भक्तपुर क्षेत्रमा १४ घण्टाको फरकमा पीएम २.५ को धुलोको प्रदूषण २ सय ५१ माइक्रोग्राम परमिटर क्युले वृद्धि भयो।
मंगलबार बिहान ६ बजे १२ माइक्रोग्राम परमिटर क्यु मात्र भएको वायुप्रदूषण राति ८ बजेसम्म वृद्धि भएर २ सय ६३ पुग्दा वायुप्रदूषण स्तर वर्षकै उच्च भएको तथ्यांकले देखाएको छ।
वातावरण विभागको तथ्यांक हेर्दा भक्तपुरमा राति १० बजेसम्म पनि प्रदूषणको दर दुई सय ३० कायम छ। २४ घण्टालाई आधार बनाएर विभागले वायुप्रदूषणको अवस्था जाँच गर्दै आएको छ। मंगलबार मापदण्ड एक सय २२ कायम छ।
विश्व स्वास्थ्य संगठनको मापदण्डले २५ र राष्ट्रिय मापदण्डमा ४० माइक्रोग्राम परमिटर क्यु तोकेको छ। रत्नपार्क क्षेत्रमा राति ८ः३५ बजे पीएम २.५ आकारको धुलो दुई सय ३९ माइक्रोग्राम परमिटर क्यु पुगेको थियो यहाँ दिउँसो २ः३० बजे २७ मात्र थियो। ६ घण्टाको फरकमा उपत्यकामा दुई सय १२ माइक्रोग्राम परमिटर क्यु वृद्धि भयो।
महाशिवरात्रि भएकाले विभिन्न स्थानमा खुला क्षेत्रमा आगो बाल्ने काम तीव्र भएकाले प्रदूषणको अवस्था उच्च भएको हुन सक्ने वातावरण विभागकी प्रवक्ता सफला श्रेष्ठले बताइन्।
अन्य दिनभन्दा बढी प्रदूषण बढ्नुमा खुला क्षेत्रमा आगो बाल्दा निस्कने धुवाँ नै पहिलो कारण भएको उनी बताउँछिन्। अमेरिकी दूतावासले राखेको फोरा दरबार क्षेत्रमा मंगलबार राति १२ बजे दुई सय २७ पुगेको छ।
प्रदूषणको दर दुई सय माइक्रोग्राम परमिटर क्युभन्दा माथि पुगेपछि मानवस्वास्थ्यका लागि खतराजनक भएको वातावरणविद्ले बताएका छन्।
पीएम २।५ धुलोको कण आँखाले नदेख्ने मसिनो हुँदा श्वासनली हुँदै रक्तनलीसम्म पुग्ने भएकाले श्वासप्रश्वासमा समस्या हुनुका साथै क्यान्सरजस्ता रोगको मुख्य कारण बन्ने गरेको भनेर स्वास्थ्यकर्मीले सचेत गराएका छन्।
वातावरणमैत्री भनी हरियो स्टिकर टाँसिएका ४१ प्रतिशत सवारी प्रदूषित भएको वातावरण विभागको अनुगमनले देखाएको छ। सवारी प्रदूषण नै मुख्य भए पनि मंगलबार खुला आगो बाल्दा प्रदूषणले डाँडा काटेको हो।
अन्य दिनभन्दा बढी प्रदूषण बढ्नुमा खुला क्षेत्रमा आगो बाल्दा निस्कने धुवाँ नै पहिलो कारण हो।
मंगलबार उपत्यकाका मन्दिर, चोकचोकमा आगो बालेर बस्दा प्रदूषणको दर बढे पनि सरकारी निकायबाट सचेतनाका लागि कुनै पहल भएन। सांस्कृतिक परम्परा भएको भन्दै विभागले यसमा कुनै चासो नदेखाएको जनायो।
पशुपति क्षेत्र विकास कोष पनि वायुप्रदूषणको न्युनीकरणमा जिम्मेवार भएकाले दाउरा बाल्ने प्रचलनलाई वैकल्पिक व्यवस्था गर्नुपर्ने विभागको सुझाव छ।
भारतमा प्रदूषणको अवस्थामा के गर्ने भनी स्तर विभाजन गरेर वायुप्रदूषण नियन्त्रण गर्ने गरेको छ। ६० देखि एक सय ८० सामान्य र स्तर दुईमा १८० देखि चार सय मुनि सचेत बन्नुपर्ने, स्तर तीनमा खतरामूलक चार सयदेखि ६ सयसम्म र स्तर चारमा ६ सयभन्दा माथि वातावरणीय आपतकालीन अवस्था भनेर स्तर वर्गीकरण गरी वैकल्पिक व्यवस्था गर्ने गरेको वातावरणविद् भूषण तुलाधरले बताए। इन्धन गाडीलाई सञ्चालन रोक, विद्युतीय गाडी, साइकलको प्रयोगदेखि उद्योग कलकारखानालाई बन्द गर्नेसम्मको व्यवस्था गरिसकेको छ।
हालसम्म काठमाडौं उपत्यकामा वातावरण विभागअन्तर्गत सात र अमेरिकी दूतावासले दुई स्थानमा गरी नौ स्थानमा वायुप्रदूषण गुणस्तरमापन केन्द्र राखेर नियमित रूपमा वायुको गुणस्तर मापन गर्दै आएको छ।
राष्ट्रिय नेटवर्क बनाएर वायु गुणस्तरको अवस्थालाई जाँच गरी प्रदूषण न्यूनीकरण गर्ने लक्ष्य रहेको वातावरण विभागको छ। यसका लागि ५६ स्थानमा केन्द्र राख्नेछ।
तराई क्षेत्रमा वायुप्रदूषणको दर बढेको तथ्यांक सार्वजनिक भएपछि वातावरण विभागले यसै वर्ष चार स्थानमा वायुप्रदूषण गुणस्तरमापन केन्द्र राख्ने तयारी थालेको छ। (अन्नपूर्ण पोष्ट दैनिक)