइसिएल चाँगुनारायण नगर कमिटी निर्विरोध निर्वाचित भएको बिनोद लामिछानेले बताए ।

     

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...