मोरङको आमबाडीबाट हुलाकीमार्ग हुँदै झापाको गौरीगञ्जतर्फ जानेहरू गौरीगञ्ज नजिकै रतुवा खोलमाथि बनेको पुल देखेर छक्क पर्छन्। जमिनको सतहभन्दा पुल निकै अग्लो स्थानमा छ। पुलबाट खोला तर्नेभन्दा पनि हेर्र्दै मुन्तिरबाट बाटोबाट काट्नुपर्ने बाध्यता छ। पुलतर्फ उक्लिने सम्भावना नभएकोले खोलाको बलौटे धारबाट मोटरसाइकल र साइकल डोर्याउँदै झापातर्फ लाग्छन्। यो पुलभन्दा निकै पूर्वबाट रतुवा खोला बग्छ। पुल एकातिर खोलो अर्कोतिर बगेको देख्दा बटुवाहरू नै छक्क पर्छन्।
साविक महाभारा हाल गौरीगञ्ज नगरपालिकाका प्रमोद भट्टराईले भने, ‘खोलै नबग्ने ठाउँमा पुल बनाएको देखेर हामी पनि छक्क परेका छौं।’ उनले पुल तलबाट यात्रा गर्नुपर्दा बटुवालाई निकै सास्ती हुने गरेको बताए।
हुलाकी मार्गमा मोरङको रतुवा खोलाको पुल निर्माण भएपछि स्थानीयले सहज रूपमा गौरीगञ्जबाट विराटनगरसम्म आवतजावत गर्न पाइने आशा गरेका थिए। विराटनगर–भद्रपुर हुलाकी सडकखण्डमा पर्ने यो पुल पूरा भए दक्षिणी भेगबाट सोझै झप्परतल, रंगेली हुँदै विराटनगर झर्न निकै सहज हुने उनीहरूको अपेक्षा थियो।
‘पुल त बन्यो तर हिउँदका ६ महिना खोलाकै बलौटे धार भई पार गर्नुपर्छ’, गौरीगञ्जका देवनारायण राजवंशीले भने, ‘बर्खा सुरु भएपछि त रतुवाको भेल तर्न ज्यानै बाजी लगाउनुपर्छ। हामीलाई पुल बन्नु र नबन्नुको केही अर्थ भएन।’ रतुवामा पुल निर्माण भए पनि अहिले खोलाले धार परिवर्तन गरेको छ। पुल एकातिर खोलो अर्कोतिर बग्न थालेपछि साविककै स्थानमा खोलो फर्काउन थप रकम खर्च हुने भएको छ। आमबाडीबाट साविक खजुरगाछी गाविस हाल गौरीगञ्ज नगरपालिकाका हुँदै दक्षिणतर्फबाट कुञ्जीबाजार हुँदै माइखोला तरेर शरणामती हुँदै भद्रपुर जान सकिन्छ। तर, दक्षिणी भेगका धेरै पुल निर्माण पूरा नहुँदा गौरीगञ्ज–विराटनगरको यात्रासमेत सहज हुन सकेको छैन। शरणामतीमा कन्काई नदीमाथिको पुल पनि अलपत्र छ।
सुनसरी–मोरङ पुल निर्माण आयोजनाका प्रमुख इन्जिनियर कैलाश साह रतुवा खोलामा नयाँ बनाउने भनिएको पुलचाहिँ नयाँ ठेक्काको डिजाइन नसकिएकोले रोकिएको बताउँछन्। ‘पुरानो पुल त बनिसक्यो, नयाँ पुलको ठेक्काको डिजाइन स्विकृतिको प्रक्रियामा छ,’ उनले भने, ‘तर डिजाइन स्वीकृत भयो भने पनि बजेट छैन।’ रतुवाको पुल तत्कालै पूरा हुने सम्भावना निकै कम भएको साहले बताए।
सुनसरी–मोरंगमा निर्माणाधीन ३४ पुलमध्ये बजेट अभावमा झण्डै एक दर्जन पुलको काम रोकिएको छ। यो वर्ष निकासा हुने बजेट नपाएपछि काम रोकिएको इन्जिनियर साहले बताएका छन्। उनका अनुसार काम गरिरहेका ठेकेदारहरूले समेत पैसा पाएका छैनन्। ‘केही पुल निर्माणाधीन छन्, केही ठेक्का प्रक्रियामा गइसकेका छन्,’ उनले भने, ‘ठेक्का लागेका पुलको त कुरै छाडौं, निर्माणाधीन पुलसमेत बजेट अभावमा रोकिएका छन्।’
उनका अनुसार सुनसरीको गरुण खोला, बूढीखोला, मोरङको थलाहा खोला, टेंग्रा खोला लगायतका काम बजेट अभावमा रोकिएको छ। बजेट आएसँगै काम सुरु हुने साह बताउँछन्। कुल १ सय २५ मिटरको उक्त पुलसहित बजेट अभावमा काम अड्किएका पुलहरूको औसत लागत ४ करोड छ। अढाइ करोडदेखि माथिका पुलहरू छन्।
सुनसरी र मोरङमा निर्माणाधीन पुलहरूलाई बजेट अभाव भए पनि हुलाकी राजमार्ग योजना कार्यालयअन्तर्गतका पुलहरूलाई भने तत्काल बजेट अभाव छैन। दुई सातापछि पनि बजेट नआए बजेट अभाव हुने कार्यालयका प्रमुख शैलेन्द्र त्रिपाठीले दाबी गरे। भने, ‘प्राथमिकतमा रहेका पुलको काम नरोक्न हामीले पनि पहलकदमी लिएका छौं।’
यो कार्यालयले अहिले झापा र सप्तरीका सबै पुल र सडकको निर्माण हेरिरहेको छ। यी दुई जिल्लामा पनि ३४ वटाको हाराहारीमा पुल बनिरहेका छन्। कुनै ठेक्का प्रक्रियामा छन् भने कुनै पुलको निर्माण भइरहेको छ। ‘अहिलेसम्म त बजेटकै समस्या छैन, दुई सातासम्म पुग्छ,’ त्रिपाठीले भने, ‘माग गरेर पनि पठाएका छौं, आएन भनेचाहिँ समस्या हुन्छ।’ उनका अनुसार हुलाकी मार्गअन्तर्गत पुल निर्माण गर्न झापा र सप्तरीमा चाहिँ वन, विद्युत् र सडकलगायत समस्या छन्।अन्नपूर्ण पोस्टबाट